• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिवारीको आमरण अनसन १३ औं दिनमा, सम्वन्धित निकाय मौन

तिवारीको आमरण अनसन १३ औं दिनमा, सम्वन्धित निकाय मौन

राजविराज,  १९ मंसिर । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास कुमार तिवारीको आमरण अनसन १३औं दिनमा प्रवेश गर्दा पनि सरोकारवाला निकायले चासो देखाएको छैन ।
अस्पतालको अवस्थामा सुधार गर्न उनले पटक–पटक ज्ञापन–पत्र तथा स्मरण–पत्र दिँदा पनि अस्पताल प्रशासनले वास्ता नगरेपछि उनले आमरण अनसनलाई निरन्तरता दिँदैआएका हुन् । अस्पताल परिसरमै रुखमुनि आमरण अनसन गर्दैआएका छन् । काठमाण्डौमा आमरण अनसनमा रहेका प्राध्यापक गोविन्द केसीसँग भेट्न पटक–पटक स्वास्थ्यमन्त्री गगन थापा गएको तर आफूले जारी राखेको आन्दोलनबारे चासो नराखेको उनले ‘न्यूज टुडे’सँग गुनासो गरे ।
आफूले व्यक्तिगत स्वार्थकालागि नभई आम जनताको स्वास्थ्यजस्तो सम्वेदनशील सवाललाई लिएर आमरण अनसनको बाटो रोजेको उनले बताए । अञ्चल अस्पताल र मानव स्वास्थ्यप्रति राज्यपक्ष कति गम्भीर छन् भन्ने नियत प्रष्ट भएको बताउँदै तिवारीले भने ‘मैले कुनै ठूलो माग राखेको होइन, आम जनताको सवाललाई उठाएको हुँ, उक्त सवालहरुको सम्वोधन गर्नु पनि राज्यको दायित्य हो ।’
पटक–पटक सम्वन्धित निकायलाई समस्याबारे जानकारी गराउँदा पनि सुनुवाई नभएकोप्रति गुनासो गर्दै माग पुरा नभएसम्म शरिरमा साँस रहुञ्जेल आमरण अनसन जारी रहने उनले बताए । आफूले जनसरोकारको सवाललाई उठाएको भन्दै मानवअधिकारवादी, नागरिक समाजका अगुवालगायत सरोकारवाला पक्षलाई गम्भीर बन्न तिवारीले आग्रह गरे । स्थानीयस्तरमा आमरण अनसन तोड्न आग्रह भईरहेकोप्रति टिप्पणी गर्दै अध्यक्ष तिवारीले भने ‘स्थानीयस्तरमा कुनै वार्ता हुँदैन, केन्द्रबाट टोली आओस् र पहिला अस्पतालको अवस्था हेरोस् र आर्थिक पक्षको छानबिन होस् ।’
अस्पताल बालमैत्री बनाउनु पर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनु पर्ने, अस्पताल मूल गेट निर्माण हुनु पर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनु पर्ने, अस्पतालमा प्रसुति गृह लगायत निर्माणाधीन भवनहरूको निर्माण कार्य अविलंब पुरा हुनुपर्ने, अस्पतालमा सरकारले उपलब्ध गराउने औषधीहरू सुची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ । यसैगरी आ.व. २०७२÷०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सो को खर्च विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा स्वास्थ्य विभाग आपूर्ति महाशाखाको शेड्युल अनुसार आ.व.२०७२÷०७३ को विकास र साधारण शिर्षकको बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आय–व्यय विवरण उपलब्ध गराउनु पर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानविन हुनु पर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनु पर्ने जस्ता माँग लिएर आमरण उनले अनसनलाई निरन्तरता दिएका छन् ।
यसैबीच साहित्यकार एवम् नागरिक समाजका अगुवा धीरेन्द्र प्रेमर्षिले तिवारीको अवस्थाबारे जानकारी लिँदै माग जायज रहेको भन्दै सम्वन्धित निकायलाई गम्भीर बन्न आग्रह गरेका छन् । तिवारीले तीन वर्ष अघि विकास निर्माण, सर्वसाधारण जनताले पाउनुपर्ने सेवा सुविधा, भाषिक अधिकारलगायतको विषयलाई लिएर २२ दिनसम्म आमरण अनसनमा बसेका थिए ।