• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

दौरा, सुरुवाल र टोपी लगाउन नमान्दा कार्यक्रममा सहभागी हुन पाएन शिवनारायण साह (हलुवाई)

दौरा, सुरुवाल र टोपी लगाउन नमान्दा कार्यक्रममा सहभागी हुन पाएन शिवनारायण साह (हलुवाई)

श्यामसुन्दर यादव ।  राजविराज, १३ मंसिर । नेपालमा पञ्चायती शासन व्यवस्था समाप्त भएको वर्षौं भईसकेको छ तर एक भाषा भेषको मानसिकता अझैं पनि कायमै रहेको छ । देशको संविधानले समेत भाषा र पहिरणको विषयमा निर्दिष्ट गरे पनि व्यवहारमा लागु भएको देखिँदैन । यस्तै विभेदपूर्ण मानसिकताबाट पीडित भएका छन् सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–१ निवासी शिवनारायण साह (हलुवाई) ‘सुरज’ ।
जर्मन सरकारको सहयोगमा नेपाल मुद्रण संघद्वारा मंसिर ३० गते राजधानी काठमाण्डौ स्थित अन्नपूर्ण होटलमा मुद्रण व्यवसायी बीच अन्तरक्रिया एवम् नयाँ प्रविधि सम्वन्धि आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुनबाट उनी बञ्चित भएका हुन् । नेपाल मुद्रण व्यवसायी संघ सप्तरीका अध्यक्ष साह उक्त कार्यक्रममा सहभागी हुने निश्चित भईसकेपछि दौरा, सुरुवाल र टोपी लगाएर आउनुपर्ने अनिवार्य गरेपछि उनी उक्त पोशाकमा आउन नमानेका कारण सहभागी हुने अवसरबाट बञ्चित भएका छन् ।shivnarayan-sah
देशका विभिन्न ४० ओटा जिल्लाका नेपाल मुद्रण संघका अध्यक्षहरुको सहभागीतामा आयोजना हुन लागेको उक्त कार्यक्रमकालागि केन्द्रीय अध्यक्ष माधव केसीले राष्ट्रिय कार्यक्रम भन्दै दौरा, सुरुवाल र कालो टोपी लगाएर आउन भने पछि सप्तरी अध्यक्ष साहले अस्वीकार गरे । ‘दौरा, सुरुवाल र कालो टोपी त मधेशी कहाँ लाउँछन् सर, दौरा सुरुवाल र टोपी लगाएरै आउनुपर्छ भने सप्तरीको सहभागीता काटिदिँदा पनि हुन्छ’ साहले अगाडि भने ‘बरु म मधेशको धोती कुर्ता र गम्छा लगाएर आउँछु ।’ केन्द्रीय अध्यक्ष केसीले हैन त्यस्तो कहाँ हुन्छ ? भनेपछि साहले जवाफ दिए ‘त्यसो भए म तपाईहरुको कार्यक्रमलाई नमस्कार गर्छु ।’ यसरी मोबाइल फोनमा दोहोरो सम्वाद भएपछि अध्यक्ष केसी भने ‘धोती कुर्ता र गम्छा त स्थानीय स्तरको कार्यक्रम र ईण्डियातिर चल्छ, यस्तो कार्यक्रममा चल्दैन ।’
यसरी पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सप्तरीका समेत अध्यक्ष रहेका साझा अफसेट प्रेसका सञ्चालक साह अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागी हुने अवसरबाट बञ्चित भएका हुन् । नेपालको कानूनले शाब्दिक रुपमा हाल विभेद नगरेको देखिए पनि विभेदका अवशेषहरु अझैं कायमै रहेको छ । मधेशी चेहरा र पोशाककै कारण आफूमाथि गरिएको विभेदप्रति साहले दुःख व्यक्त गरेका छन् ।
काठमाण्डौ स्थित अन्नपूर्ण होटलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा हाल नेपाल प्रयोग भईरहेको मुद्रण प्रविधि, जर्मनी प्रविधिकासाथै नयाँ प्रविधिको विषयमा जानकारी गराईने बताईएको छ । उक्त कार्यक्रममा जर्मनका मुद्रण व्यवसायीहरुको सहभागीता रहनेछ । साह अफसेट प्रविधिबाट सम्वन्धि काम गर्ने सप्तरी जिल्लाकै पहिलो व्यवसायी हुन् । मोबाइल सम्वादको रेकर्ड न्यूज टुडेसँग सुरक्षित छ ।