पर्सा, १३ भदौ । पर्सा समाज सुदृढिकरण हाम्रो अभियान भन्ने नाराका साथ वीरगञ्जका पत्रकार महिलाहरुको सक्रियतामा साप्ताहिक पत्रिका आइतवारदेखि प्रकाशनमा आएको छ ।
मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले विमोचन गरेका हुन् । प्रकाशक एवम् सम्पादक कविता खड्का रहेको पत्रिकाको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकार महिलाहरुको सक्रियतामा प्रकाशित पत्रिकाले पत्रकारिता पेशाको मुल्य र मान्यतालाई स्थापित गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
महिला माथि हुने विभेदमा महिलाको भूमिका देखिएको बताउँदै उहाले त्यसको अन्त्यका लागि महिलाहरुकै कलम चल्नुपर्नेमा जोड दिए । पत्रिकामा पूर्वाग्रह र प्रभावमा नपरी लेखिएका पठनीय सामाग्रीहरु आउनुपर्ने उनको सुझाव थियो । 
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जराले पत्रिकाको निरन्तरताका लागि पत्रकार महासंघ जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले पत्रिकालाई साप्ताहिकबाट दैनिक बनाएर चलाउन सुझाव दिए । बरिष्ठ पत्रकार जगदिश शर्माले पत्रिकामा लेखिने भाषा शुद्ध नभएको खण्डमा सही भावना सम्प्रेषण नहुने बताउँदै भाषिक शुद्धतामा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, प्रेस चौतारी नेपालका महेश गौतम, संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशीकपुर मियाँ, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, अधिवक्ता कमलमोहन पोखरेल, नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति फुलमहम्मद मियाँ, बालबालिका प्रावि मनहर्वा बाराकी प्रधानाध्यापक नर्मदा दाहाल, वीरगन्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवम् उद्योगी विजय सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघ वीरगञ्जका उपाध्यक्ष सुबोध गुप्ता, डाक्टर लक्ष्मी थापा, उद्योग वाणिज्य संघ पर्साकी महिला समिति संयोजक मधु राणा, डा. सुस्मा तिवारी, बविता जयसवाल, एकता महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बसन्ती देवी नुनिया लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर थापा, पत्रकार महिला समुह पर्साकी संयोजक लक्ष्मी खरेल, नेपाल ब्यूटिसियन संघ पर्साकी अध्यक्ष उर्मिला थापा, महिला अधिकारकर्मी राजकुमारी उपाध्याय, श्रृला सरकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण मायामितु न्यौपानेले गरे ।