राजविराज, ४ भदौ । सप्तरीको कोइलाडी र रम्पुरामल्हनिया गाविसका बाढी पीडित दलित परिवारलाई साढे ८ लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्रीहरु शनिवार एक संस्थाले वितरण गरेको छ ।
हेल्प नेपाल काठमाण्डौको सहयोगमा धर्मी हल्फा महिला विकास क्लव लालापटीद्वारा राहत सामग्री वितरण गरिएको हो । बाढीका कारण विस्थापित भएका रम्पुरा मल्हनिया गाविस वडा नम्वर–४ का राम समुदाय र कोइलाडी गाविस वडा नम्वर–८ का मुसहर समुदायका करिब ५५ परिवारलाई एक थान त्रिपाल, धोती, झुल, साडी, थाल ५ थान, गिलास ५ थान, हण्डी, कराही, डाडुपुन्यु, कराही लगायतका सामानहरु वितरण गरेको हो । क्लवका अध्यक्ष एवम् समाजसेवी ई. सुर्यनारायण यादव, दिपक कुमार यादव, स्थानीय समाजसेवी, बृद्धिजिवी तथा प्रहरी चौकी को.बसाइनका असई हरिनारायण चौधरी, सशस्त्र प्रहरी निरीक्षक लाल बहादुर थापा सहितकाहरुको उपस्थितिमा राहत स्वरुप बाढी पीडितहरुलाई त्रिपाल वितरण गरेका छन् ।