राजविराज, ३ भदौ । सप्तरीका सरकारी कार्यालयका प्रमुखहरुले सूचनाको हक सम्बन्धी ऐन अनुसार दिनुपर्ने हरेक सूचना प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
सूचनाको हक सम्बन्धी ऐनलाई लिएर शुक्रबार राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकमा कार्यालय प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले राष्ट्र, एकता, अनुसन्धानमा खलल पार्नेसहितको ऐनले निर्दिष्ट गरे अनुसार नदिनेबाहेकका सबै सूचना दिने बताए ।
राज्यका काम, कार्वाही लोकतान्त्रिक पद्धति अनुरुप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेबार बनाउन सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने सामुहिक प्रतिबद्धता व्यक्त गरे । राज्य र नागरिकको हितमा प्रतिकुल असर पर्ने संवेदनशिल सूचनाको संरक्षण गर्न र नागरिकको सु–सुचित हुने हकलाई संरक्षण र प्रचलन गराउने उद्देश्यसहित सूचनाको हक सम्बन्धी ऐन निर्माण गरिएको ठहर गर्दै ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सम्पूर्ण कार्यालय प्रमुखहरुले प्रतिबद्धता व्यक्त गरे ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको अध्यक्षतामा बसेको बैठकमा सप्तरीका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।