बृजमान तामाङ
बिरेन्द्र बजार, ३ भदौ । सप्तरीको तेरहौता सितापुर लगायतका उतरी क्षेत्रका गाउँ विकास समितिका किसानहरुले लगाउँदै आएको ब्यवसायीक परबल खेतीमा डढुवा रोगको संक्रमणले मासिदै गएपछि किसानहरु निरास बनेका छन ।
मुख्य आम्दानीको श्रोत बनाएर लगाउदै आएको परबल खेती डढुवा रोगले बोट सुकेर बारी सखाप हुन थालेछी किसानहरु निराश बनेका हुन् । अन्य परम्परागत खेती भन्दा राम्रो फाइदा हुने देखेपछि जिल्लाको तेरहौता, सितापुर, प्रसवनी, शम्भुनाथ नगरपालिका लगायत उत्तरी क्षेत्रमा किसानहरुले हजारांै बिघामा व्यवसायीक रुपमा लगाउँदै आएको परबल खेतीमा लागेको डढुवा रोग नियन्त्रण नहुँदा मासिने अवस्थामा पुगेको सितापुर–१ का भिम बहादुर राईले बताए ।
शुरुमा फल पाक्ने बिस्तारै गएर बोट सुकेर बारी नै सखाप हुने गरेको सुनाउँदै तेरहौता–५ का नवराज तामाङले जति औषधीमुलो गरे पनी रोग नियन्त्रणमा आउन नसकेको बताए । उनले कृषी सेवा केन्द्रहरुमा रोगको प्रकोपले परबल खेती गर्ने किसानहरु मर्कामा परेकोबारे जानकारी गराउँदा समेत सुनुवाई नगरेको दुखेसो सुनाए ।
परबल खेतीबाट हजारांै युवाहरुले रोजगारीको अवसर पाएकोले रोग नियन्त्रणकालागि सम्बन्धित पक्ष गम्भिर हुनुपर्ने तेरहौता गाबिसका निवर्तमान अध्यक्ष दिपक कुमार चौधरीको भनाई छ । विगत दुई दशकदेखि परबल उत्पादनमा ख्याती कमाउन सफल सप्तरीको उत्तरी क्षेत्रका गाविसहरु रोगको प्रकोपले परबल मासिदै गएकोले परबल खेतीको अस्तित्व संकटमा पर्न थालेको स्थानीयवासिन्दाको दुःखेसो छ ।