राजविराज, २ भदौ । दाजुभाइ तथा दिदी बहिनीहरु बिचको अटुट सम्बन्ध दर्शाउने रक्षा बन्धन पर्व सप्तरीसहित मधेशका जिल्लाहरुमा भव्यतापुर्वक मनाईदैछ ।
दाजुभाइको लामो आयुको कामनाका साथ दिदि बहिनीहरुले रक्षा सूत्र अर्थात राखी बाँध्ने प्रचलन रहदैआएको छ । ससुरालीमा बस्दैआएकी दिदि बहिनीहरुले समेत माईती गएर दाजुभाइलाई निष्ठापुर्वक टीका लगाउनुका साथै राखी बाँध्ने गरिन्छ ।
दाजुभाइले समेत खुशी भएर आफ्नो क्षमता अनुसार लत्ताकपडा, गरगहना सहितका सामानहरु दिने प्रचलन छ । दाजुभाइको हातमा राखी बाँधेपछि सुख, शान्ति र दिर्घायु हुने जनविश्वास छ ।
भाइटीका पछिको दोस्रो ठूलो पर्वको रुपमा मनाईने रक्षाबन्धन पर्वका अवसरमा स्थानीय बजारहरुमा समेत किनमेल गर्नेहरुको चहलपहल बढेको छ । दिदीबहिनी नभएका दाजुभाइले पुरोहितबाट राखी बाँध्ने परम्परा रहेको छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको छ ।