• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विभिन्न संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

विभिन्न संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

राजविराज, २३ साउन । हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोगमा धर्मी हल्फा महिला विकास क्लवद्वारा आइतवार सप्तरीको कोइलाडी बर्साइनको वडा नम्वर–२ र ३ मा राहत वितरण गरियो ।
क्लवका अध्यक्ष ई. सुर्यनारायण यादवले दिएको जानकारी अनुसार त्रिपाल १, तन्ना २, साडी २, धोती २, झुल १, थाल ५, गिलास ५, कराही, पन्यू, डेक्ची, डेक्चीको ढक्कन एक–एक थान गरी ३१ परिवारलाई वितरण गरिएको छ । कार्यक्रममा कृष्ण दलका प्रमुख सेनानीद्वय भुवनेश्वर आचार्य, भरत बहादुर बोहरा, सशस्त्र प्रहरी निरीक्षक लालबहादुर थापा, प्रहरी सहायक निरीक्षक शम्भु बस्नेत, गाविस सचिव राजेन्द्र कर्ण, खेलकुद पत्रकार मञ्चका जिल्ला अध्यक्ष मनोज माझीलगायतले उक्त राहत सामग्री वितरण गरेका छन् ।
यसैगरी अक्सफाम नेपालको सहयोग र कोसी पीडित समाज सप्तरीद्वारा बाढी प्रभावित थप दुई ओटा गाविसमा हाइजिन किट वितरण गरेको छ । गोबरगाढामा १८६ थान, हनुमाननगरमा ७ थान, इनरुवामा ६४ थान, तिलाठीको १,२,३,४,६ र ७ मा २६८ ओटा, तिलाठी ८ र ९ मा २०५ ओटा र रम्पुरामल्हनिया–६ दलित बस्तीमा १६० वटा गरी ८१० थान हाइजिन किट वितरण गरेको संस्थाका सुकदेव चौधरीले जानकारी दिए । उनका अनुसार किट वितरण गर्नुअघि प्रयोग विधिबारे समाजका कार्यकारी निर्देशक देवनारायण यादवले जानकारी गराएका छन् । कुल एक हजार हाइजिन किटमध्ये बाँकी रहेको १९० ओटा किट हनुमाननगर र तिलाठीमा वितरण गरिने चौधरीले जानकारी दिए ।
यसैगरी सप्तरीको बाढी पीडितकालागि सद्भावना पार्टी रौतहटमा संकलित करिब एक लाख रुपैयाँ बराबरको राहत सामग्री पार्टीका सप्तरी अध्यक्ष सुनिल कुमार झालाई हस्तान्तरण गरिएको छ । रौतहटका अध्यक्ष शेख समशेदको नेतृत्वमा राहत सामग्री वितरणकालागि हस्तान्तरण गरिएको प्रेस मञ्च सप्तरीका अध्यक्ष शुभचन्द्र झाले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादव, दिपेन्द्र कुमार चौधरी, २ नम्वर क्षेत्रका अध्यक्ष रामचन्द्र साह, ३ नम्वरका अध्यक्ष लक्ष्मण यादव, अलि हुसेनलगायतको उपस्थिति रहेको थियो ।