वीरगञ्ज २३ साउन, संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले भोजपुरी भाषा, कला, संस्कृतिको विकासमा आफु र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भोजपुरी टाइम्स दैनिकको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि यादवले विश्वको विभिन्न देशहरुमा करोडौंका संख्यामा बोलिने भोजपुरी भाषा र संस्कृतिको रक्षाकोलागि सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । मधेसको हक अधिकार नपाएसम्म आन्दोलन जारी रहने दाबी गरे । काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा बीच भएको तीन बुंदे सहमति कार्यान्वयन गर्नेतर्फ सरकारले देखाएको अग्रसरता सराहनीय रहेको बताए ।
मधेस आन्दोलनको क्रममा पर्सामा सहादत प्राप्त गरेका ६ जना मध्ये सरकारले हालसम्म एक जनालाई क्षतिपूर्ति समेत उपलब्ध नगराएकोमा दुःख व्यक्त गर्दै आन्दोलनमा घाइते भएका करिब ४ हजारमध्ये हाल सम्म १९ जनालाई मात्र उपचार खर्च पाएको उनले बताए । वीरगञ्ज पब्लिक कलेजको सभाहलमा आयोजित कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ, मधेसी पत्रकार समाजका केन्द्रीय महासचिव एवम् रेडियो बिन्दासका प्रबन्ध निर्देशक आर.सी यादव, नेपाल परिवार दलका जिल्ला अध्यक्ष पलटन पटेल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका पूर्व सचिव युवराज खड्का, बिपिसि कलेजका कोअर्डिनेटर प्रेम पटेल, तमलोपा विद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव ओमलोक सिंह, सद्भावना पार्टीका वीरगञ्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफ, युएन हेबिटाटका पर्सा संयोजक सरोज चौरसिया, मधेसी पत्रकार संघका पर्सा अध्यक्ष मनोज पटेल लगायतको पत्रिकाको प्रगतिको कामना गरे ।
पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केदार सापकोटा, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र प्रसाद भट्ट, संघीय समाजवादी फोरम नेपालका वीरगञ्जका नगर अध्यक्ष राजुदिनबाबु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले स्वागत गरे भने कार्यक्रमको सञ्चालन सलमा खातुनले गरे । पत्रिकालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संवाददाता, साहित्यकारहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा सन लाइट ईङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले सहभागीहरुलाई नृत्यको माध्यमबाट मनोरञ्जन समेत गराए । नेपाल परिवार दलका जिल्ला अध्यक्ष पलटन पटेलले कार्यक्रममा पत्रिकालाई नगद सहयोग समेत गरे ।