• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बाढी पीडितको घाउमा मलम लगाउँदै वरिष्ठ चिकित्सक डा. केसी

बाढी पीडितको घाउमा मलम लगाउँदै वरिष्ठ चिकित्सक डा. केसी

राजविराज, २३ साउन । केही दिन अघिसम्मको अनसनमा बसेर शारीरिक रुपमा कमजोर रहे पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी यतिबेला सप्तरीका बाढीपीडितको घाउमा मलम लगाउनमा व्यस्त भएका छन् ।
डा. केसीको नेतृत्वमा शनिवार सप्तरी आएका स्वास्थ्यकर्मीको टोलीले तिलाठीका बाढीपीडितको स्वास्थ्य जाँच तथा औषधी वितरण कार्यलाई निरन्तरता दिएका हुन् । टोलीले पहिलो दिन स्थानीय प्राथमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यो । निःस्वार्थ भावले मानवीय सेवामा जुटेका डा. केसीले बिरामी जाँच गरिरहेको कोठामा एउटा काठको टेबुल र दुई कुर्सी बाहेक केही थिएन ।

चर्को घाम र त्यसमा पनि बन्द कोठामा विरामी जाँच गरिरहेका केसीले विरामीहरुलाई ‘नमस्ते, की भेलै ? सोद्धै स्वास्थ्य जाँचमा अबेर साँझसम्म जुटिरहे । विरामीलाई औषधीसँगै फलफूल दिँदै डा. केसीले हात जोडेर ‘ठिक भ जेतै’ भन्दै आश्वासन पनि दिने गरेका थिए । एकपछि अर्को लगातार विरामी जाँचमा जुटेका उनको निधार र नाकबाट टपटप पसिना चुहिरहेको थियो । राजधानीको चिसोमा बस्ने डा. केसीलाई मधेशको प्रचण्ड गर्मीले सही नसक्नु भइरहेको थियो । उनका पछाडि स्थानीय युवकले बियैन (बाँसको पंखा) हम्कीरहेको भएपनि पसिनामाथि कुनै ब्रेक लागेको थिएन । उनले गम्छाले पसिना पुछिरहनु परेको थियो । अर्को तिर डा. केसीबाट जँचाउने भीड अन्त्यहीन पंक्ति झैं देखिन्थ्यो । उनको विचार वा प्रतिक्रियाका लागि पत्रकारहरुले निकै कसरत गर्नुप¥यो । तथापि उनले पहिला विरामीको सेवा गर्नु आफ्नो धर्म भएको सम्म बताए । करिब ६ घण्टापछि उनी बाहिरिए पछि युवाहरुले उनको सम्मान गरेका थिए । सम्मान स्वरुप मिथिलाको पाग र गम्छा ग्रहण गर्दै युवाहरुलाई उनले धन्यवाद दिए ।dr. kc
आइतवार काठमाडांै फर्किने गरी सप्तरी आएका उनी बाढी पीडित बिरामीको चाप देखेर बस्न बाध्य भए । डा. केसी आइतवार पुनः स्वास्थ्यकर्मी टोलीका साथ तिलाठी पुगे । वडा नम्वर–७ स्थित स्वास्थ्य चौकी भवनमा विरामीहरुको उपचारमा दिनभरी व्यस्त रहे ।स्थानीय युवाको संयोजनमा डा केसीले स्थानीयवासीको स्वास्थ्य जाँच तथा पानीका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याका बारेमा बताए । डा केसीले शनिवार र आइतवार गरी तीन सय विरामीको जाँच गरे । सकरपुरा, रम्पुरा मल्हनियाँ, कोइलाडी, लौनिया, को.बर्साइन लगायतका गाविसबाट बाढी पीडितहरु जँचाउन आएका थिए । भारतको सिमावर्ती कुनौली बजारबाट समेत केही विरामी जँचाउन आएको स्थानीय अगुवा युवा निरज झा ‘मुक्ति’ले जानकारी दिए ।
डा. केसी आइतवार राती राजविराजमै बास बसेर सोमवार काठमाडौं फर्किने जनाइएको छ । सप्तरी उद्योग वाणिज्य संघको समन्वयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उल्लेख्य संख्यामा बाढी पीडितले सेवा लिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले जानकारी दिए ।