• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सात जनामा मृगौला रोगी र पैतिस प्रतिशतमा पत्थरी

सात जनामा मृगौला रोगी र पैतिस प्रतिशतमा पत्थरी

राजविराज, १८ असार । सप्तरीमा सात जनामा मृगौला रोग र ३५ प्रतिशतमा पत्थरी देखा परेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार आयोजित निःशुल्क मृगौला शिविरमा परीक्षण गराउने तीन सय ६० जनामध्ये सात जनाको मृगौला कामै नलाग्ने फेला परेको डा. कल्पना श्रेष्ठले बताइन् । शिविरमा जचाउँन आएकामध्ये ३५ प्रतिशतमा पत्थरी देखा परेको र साढे दुई सेन्टिमिटरसम्मको पत्थरी फेला परेको डा. मोनिका श्रेष्ठले जानकारी दिइन् ।

सोही अवसरमा पत्रकार, प्रहरी, स्वास्थ्यकर्मीसहित १९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिएको मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । यसरी मन्जुरी दिनेमा पत्रकार मनोहर कुमार पोखरेल, उपेन्द्र नारायण मेहता, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, जिल्ला प्रहरी कार्यालयका हेमबहादुर लिङ्गदेन मोती बहादुर खडका र रञ्जना भुजेल, एमाले नेता मन्जु साह, रामखेलावन साह, बुचीदेबी झा, चन्द्रभुषण बर्मा, रामपुकार महतो, बसन्त यादव, रबीन्द्र कुमार साह, रामकुमार साह, राजेन्द्र साह, बिशाल मिश्र, रुपेश पासवान, किरण चौधरी र जयकिसुन साह रहेका छन् । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ मा अंग दान गर्न सकिने व्यवस्था छ ।
सांसद रञ्जु झाको संसदीय विकास कोषबाट बिहान १० बजेदेखी पाँच बजेसम्म निःशुल्क शिविर सञ्चालन भएको थियो । मिर्गौला रोगको शीघ्र पहिचान तथा समयमै त्यसको निदान नै मिर्गौला स्वस्थ्य राख्ने मूल मन्त्र भएकोले शिविरको आयोजना गरिएको सांसद रन्जु झाले बताइन् । सांसद झाले बर्तमान सरकारले निःशुल्क मृगौलाको डाइलाईसीस सेवा सुरु गरेको जानकारी दिदै अञ्चल अस्पताल राजविराजबाट पनि मृगौलाको डाइलाईसीस सेवा सञ्चालन गर्न पहल गर्ने बताइन् ।
कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले यस्ता कार्यक्रम जिल्ला जिल्लामा पुगी गरीब, असहाय जनताहरुको स्वास्थ्य चेक जाँच गर्न पाउँदा खुसी लागेको बताए । डाक्टर श्रेष्ठका अनुसार मिर्गौला स्वस्थ राख्न पानीको निकै महत्वपूर्ण भूमिका हुन्छ । हरेक विहान कम्तिमा एक गिलास पानी खाएमा पनि मिर्गौला स्वस्थ राख्न सकिन्छ । पानीले शरीर भित्रका विषाक्त पदार्थलाई पिसाबका माध्यमबाट बाहिर फाल्न र रक्तचापलाई सन्तलुनमा राख्न मिर्गौलालाई मद्दत गर्ने भएकोले दैनिक चार÷पाँच लिटर पानी खान आवश्यक छ ।
मानव शरीरमा ६० प्रतिशत पानी हुन्छ । पानीको यो मात्रा घट्दा फोक्सो, मुटुमा समस्या हुने, असामान्य रुपमा थकाई लाग्ने, टाउको दुख्ने जस्ता तत्कालिन र धेरै दीर्घकालिन समस्या देखिन्छन् । डा. नारायण भुषालले मृगौला रोग अकस्मात लाग्ने रोग भएकोले यसबाट जोगिन समयमै आफनो स्वास्थ्य जाँच गराउनु पर्ने बताए । उनले मृगौला धेरै नै महँगो र रोग झन्झटिलो भएकाले समयमै स्वास्थ्य परीक्षण गर्न हुन सर्वसाधारणहरुलाई अनुरोध समेत गरे ।
शिविरमा डा. लुशन सिंह, डा. प्रविण झा, डा. रबीन श्रेष्ठ, प्रत्यारोपण कोर्डिनेटर दिपिका उपाध्याय, फार्मासिस्ट अनिल श्रेष्ठ, फिजियोथेरापिस्ट गौरव पन्थ, ल्याब टेकिनसियन बालकृष्ण अवालसहित १५ जनाको टोलीले मृगौला सम्बन्धी चेकजाँच गरेका छन् ।