• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मन्त्रालयहरुको संयुक्त टोलीद्वारा अञ्चल अस्पताल निरीक्षण

मन्त्रालयहरुको संयुक्त टोलीद्वारा अञ्चल अस्पताल निरीक्षण

राजविराज, १७ असार । वर्षौदेखि चिकित्सक र भौतिक पूर्वाधारको अभाव झेल्दैआएको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको विभिन्न चार ओटा मन्त्रालयको संयुक्त टोलीले शुक्रवार अनुगमन तथा निरीक्षण गरेको छ ।
महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदीय समितिकी सभापति रञ्जु ठाकुरको नेतृत्वमा युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चुडामणी, स्वास्थ्य मन्त्रालयका सह–सचिव झलक शर्मा पौडेल, शिक्षा मन्त्रालयका उप–सचिव दिपक शर्मा र स्थानीय विकास मन्त्रालयका उप–सचिव दिपकराज सुवेदी, शिक्षा विशेषज्ञ पुरुषोत्तम आचार्यसहितको टोलीले निरीक्षण गरेका हुन् । टोलीले आकस्मिक कक्षका साथै विभिन्न वाडहरुको समेत अवलोकन गरेका छन् ।
स्वास्थ्य मन्त्रालका सह–सचिव पौडेलले अस्पतालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुधारकालागि तत्काल पहल थाल्ने प्रतिवद्धता व्यक्त गरे । अस्पतालको अवस्था सुधार्न यस अघि पनि आफूले प्रयास गरेको स्मरण गर्दै उनले भने ‘आकस्मिक कक्षमा बेडको अभावमा भुइँमै राखेर विरामीलाई उपचार गर्नुपर्ने अवस्था रहेकोले बेडको व्यवस्था तत्काल मिलाउनेछौं ।’
दरबन्दी अनुसार चिकित्सकको अभाव देशैभरि रहेको जानकारी दिँदै यस अस्पतालको दुर्दशा देखेर आफूलाई चिन्तित तुल्याएको उनले बताए । ‘केही समस्याको समाधान मन्त्रालयबाट हुन्छ भने केही समस्या अस्पतालले नै तत्काल गर्न सक्छ तर सामान्य कुराहरुमा ध्यान नदिँदा अस्पतालको अवस्था जर्जर भएको छ’ पौडेलले थपे ‘मन्त्रालयले दिएको निर्देशन समेत यहाँ पालना भएको छैन ।’ अस्पताल जस्तो संवेदनशील क्षेत्रको सुधारकालागि अस्पताल प्रशासन, व्यवस्थापन समिति, नागरिक समाज, राजनीतिक दल लगायत सबै पक्षलाई गम्भीर बन्न उनले आग्रह गरे । निरीक्षणका क्रममा सभापति ठाकुरले अञ्चल अस्पतालको अवस्था सुधार गर्न आफूले पहल गर्दैआएको जानकारी दिँदै काठमाण्डौ पुगेपछि गम्भीरताका साथ सम्वन्धित ठाउँमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरिन् ।
२०२८ सालमा स्थापित अञ्चल अस्पतालमा चिकित्सक, उपकरण तथा भौतिक पूर्वाधारको मार खेप्दैआएको छ । हाल उक्त अस्पतालको आकस्मिक शाखामा बेडको समेत अभाव रहँदैआएकोले भुइँमै राखेर उपचार हुँदै आएको छ । ग्रामिण भेगबाट उपचार गराउन आएका गम्भीर प्रकृतिका विरामीहरुलाई अन्यत्रको अस्पतालमा रेफर गर्दैआएका कारण सर्वसाधारण जनताले सास्ती व्यहोर्दैआएका छन् ।
टोलीले अञ्चल अस्पतालमा रहेको पोषण गृहको समेत अवलोकन गरेका छन् । शुक्रवारै विहान उक्त टोलीले जिल्लाको पिप्रा पश्चिम गाविसमा बालबालिकाहरुले बालमैत्री गाविस घोषणका लागि थालेको प्रयासबारे जानकारी लिएका छन् । तत्पश्चात जिल्ला विकास समिति सप्तरीको बैठक कक्षमा सरोकारवाला कार्यालयका प्रमुख तथा कार्यक्रम संयोजकसँग छलफल गरिएको छ ।