राजविराज । मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित अभिनेत्री डोली सरकार पहिलो पटक नेपाली लोक दोहोरीमा अभिनय गरेकी छिन् ।
मिथिला संस्कारमा हुर्किएकी उनले हालै मात्र ‘बोली नफेर’ नामक नेपाली लोक दोहोरीमा मुख्य मोडेलको भूमिका निभाएकी हुन् । मधेशको मुख्यतया मैथिली र भोजपुरी सिनेमा तथा म्यूजिक भिडियोहरुमा देखिने डोली लोक दोहोरीमा भने नयाँ लुकमा देखिएकी छिन् ।
गायक तथा मोडेल दिनेश थापाको लोक दोहोरी म्युजिक भिडियोको ‘चोली फेर मायाले, बोली नफेर’ बोलको उक्त गीतमा डोलीले कौशलतालाई प्रदर्शन गर्न भ्याएकी छिन् । दिनेश थापा र चन्दा अर्यालको स्वर तथा एकनारायण भण्डारी शब्द र लय रहेको लोकदोहोरीको सम्पूर्ण छायाङ्कन काठमाण्डौको विभिन्न स्थानहरुमा गरिएको नायिका डोलीले बताईन् ।
यस अघि आफूले ‘पहिलो प्रेम’ र ‘पिएँ थोरै’मा मोडलिङ्ग गरिसकेको जानकारी दिँदै उनले भनिन् ‘लोक दोहोरीमा मेरो यो पहिलो अनुभव हो, नेपाली पहिरण अनि नेपाली लोकभाकामा अभिनय गर्न पाएकोमा धेरै खुशी छु । बब्बु थापाको निर्देशन एवम् कुशल क्यामेरा म्यान दुर्गा पौडेलद्वारा छायाङ्कन गरिएको ‘बोली नफेर’मा नेपाली दर्शकहरुले गत–विगतका म्युजिक भिडियोहरु भन्दा केही नयाँपन पाउने डोलीले ‘न्यूज टुडे’लाई बताईन् ।
केही दिन अघि मात्र छायाङ्कन सकेर गृह जिल्ला सप्तरी फर्किएकी उनी उक्त म्युजिक भिडियो बजारमा आईसकेपछि आफूले नेपाली दर्शकहरुबाट औधी माया पाउनेमा आफू आशावादी रहेको बताईन् । ‘मलाई लोक दोहोरीमा ल्याउने चर्चित गायिका चन्दा अर्याललाई विशेष धन्यवाद दिनचाहन्छु’ उनले भनिन् ‘दिनेशजी सहित सम्पूर्ण युनिटले गरेको मेहनतले सफलता पाउनेमा म विश्वस्त छु ।’
म्युजिक भिडियोको उत्पादन तथा वितरण कामना फिल्म्स प्रा.लि.ले गरिरहेको जनाईएको छ । उक्त दोहोरीको अडियो सार्वजनिक भईसकेको तथा भिडियो समेत एक–दुई साताभित्रै बजारमा आउने नायिका डोलीले जानकारी दिईन् ।
चार वर्षकै उमेरदेखि कला क्षेत्रमा समर्पित डोलीले हालसम्म करिब एक दर्जन मैथिली र भोजपुरी फिल्ममा मुख्य भूमिका तथा करिब डेढ दर्जन एल्वम तथा आधा दर्जन टेलिफिल्ममा अभिनय गरिसकेकी छिन् ।