राजविराज, १५ असार । सप्तरीका सांसदहरु बीच भागबण्डा मिलेपछि फ्रिज हुने अवस्थामा पुगेको जनता आवास कार्यक्रम आर्थिक वर्षको अन्ततिर पुगे पछि बल्ल सुचारु हुने भएको छ ।
नेपाली कांग्रेसका सांसद सुरेन्द्र प्रसाद यादवको संयोजकत्वमा गठित जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०७२÷०७३ का लागि छनौट गरेको योजनामा जिल्लाका सबै क्षेत्रलाई नसमेटेको भन्दै नेकपा माओवादी केन्द्रका सांसदहरुले विरोध गरे पछि कार्यक्रम सुचारु हुन सकेको थिएन । समन्वय समितिको गत असार ९ गते बसेको बैठकले आगामी आर्थिक वर्षदेखि सबै क्षेत्रमा कार्यक्रम संचालन गर्ने र आर्थिक वर्ष २०७३÷०७४ को कार्यक्रममा यस वर्ष नसमेटिएका क्षेत्र नम्वर १,२ र ३ मा विशेष प्राथमिकता स्वरुप १०–१० ओटा आवास बढि निर्माण गरिने सहमति भएपछि काम सुचारु हुने भएको भवन आवास तथा सहरी विकास कार्यालय राजविराजका प्रमुख मिलन आचार्यले बताए ।
सप्तरीमा क्षेत्र नं. १,२ र ३ मा माओवादीका उमेदवार सांसदमा विजय भए पनि उक्त क्षेत्रमा कार्यक्रम नदिएकोले आफुहरुले बिरोध गर्दै आएको क्षेत्र नं. २ का सांसद अशोक कुमार मंडलले बताए । आफुहरु सदैब गरिब र विपन्नको पक्षमा रहेको हुदा सप्तरीका सबै क्षेत्रमा आवास कार्यक्रम सञ्चालन हुनु पर्ने आफ्नोे माग रहेको सांसद मंडलको भनाई छ ।
सप्तरीमा चालु आर्थिक वर्ष भित्र १३० ओटा घर विपन्न दलितका लागि बनाउने भनि निर्णय भएको हो । जस अनुसार करिब ४ करोडको बजेटमा जिल्लाको बोदेबरसाईन, हरिपूर, मधुपट्टी, मलहनमा, बोरिया, बनौलि गा.वि.स. मा १०–१० घर निर्माणको योजना रहेको छ । यसै गरि फुलकाही गा.वि.स.मा २०, कविलासामा ४०, शम्भुनाथ नगरपालीकामा १० घर निर्माण गर्ने निर्णय भएको कार्यालयका प्रमुख आचार्यले जानकारी दिए । सांसदहरु विच सहमति भएकोले यसै आर्थिक वर्ष भित्र काम सुरु भई प्रथम किस्ताको रकम समेत निकासा हुने उनको भनाई छ ।