• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समृद्ध वीरगञ्जकालागि सदभावनाद्वारा वृहत प्रदर्शन

समृद्ध वीरगञ्जकालागि सदभावनाद्वारा वृहत प्रदर्शन

वीरगञ्ज, १३ असार । सदभावना पार्टी वीरगञ्ज नगर कार्य समितिले समृद्ध वीरगञ्जकालागि सोमवार प्रदर्शन गरेको छ ।
नगर अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा रहेको टोलीले प्लेकार्डसहित शहरको विभिन्न भाग परिक्रमा गरेको थियो । असार २ गते प्रमुख जिल्ला अधिकारी मार्फत स्थानिय विकास मन्त्री समक्ष समृद्ध वीरगञ्जकालागि १६ बुँदे ज्ञापन पत्र बुझाएको थियो । विकासको नाममा भ्रष्टाचार गर्न पाईदैन, नगरपालिकाले थप गरेको ११ वटा वडालाई बिशेष प्याकेज दिनुपर्ने, नगर क्षेत्रमा रहेका धरोहरहरुमा नागारिकको स्वामित्व हुनुपर्ने, शहिद पार्कको निर्माण अविलम्ब गर्नुपर्ने, वीरगञ्जको मुख्य सडक आवश्यकता अनुसार फराकिलो गर्नुपर्ने, सरकारी कार्यालय महिला मैत्री हुनुपर्ने, एकिकृत कर खारेज हुनुपर्ने, नगरको हरेक क्षेत्रलाई सोलार बतीले उज्यालो बनाउनुपर्ने, डुवान पर्ने क्षेत्रलाई फास्ट ट्रयाकमा निकास गर्नुपर्ने, शहरलाई क्लिन ग्रिन बनाउनु पर्ने, पानी बिजुली, सडकलाई प्राथमिकतामा राख्नुपर्ने जस्ता माँगहरु सम्बन्धित निकायले सम्बोधन नगरे आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने नगर अध्यक्ष सर्राफद्वारा हस्ताक्षरित मागपत्रमा उल्लेख छ ।
कोण सभामा सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, जिल्ला सचिव राजेश साह, जिल्ला सदस्य रहमान अन्सारी, महिला मञ्चकी नगर सचिव बिना अधिकारी, नगर सदस्यहरु सञ्जय पटेल, पंकज पटेल, सरिता सिंह, मनोज सर्राफ, शिवनाथ रौनियार, धर्मेन्द्र गुप्ता, दुखी महतो, मुकेश गुप्ता, राजेन्द्र वैठा, ताजुदिन हवारी, ठाकुरराम बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष अनिल यादव, विद्यार्थी नेताहरु हरेराम साह, राजकुमार गुप्ता, शिवु कुमार गुप्ता र धनञ्जय गुप्ता लगायतको उपस्थिति रहेको थियो ।