• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

किर्तन मण्डलीको बिँडो थाम्दै ग्रामिण महिलाहरु

किर्तन मण्डलीको बिँडो थाम्दै ग्रामिण महिलाहरु

राजविराज, ७ असार । सप्तरीका किर्तन मण्डलीमा पुरुषले नभ्याएपछि ग्रामिण महिलाहरुले यो बिँडो थाम्न तत्परता देखाएका छन् । आफैले बाद्ययन्त्र समेत बजाउँदै उनीहरु यसरी किर्तनमण्डलीमा सहभागी हुन थालेका हुन् ।
जिल्लाको मलेकपुर गाविसस्थित खुरहुरियाको रामजानकी मन्दिरमा जेठ २७ गतेदेखि सञ्चालन भइरहेको ९ महिने सितारामनाम जप यज्ञमा सहभागी हुन किर्तनमण्डलीका साथ सिगियोनबाट पुगेकी फुलो देवी सदाले पुरुषसरह आफूहरुलाई पनि यज्ञमा किर्तन गर्न पाउँदा आनन्दको अनुभव हुने गरेको बताइन् ।
दैनिक किर्तनमा सहभागी भइरहेकी सदाले आफूजस्तै थुप्रै महिलाहरुको उक्त धार्मिक अनुष्ठानमा भजन–किर्तनकालागि दैनिकजसो सहभागिता बढ्दै आएको जानकारी दिइन । ‘हामीहरु भजनमा गणेश, कृष्ण, राम, गुरुवन्दना, महादेवी लगायतका पारम्परिक भजन गाउने गर्दछौं’ उनले भनिन् ‘यस्ता धार्मिक कार्यक्रममा प्रायः बोलाएको ठाउँमा पुगेर भाग लिँदै आएका छौं । सदाले साउँ अक्षर पनि चिनेकी छैनन्, तर अरुले गाएको भजन सुनेकै भरमा आफूले पनि विगत दुई दशकदेखि यो काम थालेको उनले बताइन ।
यस्तै जमुनी मधेपुरा–५ स्थित हनुमान अराधना मण्डल बाजितपुरकी अध्यक्ष सोमनीदेवी मण्डलले जिल्लाको जमुनी मधेपुरा, सिम्राहा सिगियोन, छपकीभथौल, मलेकपुरलगायतका स्थानका महिलाहरुले मण्डलीका साथ भजन–किर्तन गर्दै आएको बताइन । ‘पुरुषहरुको भजन मण्डली कम हुन थाल्यो’ उनले भनिन् ‘हामीले पनि त्यो कामलाई निरन्तरता दिएका छौं, महिला सहभागिता बढ्दै गएको छ ।’ आफूहरुले जहाँ–जहाँ पुगेर भजन–किर्तन गरेको हो, ती स्थानमा पनि महिला भजन मण्डली तयार हुन थालेकोमा उनले खुशी व्यक्त गरिन् । अध्यक्ष सोमनीले भनिन् ‘पुरुषले गरेको काम महिलाले पनि गर्न सक्दा रहेछन् भन्ने यो एक नमुना हो ।’
गाउँमा कुनै शुभकार्य होस् वा दाह–संस्कार गर्दाको अवस्था होस् किर्तन मण्डलीमा पुरुषहरुको अभाव भएका कारण महिलाहरु नै ढोलक, हार्मोनियम र झाली बोकेर पुग्ने गर्छिन् । घुम्टोमा सिमित रहेकी ग्रामिण महिलाहरु धर्म संस्कृतिलाई माध्यम बनाएर भए पनि लोकलाजलाई परिस्कृत गर्दै बाहिर आउनु सकारात्मक रहेको संस्कृतीहरुको तर्क रहेको छ ।
महिलाहरुको यो कदम महिला सशक्तिकरणको खुड्किलो भएको नागरिक समाजका अगुवा विष्णु कुमार मण्डलको टिप्पणी छ । उनका अनुसार गाउँगाउँमा रहेको हनुमान अराधना मण्डली, शिवचर्चालगायतका धार्मिक गतिविधिहरुमा महिलाको विशेष सक्रियता समेत कलासंस्कृति संरक्षण समेत मद्दत मिल्ने निश्चित छ ।