Top_Header_Right_Add

‘दीनाभद्री’लाई राष्ट्रिय विभुती घोषणा गराउन हस्ताक्षर अभियान

‘दीनाभद्री’लाई राष्ट्रिय विभुती घोषणा गराउन हस्ताक्षर अभियान

राजविराज, २७ जेठ । राज्यले विर्सेका लोक नायक दीनाभद्रीलाई राष्ट्रिय विभुती घोषणा गराउनका लागि भोर र मिथिला पर्यटन नामक संस्थाले हस्ताक्षर अभियानलाई तिब्रता दिएका छ ।
‘राष्ट्रिय मुसहर उत्थान समाज नेपाल’को धनुषाको जनकपुरधाममा मङ्गलवार आयोजित प्रथम महाधिवेशनमा हस्ताक्षर अभियानको शुभारम्भ गरिएको हो । राज्यले समेत विर्सेका लोकनायक दीनाभद्री दाजुभाइलाई राष्ट्रिय विभूति घोषणा गराउन अभियान थालेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
जनकपुरधामको बारहबिगहा मैदानबाट शुरु गरिएको हस्ताक्षर अभियान मधेशका जिल्लाहरुमा समेत लगिने उनले बताए । उनका अनुसार बाह्र विघामा आयोजित हस्ताक्षर अभियानमा नागेन्द्र साहसहित ५० जना युवाहरुको सहभागिता रहेको थियो ।
को हुन् दीनाभद्री ?

सप्तरी जिल्लाको जोगिया जाँजर गाउँमा कालु सदा र आमा नीरसोको कोखबाट दुई पुत्र दीना र भद्री जन्मिएका थिए । बाल्यकालदेखि नै दुवै दाजु–भाइ बीर एवम् साहसी थिए । कुश्ती खेल्नमा सिपालु रहनुका साथै सामाजिक न्यायका सच्चा पहरेदारको रुपमा प्रस्तुत भएका कारण उनीहरुको बीरताको चर्चा त्यतिबेला जन–जनमा चलेको थियो । उनीहरुको मुख्य पेशा भनेको खेति किसानी नै थियो ।
लोकगाथामा उल्लेख भएअनुसार दाजु दीना र भाइ भद्रीले पाँच मनको कोदालो चलाउने गर्दथे । दुवै दाजु भाइ सामन्ती प्रथाका कट्टर विरोधी थिए । गिरहत (मालिक)को ‘जी हजुरी’ नगरी स्वतन्त्र रुपमा मजदुरी गर्नकालागि मुसहर समुदायलाई प्रेरित गर्ने गर्दथे । मजदुरमाथि दमन शोषण गर्ने वा काम गराएर ज्याला नदिने विरुद्ध उनीहरु जाइ लाग्ने गर्दथे । dina photo
दीना र भद्रीको विवाह सप्तरीको बरहा गाउँका फुकन सदाकी छोरीहरु हंसा र संझासँग भएको थियो । जोगिया जाँजरका सामन्त कनक सिंहले उपेक्षित, उत्पिडित एवम् निम्नवर्गका व्यक्तिहरुलाई जबरजस्ती काममा लगाएर मजदुरी समेत दिंदैनथे । एक दिन बिहानै कनकसिंह दीना–भद्रीको आँगनमा गएर खेतमा काम गर्नका लागि आउन भने । सिंगो गाउँ नै आफ्नो खेतमा बेगारी (बिना मजदुरी) खटिरहेको बताएपछि उनीहरुले सामन्त कनकसिंहलाई कठालो समातेर बेस्सरी कुटेको लोकगाथामा प्रसङ्ग  उल्लेख छ ।
कहियो नै कएलौ हम खुरपी कोदारी बोनी
कहियो नै जानिओ हौ धामी पैंच हो उधार
अर्थात हामी कहिले पनि बेगारी खटेको छैनौं । कसैको पैंच उधार खाएको छैन ।
उनीहरुको वीरताको सम्बन्धमा अर्को प्रसंग के छ भने सप्तरीको भारतीय सीमावर्ति क्षेत्र कुनौलीमा जोराबर सिंह नाउँका एकजना राजपुतले त्यस क्षेत्रका मानिसलाई शोषण, दमन, अत्याचारका साथै नारी अस्मितामाथि समेत खेल्ने गर्दथे । उनले कुनौली क्षेत्र पुर्व, पश्चिम, दक्षिण वा उत्तरतिरबाट पहिलो पटक ससुराली जाने नव विवाहितालाई एक रातको लागि जर्वजस्ती पक्रेर ल्याउँथे । यसप्रकारको अत्याचारको विषयमा मैथिली लोकगाथामा(महराइ)मा यसरी वर्णन गरिएको छः
जोरावर सिंह राजपूत पूरबक कनियाँ पछिम नहि जाय दैत अछि, पछिमक कनियाँ पूरब नहि जाय दैत अछि,
दक्षिणक कनियाँ उत्तर नहि जाय दैत अछि, उत्तरक कनियाँ दक्षिण नहि जाय दैत अछि ।
यसप्रकारको अत्याचारबाट मुक्ति दिलाउनकालागि दीना र भद्री दुलहीको डोलामा आफै बसी कुनौली पुगेका थिए । उक्त डोला जोराबर सिंहको घर पु¥याईन्छ । तत्पश्चात जोरावर सिंहसँग पहलमानी (कुश्ती) लडेर मारेको कुरा लोकगाथामा उल्लेख भएको पाईन्छ । यसरी एउटा अत्याचारीको अन्त्य गरेर दीना–भदरीले त्यस क्षेत्रका जनतालाई चयनको साँस फेर्ने मौका दिए ।

अत्याचारबाट मुक्ति दिलाउनकालागि दीना र भद्री दुलहीको डोलामा आफै बसी कुनौली पुगेका थिए । उक्त डोला जोराबर सिंहको घर पु¥याईन्छ । तत्पश्चात जोरावर सिंहसँग पहलमानी (कुश्ती) लडेर मारेको कुरा लोकगाथामा उल्लेख भएको पाईन्छ । यसरी एउटा अत्याचारीको अन्त्य गरेर दीना–भदरीले त्यस क्षेत्रका जनतालाई चयनको साँस फेर्ने मौका दिए ।

दीना भदरीको मृत्युको विषयमा दुई मत रहेको पाईन्छ । पहिलो मत अनुसार बुधनी धमियाइनले यिनीहरुलाई जादु टोनागरी सप्तरीको कटैया जंगलमा मार्न लगाईन् । तब यिनीहरुका आमा निरसोले बघेश्वरी भगवतीलाई पुजा गरी खुशी पारेर धमियाइनलाई पनि मार्न लगाईन् । मुसहरहरु अहिले पनि गीत गाउँदा उक्त घटना सम्झिन्छन् । यिनीहरुको मृत्युको विषयमा अर्काे मत यस्तो रहेको छ । दीना भदरी आफ्नो मामा बहोरनलाई साथमा लिएर शिकार खेल्नका लागि कटैया जङ्गलतिर लाग्छन् । बाटामा धेरै समस्या आए तापनि अगाडि बढदै जान्छ । वनभित्र पुगेपछि एउटा पोटरा (खास प्रकारको बँदेल) अगाडि आएको देखेपछि भदरीले धनुवाण चलाई त्यसलाई त्यही मारी दिए तर राजासलहेसले पुनरजीवन दिए । जीवित भएर त्यो बंँदेलले दीना–भदरीलाई घाइते पारी मारी दियो ।bhadri photo
जोगिया जाँजरदेखि पूर्वतिरको गाउँ नेंंगरा बैरियाका जीवन सदाले दुवै मृतकको क्रियाकर्म गरेको लोकगाथामा उल्लेख छ । सप्तरी जिल्लाको कटैया गाविसमा वर्तमानमा पनि दीनाभद्रीको मन्दिर छ । दाजुभाइ मारिएको ठाउँलाई मरौटी, मारिएपछि उठाएर राखिएको ठाउँलाई रखौटी र हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको ठाउँलाई जरौटी भन्ने गरिन्छ । कहिं कतै अन्याय अत्याचार भएपछि अहिले पनि दीनाभद्री दाजुभाइलाई सम्झिने गरिन्छ ।
दीना–भदरी लोकगाथामा हरिया तमोलिनी र जिरिया लोहार्नी दुइटी तान्त्रिक केटीको उल्लेख भएको देखिन्छ । सलहेस गाथामा पनि दौना र कुसमा मालिनीको भूमिका उल्लेख छ । यीनीहरु तन्त्रमन्त्र विद्यामा निपुण थिईन् । दुई केटीहरु तन्त्र विद्याका प्रतीक थिइन् । तन्त्र विद्याको विकास मध्यकालमा भएको मानिन्छ । प्रस्तुत छ लोकजीवनसँग सम्बन्धित मैथिली लोकगाथामा प्रस्तुत गीतको एक अंश ः–
कोन गरु परलौं, हौ धामी बड भोरे छेकल दुआर ।
अपन बहु बेटी देलखिन घर सुकताय
हमर बेटी पुतौह रखलनि नाँगट उधार
थारु दोनवार जन भेल तैयार
आजुक हम सभके देबौ हम चरि सेर बोइन
दीना भदरीके देबौ पसेरि भरि बोइन
माथिको उद्धरणबाट एउटा कुरा के प्रष्ट हुन्छ भने चार सेर धान ज्याला दिने चलन त्यसबेलादेखि नै थियो । अहिले एउटा पुरुष मजदुरको बोनी १० देखि १२ किलोसम्म दिईन्छ । दीनाभद्रीको समयको विषयमा कतै ठोस किटान भएको पाईदैन । यद्यपी उनीहरु राजा सलहेशका समकालीन हुन् । विभिन्न ऐतिहासिक तथ्य एवम् लोकगाथामा उल्लेख भएका विषयवस्तु, घटना, परिवेश तथा उल्लेखित गतिविधिका आधारमा दुवै दाजुभाइ मध्यकालीन भएको सहज रुपमा अनुमान गर्न सकिन्छ । शोषण, दमन, अन्याय अत्याचार विरुद्ध चालेका साहसिक कदम तथा क्रियालापहरुका कारण आज पनि दीना–भद्री मधेशमा देवताको रुपमा पूजित छन् । सप्तरी सिरहालगायतका मधेशका जिल्लाहरुमा देवी देवताको पूजा गर्ने बेलामा दीना–भद्रीको पूजाको अनिवार्यता हुन्छ ।

Post source : दीनाभद्री

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।