Top_Header_Right_Add

नेपाली कांग्रेस २००७ को क्रान्ति र सप्तरी

नेपाली कांग्रेस २००७ को क्रान्ति र सप्तरी
Dr. Pitamberlal YadavJPG (1)
डा. पीताम्बरलाल यादव

डा. पीताम्बरलाल यादव
सह प्राध्यापक
म.वि.व. क्याम्पस राजविराज, सप्तरी
सन् १८४६ सेप्टे १४ को भीषण नरसंहारपछि जंगबहादुरबाट स्थापित राणा शासन व्यवस्था शोषण, दमन र अन्यायमा आधारित रहेकोले यो व्यवस्था विरुद्ध सन् १९३१ मा प्रचण्ड गोर्खा र सन् १९३८ मा नेपाल प्रजा परिषद् जस्ता गोप्य संगठन कायम भएर यो व्यवस्था फाल्ने प्रयास हुँदा क्रुर राणा शासकहरुले मृत्युदण्ड, आजन्म कैद, अंश सर्वस्व जस्ता पराकाष्ठाका दमनचक्र अपनाए पनि ती वीर सपुतहरुको त्याग र बलिदानलाई सम्झेर अनेकौं नेपालीहरु यस व्यवस्थालाई फाल्न कम्मर कसे । व्रिटेनको साम्राज्यवादी नौकरशाही पदाधिकारीहरुले नेपालका स्वेच्छाचारी शासकलाई सहयोग गरिरहेकोले नेपालमा राणा विरोधी क्रियाकलाप गर्न समस्या भइरहेको थियो । तर, सन् १९४६ जुन १६ मा भारतको केन्द्रीय शासनमा काँग्रेस एवं मुस्लिम लिगका प्रतिनिधिहरु सामेल गराइए पछि नेपालीहरुले भारत भूमिलाई आधार बनाएर नेपालमा राणा विरोधी कार्य गर्न प्रोत्साहित भए ।
भारतको सन् १९४२ को ‘भारत छोड’ आन्दोलनमा सक्रिय भई भारतका बाँकीपुर र पछि हजारीवागमा जेल जीवन समेत बिताएका विश्वेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको राणा शासकको असिम यातनाबाट सन् १९४५ मा निधन पछि राणा शासन व्यवस्था विरुद्ध लड्न एउटा संगठन खोल्ने लक्ष्यले विश्वेश्वरप्रसाद कोइरालाले पटनाबाट प्रकाशित हुने सर्चलाइट एवं अन्य अरु पत्रिकाहरुमा सन् १९४६ अक्टुवरमा नेपाल आह्वान नामक लेख प्रकाशित गरी नेपालीहरुको ध्यान आकर्षित गराए । यस अनुसार सन् १९४६ अक्टुवर ३१ (वि.सं. २००३ कात्र्तिक १५) मा वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको संयोजकत्वमा बैठक बस्यो, जसबाट अखिल नेपाल राष्ट्रिय काँग्रेस भन्ने संस्थाको गठन भयो, जुन बैठकमा सप्तरीबाट रामेश्वर अचार्य, लक्ष्मणलाल प्रधान र डम्बरबहादुर पाण्डेको समेत सहभागिता थियो । यस संस्थाको नाम, उद्देश्य र कार्य प्रणाली बारे छलफल गर्न सन् १९४७ जनवरी २५ र २६ मा कलकत्ताको भवानीपुरको खाल्सा कलेजमा अर्को सम्मेलन भयो, जसले यस संस्थाको नाउँ, नेपाली राष्ट्रिय काँग्रेस राखेर नेपालमा माहाराजाधिराजको वैधानिक नायकत्वमा जनताको उत्तरदायी शासन स्थापना गर्ने उद्देश्य तय ग¥यो ।

सप्तरी राष्ट्रिय काँग्रेस नामक संस्था सन् १९४७ मा नै कुनौलीमा खोलिएको थियो, जसका सदस्यहरुमा कुशेश्वर झा, यमुनान्द मिश्र, विजयानन्द मिश्र, डम्बरबहादुर पाण्डे, कुशेश्वर पाठक, इन्द्रमान वैद्य, सत्यनारायण कानूनगो र लक्ष्मणलाल प्रधान थिए । रामेश्वरप्रसाद सिंहले पनि यस संस्थाको सदस्यता लिए । यसपछि वाराणसीमा भएको बैठकमा सप्तरीका ७ प्रतिनिधिहरु रामेश्वरप्रसाद सिंह, कुशेश्वर पाठक, डम्बरबहादुर पाण्डे, जयमंगलप्रसाद सिंह, यमुनाप्रसाद सिंह, बसन्तप्रसाद सिंह र रघुनाथ अडयालले भाग लिएका थिए ।
नेपाली राष्ट्रिय काँग्रेसको तृतीय अधिवेशन दरभंगामा भयो, जसको उद्घाटन डा. राममनोहर लोहियाले गरेका थिए । यस सम्मेलनमा सप्तरीबाट भाग लिन गएका रामु र केदारप्रसाद सिंहले यस राष्ट्रिय काँग्रेसको उद्देश्य ‘महाराजाधिराजको वैधानिक नायकत्व’ मा प्रश्न उठाएर हटाउन माग ग¥यो । अन्य केहीले पनि यस माग प्रति आफ्नो समर्थन जनायो । तर सप्तरीकै प्रतिनिधि रामेश्वरप्रसाद सिंहले कलकत्ता अधिवेशनबाट पास भइसकेकोले संस्थाको विधानसित सम्बन्धित कुरामा मतान्तर भए छुट्टै प्रस्ताव राख्ने भन्दै संशोधन सम्बन्धित कुरालाई साम्य पारे । यसरी नेपाली राष्ट्रिय काँग्रेसको विधानमा रहेको महाराजाधिराजको वैधानिक नायकत्वको विरोधमा सब भन्दा पहिले आवाज उठाउने सप्तरीकै शुद्ध प्रजातन्त्रवादीहरु थिए ।
नेपाली राष्ट्रिय काँग्रेस प्रति डी. आर. रेग्मीको नराम्रो धारणा र अन्य सदस्यहरुको खिचातानीले सुवर्ण शम्शेरको नेतृत्वमा सन् १९४९ मा नेपाली डेमोक्रेटिक काँग्रेसको स्थापनाबाट काँग्रेस दुई खेमामा विभाजित भए पनि लक्ष्य एउटै रहेकोले सन् १९५० अप्रिल ९ मा दुबै दल एक भई नेपाली काँग्रेस नाउँ राखियो । आवश्यक सबै तयारी पछि सन् १९५० सप्टेम्बर २६ र २७ मा भएको वैरगिनिया सम्मेलनले यथाशिघ्र राष्ट्रव्यापी सशस्त्र आन्दोलन गरिने र क्रान्तिकालको लागि सम्पूर्ण अधिकार सभापति मातृकाप्रसाद कोइरालालाई दिएर क्रान्तिको मुख्य केन्द्र विराटनगर र वीरगञ्जलाई बनाउने समेत निर्णय गरियो ।
राजा त्रिभुवन योजना अनुसार सन् १९५० नोवे ६ मा राजदरवार त्याग गरी सपरिवार भारतीय दुतावासमा शरण लिन पुगे र नोवे १० मा दिल्ली प्रस्थान गरे । १९५० नोवे १० देखि नै नेपालमा राणा शासनको विरोधमा सशस्त्र आन्दोलन प्रारम्भ भयो । ११ नोभेम्बरमा नै विरगञ्ज कब्जा गरियो भने २३ दिसम्बरसम्ममा विराटनगर माथि पनि कब्जा भयो । राणा शासकले विराटनगर फिर्ता लिन दुई पटकमा ५०० फौज पठाए पनि सप्तरी वासीले त्यस सेनालाई कोशी तर्न दिएनन् । सप्तरीमा राणा शासनको विरोधमा सशस्त्र आन्दोलन संचालन गर्न कृष्णप्रसाद भट्टराई आएका थिए र उनी भारतको कुनौलीमा बसेर कार्य संचालन गरिरहेका थिए । सप्तरीमा राणा शासनको विरोधमा तीनवटा सशस्त्र कैम्प कायम भएको थियो । कुनौली कैम्पमा कृष्णप्रसाद भट्टराई, गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक, कामानन्द मिश्र, रामेश्वरप्रसाद सिंह, देवनारायाण गुरुमैता, सत्यनारायण साह, सुकदेव सिंह, महेन्द्र राय आदिहरु थिए । नेउर कैम्पमा अवधकिशोर सिंह, शम्भु सिंह, देवनारायण यादव आदिहरु थिए । वरमझिया कैम्पमा रामेश्वर अर्याल, सीताराम अर्याल, भैरवप्रसाद अर्याल, वेदानन्द मिश्र, पुनितलाल गहीबार, पुरन साह, वंगाली गुप्ता, विरवल विराजी, रघुनन्दन गुप्ता आदि मुख्य थिए ।
त्यस बेला नरमर्दन थापा राजविराजमा सप्तरीका वडाहाकिम थिए, जो यस अघि चन्द्रनहरको क्वाटर बनाउन लामो समयसम्म सप्तरीमा बसेका थिए । यिनले सप्तरीमा क्रान्तिकारीहरुको गतिविधि हेरेर आफ्नो क्षेत्र राजविराजमात्र सिमित पारेका थिए र त्यस भन्दा बाहिर चारैतिर क्रान्तिकारीहरुको विगाविगी थियो । राजविराज बाहेक सम्पूर्ण सप्तरी क्रान्तिकारीहरुको कब्जामा आई सकेको थियो । राणाशाही मुर्दावाद, क्रान्ति अमर हो, नेपाली काँग्रेस जिन्दावादको नाराबाट सप्तरी गुञ्जाईमान थियो ।DSC02495
कुनौलीमा वासिरहेका कृष्णप्रसाद भट्टराईको व्यक्तित्वबाट प्रभावित भएर काँग्रेसको सदस्यता लिएका गजेन्द्रनारायण सिंह राणा विरोधी आन्दोलनमा सक्रिय भए । आन्दोलनकै क्रममा गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक र महेन्द्र रायले कुनौलीबाट नै नेपाली काँग्रेसको झण्डा बोक्दा वर्तमान क्याम्पस निरबाट राजविराज नगरमा राणा शासन मुर्दावाद, क्रान्ति अमर हो, नेपाली काँग्रेस जिन्दावादको नारा लगाउँदा यिनीहरु समातिए र यिनीहरुलाई वेस्सरी कुट्दै जेलमा हाले । २००७ पौष १८ (१९५१ जनवरी २) मा नेल र बेडी सहित गजेन्द्रनारायण सिंह जेलबाट भाग्न सफल भए । उनी अति साहस साथ साँझ तिर जेलबाट भागेर नेल र बेडीमा गम्छा हाल्दै अति कष्ट साथ धानको खेतैखेत बिहान नेउर पुगे र त्यसपछि नेल र बेडी त्यही काट्न लगाए, जो धेरैपछि सम्म नेउरमै सुरक्षित रहेको थियो ।
राजविराजबाट सेना अन्यत्र नजाओस् भन्ने लक्ष्यले साँझ तिर जेलको छेउ छाउमा क्रान्तिकारीहरुले फाइरिङ्ग गर्दथे, जो सुनेर आर्मि क्याम्पबाट पनि फाइरिङ्ग हुन्थ्यो ।
विराटनगरलाई क्रान्तिकारीको कब्जाबाट मुक्त पार्न पश्चिमबाट आउने सेनालाई कोशी नदी तर्न नदिन सप्तरीवासीलाई सहयोग गर्न विराटनगरबाट डा. कुलदिप झा सप्तरी आएका थिए । यिनी सप्तरीका क्रान्तिकारीहरु साथ कोशी क्षेत्रमा तैनाथ थिए ।
विरगञ्जबाट आएको २५० जवान सेना बरमझिया नहर क्वाटरमा कैम्प हालेर बसेका थिए । राती मानिसहरुले विशाल संख्यामा हातमा राँको लिएर जुलुस निकालेर यिनीहरुलाई डराउँथे भने क्रान्तिकारीहरु खाल्डो खनेर ठाउँ ठाउँमा तैनाथ भई बसेका थिए । पछि काठमाण्डौबाट समेत २५० फौज आएर जम्मा ५०० को फौज कप्तान कृष्ण बहादुरको नेतृत्वमा कोशी क्षेत्रमा आए । सप्तरीवासीले सबै नाविकलाई नाउसहित भगाइदिएकोले कप्तानले धेरै परिश्रम पछि अन्यत्रबाट नाउ र नाविक ल्याउन सफल भए । कोशी क्षेत्रको क्रान्तिकारीलाई दमन गरेमा प्रमोशन पाउने आश्वासन पाएका कप्तान कृष्ण बहादुर कोशी तर्न आतुर भएकोले उभेरै खाना खाए । कोशी नदीभन्दा पश्चिमपट्टि मजुरनीखाता भन्ने बाँधबाट दुर्विनले कोशी पारी मानिकदह भन्ने ठाउँमा डा. कुलदिप झा नुहाइरहेको देखेर कप्तानले चलाएको गोली लागि सन् १९५० दिसम्बर २९ मा डा. कुलदिप झाको घटना स्थलमै निधन भयो । त्यस क्षेत्रमा रहेका क्रान्तिकारीहरु जमुवा घाटतिर भागेर यिनीहरुको सामना गर्न लुकेर बसे । कप्तान कृष्णबहादुरको नेतृत्वमा सेना डुंगाबाट कोशी नदी तरी मानिकदह निरको अखाडा (जोडीको मठ) मा रहेका योगीलाई क्रान्तिकारीहरु बारे सोध्दा सबै भागी सकेको बताए । तिनीहरु कहाँ गए, बताऊ भनी सोध्दा आफूलाई थाहा नभएको भन्दा उक्त योगीलाई बेसरी कुटे । नबताउँदा मार्ने धम्की दिँदा उक्त योगीले पनि यही क्षेत्रमा तिमी मारिने श्राप दिएकाले योगी त्यही मारिए ।
कोशी नदी तर्न सफल भएका कप्तान कृष्णबहादुर घोडा चढी सेनासाथ कुशहा भन्दा पूर्व जमुवा घाटमा मार्च गरिरहँदा २००७ पौष १९ (१९५१ जनवरी ३) मा बलबहादुर राईको गोली तिघ्रामा लागेर रगतको धारा निस्कदा उनी घोडाबाट बेहोस भई लडे । उनका छोराले दरभंगा लाने प्रसास गरेपनि सप्तरीवासी क्रान्तिकारीहरुले रुपौली र सरणपट्टि घाटबाट अगाडि बढ्न नदिएकोले पौष २२ (जनवरी ६) मा कम्पान कृष्णबहादुरको निधन भयो र उनका पुत्रले त्यही उनको दाहसंस्कार गरे । यसरी कमाण्डर नै मारिएकोले सेनाहरु निराश भई क्रान्तिकारी अगाडि आत्मसमर्पण गरेर हतियार फाली फर्केर बरमझिया र पछि राजविराज आए । यसरी सप्तरीवासीले पश्चिमबाट पठाएको सेनालाई विराटनगर जान नदिई अभूतपूर्व उत्साह देखाएका छन् ।
नेउर कैम्पले कार्यकर्ताहरुलाई हतियार चलाउने प्रशिक्षण समेत दिएइरहेको थियो । त्यसै बेला राजविराजबाट गएका राणाका सि.आई.डी. गणेशकुमार पोखरेल नर्घोमा समातिएर नेउर कैम्प ल्याइएका थिए । यिनीसित क्रान्तिमा सहयोग स्वरुप चन्दा वसुल गरी छाडिए । यस्तै क्रान्ति विरोधी मधवापुरका कपलेश्वर झा र डाढाका हरिदेव तिवारी पनि समातिएका थिए र कपलेश्वर झाले मधवापुरमा मिडिल स्कूल खोल्ने र तिवारीले चन्दा दिएकोले पछि दुवै जना छाडिए ।
फत्तेपुरबाट उदयपुर हुँदै १२५ काँग्रेसीहरु डी. पी. शर्माको नेतृत्वमा सप्तरी आएका थिए । यिनीहरु राजविराज माथि आक्रमण गर्ने लक्ष्यले सप्तरीवासी साथ बनौलीमा आएर बसे । कमाण्डर बन्ने शिलशिलामा त्यहाँ सात दिन सम्म अनसनमा समेत बस्दा पछि मातृकाप्रसाद कोइराला आएर अनसन तोडाएका थिए । पछि यिनीहरु सोनरा पकरीमा आएर जगतबहादुरको घरमा बसे । रामचन्द्र मिश्र, विरवल विराजी, मोजेलाल सुमरैत, डा. निर्भयलाल दास आदिहरुले मेस संचालन गर्न रसद पानी जम्मा गर्ने कार्य गर्दथे । यस कैम्पको लक्ष्य राजविराजमाथि आक्रमण गर्ने भए पनि दिल्ली सम्झौता भएकोले आक्रामण गरिएन ।
यसरी राणा विरोधी आन्दोलनको समयमा सप्तरीवासीले राजविराज शहर बाहेक सम्पूर्ण सप्तरी कब्जा गरिसकेका थिए र बडाहाकिमले कुनै प्रतिकार नगरेकोले नै राजविराज बाँकी छाडिएको थियो । राणा शासकले पठाएको सेनालाई आत्म समर्पण गर्न लगाई पूर्व तिर बढ्न नदिनु सप्तरीवासीको ठूलो योगदान हो । यो सेना अगाडि बढेको भए विराटनगर अवश्य नै फिर्ता लिने थियो र यति सजिलोपूर्वक राणाहरुले घुँडा टेक्ने थिएनन् ।

सन्दर्भ ग्रन्थ
१. अमात्य, साफल्य – सप्तरीको चन्द्रभागा र कान्छा खोरियाका भग्नावशेषहरु, प्राचीन नेपाल, संख्या ४९÷५० पृ. २०
२. दनुवार, रामदेव राय – दनुवार जातिको ऐतहासिक रुपरेखा (सिरहा ः विकास र सेवा केन्द्र, २०६१)
३. मिश्र, भद्रकाली – वि.पी. को व्यक्तित्व – मेरो अनुभव, वि.पी. स्मृति ग्र्रन्थ (ललितपुर ः नेपाल राष्ट्रिय अभिनन्दन समिति, २०४८)
४. यादव, पीताम्बर लाल – आधुनिक नेपाल (सुपौल ः विजय कुमार, २०६८)
५. शर्मा, कुबेर – विद्रोह इतिहासका साक्षीहरु (काठमाडौं ः श्रृजना, विवेक राणा, २०६२)
६. शर्मा, बालचन्द्र – नेपालको ऐतिहासिक रुपरेखा (वाराणसी ः कृष्णकुमारी देवी, २०३३)
७. विभिन्न प्रतिष्ठित वृद्ध व्यक्तिहरुसित अन्तरवार्ता

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer