• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नक्कली डाक्टरहरुको खोजी होस्

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर चिकित्सा क्षेत्रमा प्रवेश गर्नेहरु धमाधम पक्राउ पर्ने क्रम जारी छ । विरामीको उपचार गर्ने स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा नक्कली प्रमाण पत्र धारीहरुको विगविगी बढ्नु भनेको गम्भिर चिन्ताको विषय हो । हुनत नक्कली कागज पत्र बनाउने र पेश गर्नेहरुको वास्तविकता उदाङ्गो भएको यो नै पहिलो घटना होइन । किर्ते नागरिकता, नक्कली सवारी लाइसेन्स बनाउने गिरोहहरु पक्राउ परेका अनेकौ घटना विगतमा पनि सार्वजनिक भएकै हुन् ।
नक्कली प्रमाण पत्रकै आधारमा जागिर खाएकाहरुले राजीनामा दिने लहर पनि नचलेका होइनन् । तल्लो तहदेखि उपच्चपदस्थ कर्मचारी पनि नक्कली शैक्षिक प्रमाण पत्र धारी रहेको घटना पनि सार्वजनिक भएकै हो । खासगरी चिकित्सा क्षेत्रमा नक्कली प्रमाणपत्रधारीहरुको विगविगीको जहाँसम्म सवाल छ यसको प्रकोप शहरी क्षेत्रमा मात्र सिमित छैन । दुरदराजका ग्रामीण भेगका प्राक्टीस गर्ने कतिपय चिकित्सक नै क्वाँक रहने गरेको घटना बग्रेल्ती रहेका छन् ।
कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा भन्ने उखान झै यस्ता क्वाँक डाक्टरका कारणले बेलाबखत विरामीको ज्यानै खतरामा परेका अनुभव पनि भोगिरहेकै हो । नक्कली प्रमाण पत्र लिएर कामगर्नेहरु प्रशस्त छन् भन्ने कुरा विगतका अनुभवले सावित गरेपनि तिनको प्रभावकारी अनुगमन चाही भइरहेको देखिन्न ।

कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा भन्ने उखान झै यस्ता क्वाँक डाक्टरका कारणले बेलाबखत विरामीको ज्यानै खतरामा परेका अनुभव पनि भोगिरहेकै हो । नक्कली प्रमाण पत्र लिएर कामगर्नेहरु प्रशस्त छन् भन्ने कुरा विगतका अनुभवले सावित गरेपनि तिनको प्रभावकारी अनुगमन चाही भइरहेको देखिन्न ।

एक–दुई व्यक्ति यस्ता नक्कली प्रमाण पत्र रहेका फेला पर्दैमा सवै क्षेत्रमा स्वच्छता आएको भन्दै ढुक्क हुने अवस्था छैन । एकातिर यस्ता नक्कली प्रमाण पत्रबालाहरुको हालीमुहाली रही रहने र अर्कोतिर मिहिनेत गरेर पढेका योग्य व्यक्ति बेरोजगार भएर बस्नुपर्ने अवस्था रहनु भनेको एक प्रकारको विडम्बना नै हो । शिक्षा, स्वास्थ्य, वन लगायत प्रशासनिक क्षेत्रमा काम गर्दै आएका व्यक्ति मध्ये कतिपयको प्रमाण पत्र नक्कली भेटिनुले यो रोग अन्यत्र पनि हुनसक्छ भन्ने आशंकालाई बल मिलेको मान्नु पर्ने हुन्छ । यस्ताहरुको सुक्ष्म छानबिन गरी कारवाहीको दायरामा ल्याउन सकिएन भने यो प्रवृत्ति अझै झाँगिएर जाने निश्चित छ । राजनीतिक अस्थिरता बढ्दो दण्डहिनताका कारणले भ्रष्टाचारदेखि किर्ते काम समेतका आपराधिक घटना बढेर गएका हुन् ।
भ्रष्टाचारमा लिप्त कतिपयलाई राजनीतिक संरक्षण दिने, चोख्याउने प्रवृत्ति पनि कायम नरहेको मान्न सकिन्न । मुलुकमा यतिबेला नयाँ संविधान आइसकेको छ । ठूला राजनीतिक दलहरुले आफ्नो नेतृत्व र सहभागितामा संविधान जारी गरेको भन्दै गर्व महशुस गर्ने गरेका छन् । तर, अझैं पनि भ्रष्टाचार, कालोबजारी, जालसाजीका घटना बढोत्तरी नै भएको अवस्था सहजै अनुभव गर्न सकिन्छ ।
सरकारले भ्रष्टमाथी कारवाही गर्नु भन्दा पनि कुनै कुनै सरकारी निकायमा कार्यरत कर्मचारी नै भ्रष्टाचार र कालाबजारीमा संलग्न रहेको समाचार समते आइरहेका छन् । यसबाट के प्रमाणित हुन्छ भने भ्रष्टाचार, किर्ते, जालसाजी, कालोबजारी लगायतका विकृति विरुद्ध जसरी लाग्नु पर्ने हो त्यसमा पक्कै पनि कमी छ । त्यसैले जनतालाई सुशासन र स्वच्छ प्रशासनको अनुभूति दिलाउने हो भने यस्ता विकृतिलाई छानी छानी खोतल्न र कारवाही चलाउन अभियानकै आवश्यकता छ । दुई चार भ्रष्टलाई पक्रेर मात्र भ्रष्टाचार उन्मूलन भयो भन्दै ढुक्क भएर बस्नाले त यसको ओगो झै यो विकृति भित्रभित्रै झाँगिने सम्भावनालाई इन्कार गर्न सकिन्न ।