सप्तरीको राजविराज–१ का युवा सोनु कुमार दास यतिबेला आफ्नो विशिष्ट खुबीका कारण चर्चामा हुनुहुन्छ । जो बच्चैदेखि सप्तरीमा आयोजन हुने विभिन्न सांस्कृतिक कार्यक्रम तथा भजन जागरण सम्वन्धि कार्यक्रममा गीत गाउनुहुन्थ्यो । सु–मधुर स्वर एवम् तालमा गाउने सोनुको खुबी देखेर गुरुहरु समेत तीनछक्क पर्नुहुन्थ्यो । २१ औं वर्षमा पाइला टेकेका वहाँको परिचय भने यतिबेला फेरिएको छ । सानैदेखि गायकको रुपमा चिनिँदैआउनु भएका सोनु यतिबेला कुशल मिडियाकर्मीको रुपमा चिनिनुभएको छ ।
विगत केही वर्षदेखि सप्तरीमा आयोजन हुने स्टेज कार्यक्रमहरुमा देखिनु भएका वहाँ बिराटनगरमा पत्रकारिता विषयको अध्ययनसँगै मकालु टेलिभिजनमा मैथिली समाचार वाचक तथा सम्वाददाता भएर काम गरिरहनुभएको छ । यस अतिरिक्त वहाँ फुर्सदको समय निकालेर स्थानीय एक विद्यालयमा शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रतिभाशाली युवा सोनु आफ्नो कार्यशैलीका कारण आम मिडियाकर्मीहरुका बीच होनहार एवम् क्षमताको युवाको रुपमा उभ्याउन सफल हुनभएको छ । हाल बिराटनगर–७ मा बसोबास गर्दैआउनु भएका ईन्द्रनारायण दास एवम् रीता देवी दासका सुपुत्र सोनु मिडिया क्षेत्रमा उदाहरणीय बन्ने सोच राख्ुनभएको छ । हँसिलो एवम् मिलनसार स्वाभावका वहाँले काठमाण्डौ केन्द्रित टेलिभिजनमा रहेर बा–आमा र जिल्लाको नाम चिनाउने सपना सँगाल्नुभएको छ । प्रस्तुत छ प्रतिभाशाली युवा सोनु दाससँग ‘न्यूज टुडे’ले गरेको कुराकानीको केही अंश ः
टुडेः सोनु, सञ्चै हो ?
सोनुः भन्नु पर्दा सञ्चै छु । हा…हा….
टुडेः के छ तपाई त सप्तरी छोडनु भा’ हो की ?
सोनुः होइन हउ… सप्तरी कसरी छोडनु , आफनो जन्मभुमि पनि छोडिन्छ र ? म त अझ सप्तरीको एक प्रख्यात व्यक्ति बन्न चाहन्छु, जसले गर्दा मेरो गृह जिल्ला अझ चिनियोस ।
टुडेः त्यसो भए सप्तरी चिनाउनलाई त्यसतो के गर्दै हुनुहुन्छ ?
सोनुः हुन त केही खासै होइन् तर म यस्तो बन्न चाहँदै छु, जसले गर्दा मान्छे यो भनोस् कि ‘हेर्नुस यो हो सप्तरीको सोनु ।’
टुडेः अनि तपाई त यतिबेला निक्कै चर्चित युवा सञ्चारकर्मीको रुपमा सञ्चार माध्यममा चिनिनु भएछ नि ?
सोनु ः होइन् त्यसतो केही होइन्, म सञ्चार माध्यमलाई आफनो पेशा नै बनाउन गइरहेको छु ।
टुडेः तपाईको सुन्दरता र लोकप्रियताको राज के हो ?
सोनुः हा…हा…सुन्दरता, खै थाहा छैन । तर म खुल्ला दिलको मान्छे, आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्छु । मुस्कुराएर कुरा गर्नु त मेरो सानैदेखिको बानी हो ।
टुडेः अहिले के कहाँ आवद्ध हुनुहुन्छ ? भन्नाले कुन–कुन संस्थामा ?
सोनुः म अहिले बिराटनगरको मकालु टेलिभिजनको मैथिली भाषाको समाचार वाचक छु । अनि समाज सेवा समेत गर्दैआइरहेको छु ।
टुडेः अनि हामीले पाएको जानकारी अनुसार शिक्षक समेत हुनुहुन्छ तपाइँ ?
सोनुः हजुर म विराटनगरकै मदर टेरेसा स्कुलमा पढाउँदै छु ।
टुडे ः अनि एउटा कुरा सोध्नै मन लाग्यो, गीत गाउने मान्छे तपाई कसरी मिडियामा लाग्नु भो ?
सोनुः म मेडियामा लाग्नुको कारण हो सङ्गीत । संगित नै माध्यम बनेको हो ।
टुडेः सङ्गीत !! यो कसरी ?
सोनुः यो कुरा हो, २०६५ सालतिरको म, सङ्गीततिर आकर्षित भएको थिएँ र राजविराजको राजदेवी सङ्गीत कलाको संस्थामा सिक्न थाले । मलाई उक्त सङ्गीत कलाको संस्थापक एवम विद्या देवी मिश्रा मेडमले सिकाउनु भयो ।
टुडेः अनि …..
सोनुः अनि केही साथीसँग मिलेर रेडियो नाटक चलाउन सुरु गरँे र राजविराजको रेडियो छिन्नमस्तातिर लागे र कार्यक्रको नाम राखेँ ‘छ तरकारी न अचार ।’
टुडेः अनि विराटनगरको यात्रा कसरी भयो होला ?
सोनुः हो…. अनि म २०६७ सालमा एसएलसी दिएर रेडियो छिन्नमस्तासँग विदा लिदै …विराटनरको बिएफएममा मैथिली कार्यक्रम लिखु कविता चलाउन थाले ।
टुडेः यति कुरा सुन्दा तपाई मैथिलीलाई निकै केन्द्रित गर्नु भा’छ ।
सोनुः हेर्नुस्, म मधेशमा जन्मेको एक मधेश पुत्र र म आफनो मातृभाषा मैथिलीलाई धेरै माया गर्छु । म हाल रेडियो, टेलिभिजन, स्कुल, केही सामाजिक संस्थामा समेत मैथिलीलाई लिएर आवद्ध छु ।
टुडेः अनि, सञ्चारकर्मी बन्न गाह्रै छ है ? मधेश आन्दोलनमा कुटाई पनि खानु भा’ थियो हैन ?
सोनुः हो, पत्रकारिता पेसा त साँच्चिकै चुनौतीपूर्ण पेशा हो । तर सम्मानजनक पनि । कुरा केही महिना अगाडिको हो, मैले परिचयपत्र देखाउँदा समेत छातीमा बन्दुक ताकेर गोली हान्छु भन्दै प्रहरीले मलाई कुटपीट ग¥यो । मकालु टेलिभिजनका समाचारवाचक म सोनुकुमार दास हुँ भन्दा पनि म दुव्र्यवहार र कुटपीटको सिकार भएँ । बिहान प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारी बीच झडप भइरहेको अवस्थामा कार्यालयबाट घरतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले मलाई विराटनगर स्थित सरौचियाको सलहेश मन्दिर नजिकै कुटपीट गरेको हो । त्यो दिन सम्झिँदा दुःख लाग्छ ।
टुडेः अन्त्यमा, अरु केही भन्न चाहनुहुन्छ कि ?
सोनुः अरु…अरु…अँ…सप्तरी मेरो जन्मभूमी हो । यसलाई म धेरै माया गर्छु । मलाई मन पराउने तथा मलाई चिन्ने सबैलाई ‘सोनुले सम्झेको छ’ सन्देश पुर्याईदिनु । म सप्तरीको नामलाई अझ चिनाउन चाहन्छु । आ–आफ्नो स्थानबाट सल्लाह, सुझाव तथा सहयोगको अपेक्षा राखेको छु । साथै ‘न्यूज टुडे’को अझ लोकप्रियताको कामना गर्दछु ।