Top_Header_Right_Add

बमकाण्डका आरोपी योद्धा साकेतचन्द्र मिश्रको यसरी भयो हत्या

बमकाण्डका आरोपी योद्धा साकेतचन्द्र मिश्रको यसरी भयो हत्या

गैरजिम्मेवार राज्यको नमूना

श्यामसुन्दर यादव
राजविराज, ७ चैत्र । आज भन्दा करिब २० वर्ष अघि राज्यद्वारा वेपत्ता पारिएका क्रान्तिकारी योद्धा साकेतचन्द्र मिश्रको अवस्था सार्वजनिक गरेको छ नत सहीद नै घोषणा गरेको छ ।
सप्तरीको तिलाठी गाविस वडा नम्वर–३ घर भएका उनलाई जनकपुरमा भएको बमकाण्डको आरोपमा २०४२ साल असार ७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो । पक्राउ पर्दाको अवस्थामा २९ वर्षका हट्ठाकट्ठा लक्का जवान युवक मिश्रलाई राज्यले हिरासतमै हत्या गरेको छ वा के गरेको छ ? हालसम्म राज्यपक्ष यस विषयमा मौन रहँदैआएको छ ।
हालै राज्यद्वारा घोषणा गरिएको सहीदको सूचीमा पनि उनी र फत्तेपुरका दिलिप कुमार चौधरीको नाम अटाएको छैन । सप्तरीको तिलाठी गाउँमा स्व. रामचन्द्र मिश्र र चपला देवीका ६ दाजुभाइ छोराहरुमध्येका दोस्रो सुपुत्र साकेत तत्कालिन समयमा नेपाली काँग्रेसले थालेको क्रान्तिमा सक्रिय रहेका थिए । बाल्यकालदेखि नै साहसी एवम् क्रान्तिकारी स्वभावका उनी एसएलसी अध्ययन गरी आई.ए.अध्ययनकै क्रममा राजनितीमा चासो राख्न थालिसकेका थिए ।
भारतको वीरपुर स्थित ललितनारायण मिश्र स्मारक महाविद्यालयमा अध्ययनकै क्रममा नेपाली काँग्रेसका कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइरालालगायतका नेताहरुसँग सम्पर्क भईसकेको थियो । राजविराजमा रहेको तत्कालिन सहीद पुस्तकालयमा भेला भएर देशको राजनीतिक अवस्था तथा सङ्गठनको गतिविधीबारे उनीहरु छलफल गर्ने गर्दथे । आफ्ना अति निकटका मित्र स्व. शिव मधुकर पोखरेलबाट नेपाल विद्यार्थी संघको सदस्यता लिएका उनीसँगै डा. सुरेश चालिसे, मुन्ना शाही, जगरनाथ दास, युगलकिशोर गुप्ता, रामकुमार चौधरी, उमेश कुमार साह कमाण्डोलगायतका व्यक्तिहरु सङ्गठनको गतिविधिमा निक्कै सक्रिय थिए । उनीहरु नेपाली काँग्रेसको गतिविधिबारे प्रचार–प्रसार गर्नुकासाथै नेवि संघको विस्तारमा जुट्ने गर्दथे ।
वि.सं. २०३६ सालको जनमत सङ्ग्रहपछि वी.पी. कोइरालाले दिएको अभिव्यक्ति पश्चात उनी असन्तुष्ट बनेका थिए । त्यतिबेला शाकेतको तर्क थियो ‘क्रान्ति बिना प्रजातन्त्र प्राप्त हुन सक्दैन, हामीहरु बम–बारुद बोकेर सशस्त्र क्रान्ति गर्न तयार छौं ।’ त्यतिबेलै नेपाली काँग्रेसबाट असन्तुष्ट भएका स्व. रामराजा प्रसाद सिंहले जनवादी मोर्चाको गठन गरेर गतिविधिलाई तिब्रता दिए । यद्यपी उनी जनमोर्चामा सक्रिय रहेको वा नरहेकोबारे तथ्य नपाईए पनि ने.वि. संघ भने परित्याग नगरेको बताईन्छ ।
नेपाली काँग्रेसको सत्याग्रह आन्दोलनमा अद्र्ध भूमिगत रहेर आन्दोलनको गतिविधिलाई साकेतले तिब्रता दिएको पारिवारिक श्रोतबाट बुझिएको छ । भारतको वीरपुरबाट स्नातक अध्ययन गरी शाकेत किर्तिपुरमा फिलोसोफी र ईकोनोमिक्समा स्नातकोत्तर तहमा अध्ययनरत थिए । पिपलबोटमा डेरा लिएर बसेका उनको डेरामा २०४१ साल माघतिर प्रहरीले छापा मारेका थिए । यद्यपी त्यतिबेला केही फेला परेन ।
वि.सं. २०४२ साल असार ६ गते दरबार र राष्ट्रिय पञ्चायतमा बम विष्फोट भएपछि देशैभरी तत्कालिन पञ्चायती सरकारले धरपकडलाई तिब्रता दिए । सोही क्रममा २०४२ साल असार ७ गते करिब ९ बजेको समयमा राजविराज स्थित एसपी कार्यालयबाट तिलाठी पुगेको प्रहरी टोलीले घरमै रहेका साकेतलाई पक्राउ गरेर लगे । सोही क्रममा सिङ्गो तिलाठीवासी र आसपासका गाउँका मान्छेहरुले उनलाई पक्राउ गर्न नदिने घण्टौसम्म अडान लिए । यद्यपी साकेतका पिता रामचन्द्र मिश्रले ‘आफू न्यायाधीश भएकोले पनि कानूनको पालना गर्नुपर्छ, मेरो छोरा निर्दोष छ, प्रहरीले सोधपुछ गरेर छोडिदिन्छ’ भन्दै गाउँलेहरुलाई सम्झाउँदै साकेतलाई पक्राउ गर्न दिए ।
तत्कालिन एसपी मोतीलाल बोहराको निर्देशनमा करिब दुई दर्जनभन्दा बढी युवा राजनीतिकर्मीहरुलाई पक्राउ गरियो । एसपी कार्यालय ल्याईएका साकेतलाई मरणासन्न हुने गरी कुटपीट गरी अर्धमृत अवस्थामा पुर्याईएको उनीसँगै पक्राउ परेका राजविराजका जगरनाथ दासले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।
असार २१ गते राजविराजबाट उनीसहित सन्तनु कार्की, शिबजी थापालाई मोरङ्ग पशुपति एक्सप्रेस बसमा चढाएर प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्काको साथ चलान गरिएको यातनामुक्ति बुलेटिनमा उल्लेख छ । महेन्द्र पुलिस क्लवमा केही दिन राखेर हनुमान ढोका लगिएको एक अभिलेखमा उल्लेख छ । त्यहाँ डा. लक्ष्मीनारायण झा, सप्तरीका दिलिप चौधरी, सत्यनारायण साह, ईश्वर लामा, पद्म लामा, अनारसिंह कार्कीसहितका व्यक्तिहरु २५ दिनसम्म हनुमान ढोकामा राखेर रातीको समयमा बसमा राखी जङ्गलतर्फ लगिएको थियो । सोही क्रममा उनीहरुलाई आफूहरु बमकाण्डमा संलग्न रहेको भन्ने कुरा स्वीकार गरिएको कागजमा हस्ताक्षर गराईयो । तत्पश्चात साकेतलाई प्रहरी हेड क्वार्टर नक्सालमा चरम यातना दिएर राखिएको तत्कालिन एक सहकर्मी बन्दीको बयानमा उल्लेख छ ।
हिरासतमा चरम यातनाका कारण शारिरीक रुपले कमजोर बन्दै गएको थियो । यद्यपी निड्डर एवम् हठी स्वाभावका उनी बरु मर्न तयार भए तर झुक्न चाहेनन् । हेडक्वार्टरमै पदम लामा, ईश्वर लामा, दिलिप चौधरी, डा. लक्ष्मीनारायण झा, महेश चौलागाइँसमेतका व्यक्तिहरुलाई चरम यातना दिएर मारिएको तथा रातिको समयमा बोरामा हालेर पथलैयाको जङ्गल ल्याएर दाउराको थुप्रोमा राखेर जलाईयो (सहीद स्मृति ग्रन्थ, पृष्ठ ४००)
सर्वोच्च अदालतका न्यायाधीशसहित विभिन्न विशिष्ट तहमा पुगिसकेका साकेतका बुवा रामचन्द्रले समेत छोरालाई छुटाउनुभन्दा पनि नियम कानूनबाटै रिहा हुनेमा विश्वस्त थिए । तर त्यसो भने हुन सकेन । उनको अवस्थाबारे बुझ्न परिवारजनले धेरै वर्षसम्म संघर्ष गरे तर साकेतको विषयमा भने हालसम्म राज्यले केही बोलेको छैन ।
नेपालमा प्रजातन्त्र प्राप्ति पश्चात कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी, शेरबहादुर देउवा, गिरिजा प्रसाद कोइरालालगायतका प्रधानमन्त्री रहेको समयमा पनि आफूहरुले व्यापक दौडधुप गर्दा पनि वास्ता नभएको साकेतका कान्छो भाइ सुमेश मिश्रको दुखेसो छ । वर्तमान सरकारले पनि पछिल्लो समय सरकारले सार्वजनिक गरेको सहीदको सूचीमा पनि दाजुको नाम समावेश नभएकोमा दुखेसो पोख्दै ‘न्यूज टुडे’सँग उनले भने ‘यतिका वर्ष वितिसक्दा पनि राज्यले मेरो दाजु साकेतको विषयमा मौन छ, सहीद सूचीमा पनि वहाँको नाम समावेश भएन । जिल्लाबाट पनि विभिन्न सरकारमा सप्तरीबाट दर्जनौ मन्त्रीहरु भए पनि हालसम्म कसैले वास्ता नगरेको सुमेशले गुनासो गरे । शाक्य आयोगको प्रतिवेदनले साकेतको विषयमा राज्यलाई स्पष्ट रुपमा बोले पनि राज्यले चासो नदेखाएको उनले स्मरण गरे ।
साकेतका वुवा रामचन्द्रको साढे पाँच वर्ष अघि निधन भईसकेको छ भने ७८ वर्षिया आमा चपलादेवीको स्वास्थ्य अवस्था बिग्रिदैगएको छ । उनले छोरा साकेतलाई सम्झेर रुने गरेको सुमेशले बताए । साकेतको नामबाट सहीद साकेत पार्क व्यवस्थापन समिति गठन गरेर सहीद पार्क सञ्चालनमा ल्याएको छ ।
यता साकेतलाई सहीद घोषणा नगरिएकोमा राज्यलाई दवाव दिने उद्देश्यले उनको जन्मस्थान तिलाठीका युवाहरुले सहीद साकेत स्मृति टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गरेका छन् । देश र जनताकोलागि संघर्षका क्रममा वेपत्ता पारिएका साकेतको अवस्थासम्म सार्वजनिक नगर्न र सहीदको सूचीमा नराख्नु दुर्भाग्यपूर्ण भएको स्थानीयवासिन्दा समेत रहेका मैथिली पत्रकार परिषद्का अध्यक्ष जितेन्द्र कुमार झाको भनाई छ ।shaket chandra mishraaaaa

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer