नेपालको राजनीतिमा चर्चित पात्र हुन् हृदयेश त्रिपाठी । नवलपरासीको कठहवा गा.वि.स. गुणेपर्सेनी–३ निवासी उनी तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष जिम्मेवारी सम्भाल्दैआएका छन् । राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका त्रिपाठी वामपन्थी राजनीतिबाट प्रभावित भई बि.सं.२०३१ सालदेखि राजनीतिमा प्रवेश गरी हाल मधेशको राजनीतिमा सक्रिय रहँदैआएका छन् ।
मधेशका मसिहा स्व. गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सदभावना पार्टीबाट मधेशको राजनीतिमा सक्रिय भएका उनी हालसम्म मधेशी जनताको हक अधिकार स्थापित गराउनकालागि संघर्षरत छन् । तमलोपाका वरिष्ठ उपाध्यक्ष त्रिपाठीले गणतन्त्र अघि र गणतन्त्र प्राप्ति पश्चात पटक–पटक मन्त्री भई उदाहरणीय एवम् उल्लेखनीय कामहरु गरेका छन् ।
मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्रनारायण सिंहसँग रहेर निक्कै लामो अनुभव सङ्गालिसकेका उनी गजेन्द्रबाबुलाई आदर्शको रुपमा मान्दैआएका छन् । उनले २ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासित र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन बिताएका छन् ।
नेपालको राजनीतिमा खारिएका उनी स्पष्ट वक्ता एवम् कुशल राजनीतिक खेलाडिका रुपमा चिनिन्छन् । जारी मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउँदैआएका उनी सरकारसँग वार्ता गर्नकालागि गठित कार्यदल सदस्यको जिम्मेवारीमा समेत रहेका छन् । सिमाङ्न, नागरिकता, जनसंख्याको आधारमा क्षेत्र निर्धारण, हरेक निकायमा मधेशीको समानुपातिक सहभागितालगायतका मागहरु राख्दै जारी आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउँदै आएका छन् नेता त्रिपाठीले । प्रस्तुत छ समसामयिक राजनीतिक विषयवस्तुको ‘न्यूज टुडे’का सम्पादक श्यामसुन्दर यादवले गरेको कुराकानीको केही अंशः
न्यूज टुडेः सरकारसँगको वार्ता प्रक्रियालाई यहाँहरुले किन रोक्नु भएको छ ?
त्रिपाठीः वार्ताबाटै समस्याको समाधान गर्न हामीले चाहेकै हौं तर वार्तालाई बिथोल्ने काम राज्यपक्षले नै गर्दैआएको छ । यता हामी सरकासँग वार्तामा बसेका हुन्छांै, उता आन्दोलनकारीहरुमाथि निर्ममतापूर्वक गोली वर्षाएर हत्या गर्ने काम भइरहेको हुन्छ । बन्दुक र वार्ता एकसाथ सम्भव छैन ।
अधिकार र पहिचान सुरक्षित नभएसम्म निर्णायक संघर्ष जारी रहन्छ । वार्ता र सम्वादबाट हामी पछाडि हटेका छैनौ । १०–११ दिनदेखि वार्ता प्रक्रिया रोकिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अब वस्ने बैठकले आन्दोलनका स्वरुप तय गर्नेछ ।
न्यूज टुडेः असोज ३ गते जारी भएको संविधानलाई एसियाकै उत्कृष्ट संविधान भनेर तीन दलका नेताहरुले भन्दैआएको छ नि ?
त्रिपाठीः यो संविधान तीन दलका लागि उत्कृष्ट होला, तर मधेशी, थारु, मुस्लिम, दलित, महिला, आदीवासीलगायतका समुदायको हितमा छैन । खस आर्यलाई परिभाषित गरी त्यही पेरीफेरीमा संविधान लेखिएको छ तर वर्षौंदेखि शोषित उत्पीडित जनताका हक अधिकार खोसिएको छ ।
खस जातीको कब्जामा रहेको अधिकारलाई थारु र मधेशीले बराबरी चाहेको छ । नागरिकतामा समेत वर्तमान संविधानमा विभेद छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जना राख्ने प्रावधान राखिएको छ । यो सर्वथा गलत हो । जनसंख्याको आधारमा प्रदेशको क्षेत्र निर्धारण हुनुपर्दछ । २० वर्षमा प्रतिनीधि सभा सदस्यको पुनरावलोकन गर्ने कुरा संविधानमा उल्ललेख छ । यो प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणना पछि पुनरावलोकन हुनु पर्दछ ।
न्यूज टुडेः हालै नयाँ संविधानमा गरिएको संशोधनप्रति तपाईहरुको मौन समर्थन रहेको भनी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार पनि आएको छ, भित्री रहस्य के हो ?
त्रिपाठीः संशोधनप्रति मोर्चाको कुनै समर्थन छैन । तीनै महावैज्ञानिकहरुले जारी गरेको संविधान संशोधन उनीहरुकै लागि स्वीकार्य होला, हाम्रा लागि भने होइनन् । शब्दजालको खेल जस्तै हो यो संशोधन । छापामार शैलीबाट तीन दलले संविधान बनायो र बन्दुकको बलमा लागु गर्न खोज्यो । ठाउँ–ठाउँमा गल्ती र विभेदका शब्दहरु रचेर संविधान बनाईएको छ ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको प्रस्ताव पारित भएको भए मधेशीहरुको हितमा हुन्थ्यो । तर, उनको प्रस्तावलाई बेवास्ता गरेर नेता मिनेन्द्र रिजालको प्रस्तावलाई पारित गरेकोले यो त्रुटिपूर्ण छ ।
आन्दोलनको निकासको चाभी (साँचो) सरकार र प्रमुख तीन दलको हातमा छ । मधेशी, थारुलगायतका समुदायले राखेको मागलाई राज्यले सम्बोधन गरि संविधानमा संशोधन गरिदिए आन्दोलन गरिरहनुपर्ने अवस्था नै रहँदैन । आन्दोलन गर्नु हामीहरुको रहर होइन, कांग्रेस, एमाले र एमाओवादीले सिर्जना गरेको बाध्यता हो ।
न्यूज टुडेः यहाँहरुको आन्दोलन शिथिल हुँदै गएको छ नि ?
त्रिपाठीः हेर्नुस, मधेश आन्दोलन शुरु भएको बेला कसैलाई विश्वास लागेको थिएन कि यती लामो आन्दोलन हुन्छ । सफलता र विफलता राज्यको चरित्रमाथि निर्भर गर्दछ । कर्णाली प्रदेशको माँग ६–७ दिनमै सम्बोधन भयो । तर, मधेश आन्दोलन साढे पाँच महिना जारी रहँदा करिब ५ दर्जन निहत्था मधेश जनतामाथि गोली वर्षाएर ज्यान लिँदा पनि राज्य पक्ष गम्भिर देखिएको छैन । यसले मधेशी जनतालाई राज्यले गरिरहेको चरित्र उदाङ्गो गरेको छ नेपालको शाषक जङ्गली शासकहरुले अहिले पनि मधेशी जनतालाई कर दाता र मतदाता मात्रै बुझेका छन् । ०६२÷०६३ को आन्दोलन, प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र प्राप्तिको लडाइमा मधेशी जनताले बलिदानी दिएका छन् । तर, त्यही समुदायलाई खस शासकहरुले दास बनाएर राख्ने मनसाय राखेका छन्् ।
यो संघर्ष अघिल्लो पिढीलाई हस्तान्तरण गर्ने अवस्था आउन सक्छ । समानताको हक प्राप्ती नभएसम्म आन्दोलन जारी रहन्छ ।
न्यूज टुडेःकाँग्रेस, एमाले र एमाओवादीका जननिर्वाचित मधेशी सभासद्हरुले हस्ताक्षर गरेको संविधान कसरी मधेश विरोधी हुनसक्छ ?
त्रिपाठीःतपाईले ठिक भन्नुभयो मधेशी सभासद्हरुले वर्तमान संविधानमा हस्ताक्षर गरेको छ तर ती सभासद्हरु मधेशी मतदाताहरुमाथि जिम्मेवार नभएर तीनै मधेश विरोधी पार्टीहरुप्रति वफादार भएकै कारण यस्तो अवस्था आएको हो । आफैले मत दिएर जिताएका सभासद्हरुमाथि जनताको व्यापक आक्रोश र असन्तुष्टि छ । त्यही कारण संविधान जारी गरेपछि सहज रुपमा जनताको बीचमा जान सकेका छैनन् ।
न्यूज टुडेः मधेशी मोर्चाले सप्तरीसहितका जिल्लाहरुमा तीन ठूला दलहरुलाई गतिविधि गर्न रोक लगाएर तपाईहरुले पनि त निःषेधको राजनीतिको शुरुवात गरेको जस्तो लाग्दैन ?
त्रिपाठीःनिषेधको राजनीति हामीले गरेका होइनौं । सत्ता उन्मादमा रहेका एमाले, एमाओवादी र त्यसैका सहयोगी नेपाली काँग्रेसले सुनसरीको इटहरीमा मधेशी मोर्चाको मञ्च जलाएको शायद तपाईलाई याद होला । थारु–मधेशीको शान्तिपूर्ण आवाजलाई बन्दुक दबाउन पञ्चायती सरकारभन्दा पनि क्रुर वर्तमान सरकारले श्रृङ्खलावद्ध रुपमा नरसंहार गरेर आतङ्क मच्चाईरहेको छ ।
मधेशी, थारु, थारु, मुस्लिम आदीवासीलगायतका समुदायको अधिकार खोसिएको अवस्थामा दमनकारी मधेश विरोधी पार्टीहरुलाई निःषेध गर्नु स्वभाविक हो ।
न्यूज टुडेः तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले ‘मधेश आफैमा राष्ट्रियता हो’ भनिराखेको छ, के हो वास्तविकता ?
त्रिपाठीः मधेशमा समान, भूगोल, जनसङ्ख्या, संस्कृति र भाषा छ । नेपालभित्रै मधेश आफैंमा राष्ट्रियता हो । राज्य एक हुन सक्छ तर, राष्ट्रियता एक हुन सक्दैन । काँग्रेसमा रहँदा पनि पार्टी अध्यक्ष महन्थ ठाकुरले मधेशी राष्ट्रियताकै कारणले मधेशमाथि भेदभाव भएको कुरा उठाउनुभएको थियो ।
न्यूज टुडेःतपाईहरुले नेपालभित्रै समृद्ध एवम् स्वायत थरुहट–मधेश प्रदेशको माग राखेर शान्तिपूर्ण आन्दोलन गरिराख्नु भएको छ भने अर्कोतर्फ छुट्टै मधेशको कुरा पनि उठिरहेको छ नि ?
त्रिपाठीः सबभन्दा महत्वपूर्ण कुरा खासगरी प्रमुख तीन दलले बुझ्नु जरुरी छ । यदि यो मधेश आन्दोलन समाप्त भयो भने नेपालको दूर दिन शुरु हुन्छ । मधेशी जनतामा अलगावको भावना बढ्न सक्छ । अबको देशको भविष्य राज्यको चरित्रमाथि निर्भर गर्छ ।
मधेशी जनताले अहिले पनि नेपालभित्रै आफ्नो हक अधिकार खोजिरहेको छ । यदी राज्यले माग सम्बोधन गर्नुको साटो बन्दुकले नै दबाउने कुचेष्टा गरिरह्यो भने निर्णायक जनता हो, जनताले नै निर्णय गर्नेछन् । मधेशी र थारु समुदायले केन्द्रमा साझा शासन र थरुहट–मधेशमा आफ्नो शासन मधेशमा चाहेको छ ।
न्यूज टुडेः नाकाबन्दी खुल्ला हुने चर्चा चलेको सही हो त ?
त्रिपाठीः वीरगञ्ज बाहेक लगभग सबै नाका खुल्ला नै छन् । मोर्चाका नेता महेन्द्र राय यादवले नाकाबन्दीको विषयमा १८ गतेको बैठकले तय गर्ने भनी पत्रकारहरुलाई दिएको प्रतिक्रियालाई केही मिडियाले गलत प्रचारवाजी गरिरहेको छ । नाका खोल्ने वा नखोल्ने विषयमा हाम्रो औपचारिक निर्णय भएको छैन ।
न्यूज टुडेः यहाँहरुको आन्दोलन मधेशका आठ जिल्लामा मात्रै भइरहेको छ, अन्य जिल्लाहरुमा खासै प्रभाव देखिंदैन नि ?
त्रिपाठीःयो कुरा बिलुकलै गलत हो । पश्चिममा कैलाली र रुपन्देहीमा सर्वाधिक आन्दोलन भएको कुरा तपाईलाई पनि थाहा होला । झापा र कञ्चनपुरमा आन्दोलनको प्रभाव कम छ । झापामा आदिवासी र मधेशीहरु अल्पसंख्यक छ ।
तपाईलाई म स्मरण गराउन चाहन्छु, कैलालीमा हज्जारौं थारुहरु पलायन भएका छन् । धेरै नेता जेलमा छन् । अझैं राज्य आतङ्को त्रास कायमै छ । आन्दोलन नाप–तौल गरेर हुँदैन । कुनै जिल्लामा कम र कुनै जिल्लामा बढी हुनु स्वभाविक हो ।
न्यूज टुडेःआन्दोलनमा भएको प्रहरी दमनको विषयमा यहाँहरुले केही सोचिराख्नुभएको छ कि ?
त्रिपाठीःतपाईले ठिक कुरा उठाउनु भो, राज्यद्वारा भइरहेको दमनको विषयमा अन्तर्राष्ट्रिय स्तरसम्म कुरा उठिरहेको छ । राज्यको चरित्रको विषयमा विभिन्न देशहरुले थाहा पाएर नै नेपाल सरकारलाई दवाव समेत दिइरहेका छन् । संयुक्त राष्ट्र संघ, युरोपियन युनियनलगायतका अन्तर्राष्ट्रिय निकायले शान्तिपूर्ण मधेश आन्दोलन र राज्यको दमन विषयमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । दोषीहरुलाई कानूनको कठघरामा उभ्याउने काम हामी गर्न पछि पर्दैनौं ।
न्यूज टुडेः मधेश आन्दोलनको उद्देश्य एउटै हो भने तपाईहरु एकताबद्ध भएर आन्दोलन नगर्नुको कारण के होला ?
त्रिपाठीःहेनुस् श्यामसुन्दरजी, म मधेशको आन्दोलको सिपाही हुँ । अध्यक्ष वा कुनै पदकोलागि पार्टी फुटाउने काम गरेको छैन, गर्दिन पनि । मोर्चाको अब बस्ने बैठकमा जयप्रकाश प्रसाद गुप्ता, राजकिशोर यादवल, शरतसिंहगायतका शक्तिहरुसँग समेत सहकार्य गरेर महागठबन्धन बनाएर अगाडि बढ्ने विषयमा छलफल गर्नेछौं ।
न्यूज टुडेः आन्दोलनको समयमा मोर्चाकै घटक पार्टीहरुले आन्दोलन भन्दा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता किन ?
त्रिपाठीः मोर्चा घटककै पार्टीहरुले हाल गरिरहेको पार्टी प्रवेशको कार्यक्रमप्रति मेरो विमति छ । म भन्न चाहन्छु ‘हिम्मत छ भने काँग्रस, एमाले र एमाओवादीबाट पार्टीमा प्रवेश गराओस् । समान उद्देश्यका साथ संघर्षरत पार्टीहरुबाटै एक–आपसमा आउने–जाने क्रमले केही फरक पर्दैन ।
न्यूज टुडेः वर्तमान मधेश आन्दोलन भारतबाट परिचालित रहेको सही हो त ?
त्रिपाठीःआफ्नो भूमिकाका कारण भारत बेला–बेलामा प्रशंसित र आलोचित हुँदै आएको छ । नेपालको हरेक परिवर्तनहरुमा भारतको समर्थन र सहयोग छ । नाकामा भारतीय जनता आएर बसेको छैन नि, त्यहाँ त मधेशी जनता नै बसेका छन् । खोक्रो राष्ट्रवादी भनाउनेहरुले यस्तो आरोप लगाएको हो ।
आन्दोलनमा हाम्रो बुहारी र भारतको छोरी मारिएको छ । भारतसँग रोटी–बेटीको सम्बन्ध छ । यो सम्बन्धलाई कसैले चाहेर पनि तोड्न सक्दैन ।
मधेश कुनै शासक वर्गले आर्जित गरेको भू–भाग होइन । सुगौली सन्धीबाट मधेशको कञ्चनपुर, कैलाली, बाँके–बर्दीया छाडेर भेरी नदीदेखि कोशी नदीको भूमि नौ जना मधेशी जमिन्दारको प्रयासमा आएको हो । ब्रिटिस इण्डियाले भनेको थियो ‘जो जहाँ बस्न चाहन्छ स्वेच्छाले बसोस्’ सोही अनुसार कोही यता बसे र कोही उता गए । मधेश कुनै राजा महराजा वा सेनाले जितेको भू–भाग होइन भन्ने कुरा राज्यपक्षले पनि बुझ्नु जरुरी छ ।
न्यूज टुडेः तपाईको बिचारमा जारी मधेश आन्दोलनको निकास के होला ?
त्रिपाठीःआन्दोलनको निकासको चाभी (साँचो) सरकार र प्रमुख तीन दलको हातमा छ । मधेशी, थारुलगायतका समुदायले राखेको मागलाई राज्यले सम्बोधन गरि संविधानमा संशोधन गरिदिए आन्दोलन गरिरहनुपर्ने अवस्था नै रहँदैन । आन्दोलन गर्नु हामीहरुको रहर होइन, कांग्रेस, एमाले र एमाओवादीले सिर्जना गरेको बाध्यता हो ।