• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वार्ताको नाममा सरकारको नौटंकीः उपेन्द्र

बिराटनगर, १४ मंसिर । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वार्ताको नाममा नौटंकी गरेर भारतलाई देखाउन खोजेको बताएका छन् ।
मोरङ्गको विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । सरकारले वार्तामा बोलाएर जिस्क्याउने काम मात्र गरेको प्रष्ट्याउँदै उनले भने ‘सरकारले वार्ताको नाममा नौटंकी गरेर देखाउन मात्र खोजेको छ ।’
गृहकार्य नै नगरी वार्ताको नाममा नौटंकी गरे भारतसहित अन्तर्राष्ट्रिय निकाय समक्ष वार्ता गरेर समाधान गर्न नचाहेको उनको भनाई थियो । उप–प्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा भारत जान लागेकाले वार्ताको नाटक रचेर त्यहाँ भन्न सजिलो होस् भन्ने उद्देश्यले जानेरै वार्तालाई पुनः निष्कर्षविहिन बनाएको अध्यक्ष यादवले बताए ।
जारी मधेश आन्दोलन अधिकार प्राप्तिको संघर्ष भएकोले यसलाई थप सशक्त एवम् व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सत्तारुढ दल, कांग्रेस र मधेसी मोर्चाबीच भएको वार्ता एजेण्डामा प्रवेश नै नगरी तयारी नपुगेको भन्दै स्थगन गरेको अध्यक्ष यादवले जानकारी दिए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकमा फोरम अध्यक्ष यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसहित झापा, मोरङ र सुनसरीका नेताहरुको समेत उपस्थिति थियो ।