• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्वार्ता

पाँचवटा जिल्लाको विवाद मिल्यो भने आन्दोलन रोकिन्छःमृगेन्द्रसिंह यादव

पाँचवटा जिल्लाको विवाद मिल्यो भने आन्दोलन रोकिन्छःमृगेन्द्रसिंह यादव

मृगेन्द्रसिंह यादवले विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी सरकारमा गएपछि महासचिव पदबाट राजीनामा दिएका हुन् । सप्तरीस्थित यादवकै निवासमा पुगेर रातोपाटीका प्रतिनिधि एसके यादव र राजेश भण्डारीले गरेको कुराकानीको मुख्य अंश :

तीन महिनाभन्दा बढी समयदेखि मधेस बन्द छ, यस अवस्थामा तपाईंको गुजारा कसरी चलेको छ ?
अहिले अलि अप्ठेरो छ, तर गुजारा चलेको छ । पहिला ग्यास चुलोमा खाना पकाउथ्यौँ, अहिले जलावन (दाउरा) मा पकाउँछौँ । तेल नपाएर तीन महिनादेखि (बोलोरो गाडी देखाउँदै) गाडी थन्काएर राखेका छौँ । यसो काम परेका बेला मोटरसाइकल चढ्छौँ । दाल–चामलको जोहो आफ्नै खेतबारीमा हुन्छन् ।

अरु जनताको गुजारा कसरी चलेको छ त ?
अरुको पनि यस्तै हो । समस्या त उनीहरूलाई पनि छ, तर यो अधिकारको लडाइँ हो । परिवर्तनको लडाइँ हो । अधिकारका लागि लडिरहेका छौँ भनेर अलिकति अप्ठेरो झेलेर भए पनि जनता आन्दोलनमा लागेका छन् ।
अबको मधेस आन्दोलन कसरी अगाडि बढ्छ ?
छलफल र वार्ताको माध्यमबाट आन्दोलनलाई टुंग्याउँनुपर्छ । अब यो आन्दोलनलाई धेरै लामो लैजानु हुँदैन । मधेसी जनतालाई पनि आन्दोलन गर्ने रहर छैन । सरकारले मधेसी जनताको अधिकार पूरा गरिदियोस्, आन्दोलन बन्द हुन्छ । हामीले पनि सधैँ आन्दोलन होस् भनी चाहेका छैनौँ । तर, सरकारले वार्ताको नाममा नाटक गरिरहेको छ । सरकारले आन्दोलनकारी पक्षसँग पटक–पटक वार्ता गरे, तर कहिल्यै सफल हुन सकेन । वार्ताको नाममा मधेस आन्दोलनलाई अल्झाउने काम गरेको छ । मधेस आन्दोलनलाई लम्ब्याउने काम गरेको छ । आन्दोलन भएको सय दिनभन्दा बढी भइसक्यो, तर सरकारले गम्भीरतापूर्वक लिएको छैन । मधेसी जनतलाई जिस्क्याइएको छ । आन्दोलनको खिल्ली उडाइएको छ । मधेसी जनताले ऐतिहासिक मानव–सांग्लो बनाए, तर यही देशका प्रधानमन्त्रीले त्यसलाई माखे–mrigrendra yadavसांग्लो भने । के यही हो त आन्दोलनप्रतिको गम्भीर्यता ? सरकार अलिकति पनि गम्भीर भइदिएको भए, यस्तो समस्या हुने थिएन । तपाईं यहीँ राजविराजको आन्दोलन हेर्नुहुन्छ भने प्रहरीहरूले ‘मोदीको छोरा आइज दश लाख रुपैयाँ लैजा’ भनी गाली गरेर लखेटिरहेको देख्नुहुन्छ । आन्दोलनकारीले पनि यसको जवाफमा अनेक भनेका छन् तर आन्दोलनकारीभन्दा त राज्यपक्ष वा पुलिस प्रशासन जिम्मेवार पक्ष हो नि । त्यो कुरा राज्यले सायद बुझेको छैन ।

पञ्चायतकालमा राजनीतिमा सक्रिय रहनुभयो, अहिले कस्तो परिवर्तन भएको पाउनुभएको छ ?
अहिलेको जस्तो अवस्था पञ्चायतकालमा पनि थिएन । सत्तापक्षबाट यस्तो दमन पञ्चायतकालमा पनि हुँदैनथ्यो । प्रहरीले जनताको घर–घरमा गएर कुटपिट गर्दैनथ्यो । यसपटक यस्तो पनि गरेको छ, राजमार्ग खुलाउन प्रहरीले नेपाली सेनालाई प्रयोग गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोसाक लगाएर नेपाली सेनाले मधेसी जनतामाथि दमन गरेको छ ।

यसको निकास के हुन सक्ला ?
मैले अघि पनि भनेँ कि, यसको एउटै निकास वार्ता हो । वार्ताबाट यसको समाधान नखोजेसम्म त्यत्तिकै निकास निस्कँदैन । झापा, मोरङ, सुनसरी, कञ्चनपुर, कैलाली मधेस हो कि होइन ? यदि मधेस हो भने यसलाई मधेस प्रदेशमा राख्न के आपत्ति ? त्यहाँका मधेसी जनता भन्छन्, हामी मधेस प्रदेशमा बस्न चाहन्छौँ तर केही स्वार्थी नेताहरूले त्यसलाई अस्वीकार गरी बेकारका बखेडा झिकिरहेका छन् । हाम्रो बटमलाइन सीमांकन हो । पहिलाको राज्य पुनः संरचना समितिले तय गरेको प्रतिवेदनअनुसार पनि सीमांकन छुट्याइदिए धेरै उत्तम हुन्थ्यो । तर, राज्यले कुनै सुनुवाइ गरेको छैन । मधेसलार्ई एउटै प्रदेश बनायो भने मधेस भारतमा मिसिन्छ भनी आरोप लगाइएको छ । यदि त्यस्तो हो भने मधेसका ८ जिल्लाका एउटा प्रदेश किन बनायो ? भारतमा मिलाउनकै लागि बनाएको हो त ? यदि त्यस्तो होइन भने, बाँकी रहेका अन्य जिल्ला मधेसमा किन नहालेको हो त ? यो राज्यको नाटक हो । मधेसी जनतालाई बेवकुफ बनाउने काम गरिरहेको छ । अहिले पाँचवटा जिल्लाको विवाद हो । यो पाँचवटा जिल्लाको विवाद मिल्यो भने आन्दोलन रोकिन्छ ।

यी पाँच जिल्ला मधेसमा पार्न सत्ता पक्षलाई किन नमानिरहेको होला ?
सत्तापक्षले विभिन्न बहानाहरू बनाइरहेका छन् । यी पाँच जिल्लामा नेपाली भाषाभाषीको बाहुल्य रहेको छ, उनीहरू मधेस प्रदेशमा जान चाहँदैनन्– राज्य पक्षले यही भनिरहेको छ । त्यसो भए के अहिलेको आठ जिल्लाको दुई नम्बर प्रदेश (मधेस प्रदेश) मा पहाडी समुदायका छैनन् त ? छन् नि । थुप्रै पहाडी समुदायहरू यता पनि छन् । खोइ त कसैले भनेको ? अरु केही होइन, पूर्वका तीन जिल्ला झापा, मोरङ र सुनसरीलाई केपी शर्मा ओली र कृष्णप्रसाद सिटौलाले मधेसमा मिल्न दिनुभएको छैन । पश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई शेरबहादुर देउवा र भीम रावलले मधेसमा मिल्न दिनुभएको छैन । नेताहरूले आ–आफ्नो स्वार्थका कारण देशलाई द्वन्द्वमा फसाएका छन् । झापा, मोरङ, सुनसरी, कञ्चनपुर, कैलालीलगायत मधेसका जिल्लामा २२ सालपछि मात्र पहाडी समुदाय आएर बसोबास गरेका छन् । यहाँका नदीनाला, वन–जंगल सबै मधेसका हुन् । तर, यी सब दिनका लागि उहाँहरूलाई किन अप्ठेरो भइरहेको छ त ? सत्तापक्ष मधेसको अधिकार दिन अझै पनि मानसिक रुपले तयार भएको छैन भने कुरा छर्लंग बुझ्न सकिन्छ ।

महाभारत पनि पाँच गाउँका कारण भएको थियो । कौरवले पाण्डवलाई नदिने हठ लिएका थिए र त्यसै कारणले महाभारत पनि भयो । कृष्ण सिटौलाले पनि विराटनगरमा गएर भन्नुभएको छ कि झापादेखि सुनसरीसम्मको भाग मधेसमा कुनै पनि हालतमा दिँदैनौँ ।

सीमांकनका विषयमा दुइटै पक्षले अडान लिएको अवस्था छ, समाधानको सूत्र के होला ?

समाधान त वार्ताबाट नै निकाल्नुपर्छ । आफ्नो गोरुको बाह्रै टक्का त गर्नु हुँदैन । आफ्नो अडान लिएर मात्र हुँदैन । दुइटै पक्ष कहीँ न कहीँ गएर मिल्नु नै पर्छ । मधेसी दलले पनि अडान छोड्नु पर्छ ।

मधेसवादी दल कतिसम्म कम्पर्माइज गर्न तयार छन् त ?
मुख्य विवाद पाँच जिल्लाको हो । महाभारत पनि पाँच गाउँका कारण भएको थियो । कौरवले पाण्डवलाई नदिने हठ लिएका थिए र त्यसै कारणले महाभारत पनि भयो । कृष्ण सिटौलाले पनि विराटनगरमा गएर भन्नुभएको छ कि झापादेखि सुनसरीसम्मको भाग मधेसमा कुनै पनि हालतमा दिँदैनौँ । अनि मधेसी जनताले पनि भनेका छन्, हामी कुनै पनि हालतमा यी जिल्ला लिन्छौँ, लिन्छौँ । मुख्य लडाइँ यसैमा छ । मुख्य पाँच जिल्लाको विवाद मिलाउनुपर्छ र यसैमा केन्द्रित भएर वार्ता हुनुपर्छ । तर, मधेसवादी दलले के कति कम्पर्माइज गर्न सक्ला त्यो कुरा मैले एक्लै भनेर हुँदैन । यस्ता कुरामा साथीहरूसँग सल्लाह गर्नुपर्छ ।

यो आन्दोलन भारतले गराएको आरोप पनि छन् नि ?
–यो आरोप किन लगाइएको छ, त्यो लगाउनेहरुले नै जानून् । तर मलाई यति थाहा छ कि यो मधेसी जनताले गरेको आन्दोलन हो, भारतले होइन । भारतले नाकाबन्दी गरेको भए भित्रबाट समान आएर किन रक्सोलमा रोकिन्थ्यो त ? दिल्ली, मुम्बई, बरौनीलगायत ठाउँबाट रक्सोलसम्म आउँदैनथ्यो । अर्थात्, हेर्नुभयो भने नेपाल–भारतको नाकामा आएर सबै थन्केर बसेका छन् । मधेस आन्दोलनका कारण नाका बन्द छन् । राज्यले नै मधेसको आन्दोलनलाई बदनाम गराउन यस्तो उपाय अपनाएको हो । अन्तर्राष्ट्रिय समुदायको मधेस आन्दोलनप्रतिको ध्यान अन्तै मोड्नका लागि भारतप्रति आरोप लगाएका हुन् ।

यो आन्दोलनले गर्दा हिमालदेखि पहाड र तराईसम्मका सबैको चुलोमा समस्या पुगेको छ, यसप्रति तपाईंहरूको ध्यान किन गइरहेको छैन ?
यो कुरा लिएर हामीलाई पनि दुःख लागेको छ । तर, यसको जिम्मेवारी सरकारले लिनुपर्छ । सरकारले आन्दोलनकारीसँग सार्थक वार्ता गरेर चाँडो टुंगो लगाएर यसको सामाधान निकाल्नुपर्छ । जनताले दुःख पाइरहेका छन् भने, सरकारले किन हेरेर बसेको छ ? सरकारले वार्ता टुंग्याएर समाधान खोज्नु पर्यो नि !

तपाईं आफ्नो पार्टीबाट राजीनामा दिएर आन्दोलनमा लाग्नुभएको छ, आन्दोलनकै कारण राजीनामा दिनुभएको कि अरु आन्तरिक कारण छ ?
पार्टीमा खासै आन्तरिक विवाद थिएन । मुख्य कुरा पार्टीका अध्यक्षले अकस्मात आठबुँदे सम्झौता गरी सरकारमा जानु नै मुख्य समस्या हो । सारा मधेस आन्दोलित भएका बेला पार्टीका अध्यक्ष यसरी सरकारमा जानु हुँदैनथ्यो । अध्यक्षको यो सत्ता लिप्सा नै हो । त्यसपछि पार्टीमा दुईटा धार देखिन थाल्यो– सत्ता लिप्साको पक्षमा जाने र अधिकारका लागि आन्दोलनमा जाने । मैले आन्दोलनको बाटो रोजेर राजीनामा दिएँ । पार्टीका अन्य नेता तथा कार्यकर्तालाई कुनै जानकारी नै नदिईकन उहाँ सरकारमा जानुभयो, त्यसले गर्दा अन्य नेता तथा कार्यकर्ताहरू पनि आक्रोशित भएका छन् । धेरैले पार्टी पनि छाडिसकेका छन् ।

अध्यक्ष विजयकुमार गच्छदारले पार्टीमा सल्लाह गरेर नै सरकारमा गएको भन्नुहुन्छ नि ?
पार्टीका कुनै पनि नेताले भनुन् कि विजयकुमार गच्छदारले सरकारमा जानुअघि पार्टीमा सल्लाह गरेका छन् । म त भन्छु, उहाँले एक वचन कसैसँग सोध्नुभएको छैन । भेटेर त अर्कै कुरा, फोनमा पनि सल्लाह भएको छैन । न राजनीतिक समितिको बैठक बस्यो, न त केन्द्रीय समितिको बैठक बस्यो । एकाएक कसैलाई एक वचन नसोधी आठबुँदे सम्झौता गरेर सोही दिन मन्त्रीको सपथ लिनुभयो ।

अहिले तपाईं स्वतन्त्र व्यक्ति कि कुनै राजनीतिक दलको प्रतिनिधिको रुपमा आन्दोलनमा सहभागी हुँदै हुनुहुन्छ ?
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीमा म लगायत अरु थुप्रै नेता तथा कार्यकर्ताले राजीनामा दिनुभएको छ । उहाँहरू पनि विभिन्न जिल्लामा आन्दोलनरत हुनुहुन्छ । हामी स्वतन्त्र रुपमा सहभागी भएका छौँ । मधेसमा जन्मेको, मधेसमा हुर्केको, मधेसमा राजनीति गरेको नाताले मधेस अधिकारका लागि आन्दोलनमा सहभागी भएका छौँ । आन्दोलन सकिनेबित्तिकै मात्र हामीले नयाँ संगठन बनाउने कि अरु कुनै पार्टीमा जाने विषयलाई टुंगो लगाउँछौँ ।

नयाँ संगठन बनाउने मानसिक तयारी भइसकेको हो ?

मधेसी जनताको चाहना अब नयाँ संगठन बनाउने होइन । सबै शक्तिलाई एक ठाउँमा ल्याउने हो । जो अलग–अलग छन्, ती सबै दल तथा संगठनलाई एक ठाउँमा ल्याउने हाम्रो प्रयास हुनेछ । शरतसिंह भण्डारीदेखि लिएर राजकिशोर यादवसम्मका नेताले भेट्नुभएको छ । कतिपयले फोन गर्नुभएको छ । उहाँ सबैलाई हामीले तपाईंहरू एक हुनुस् भनेका छौँ । तपाईंहरू एक हुनका लागि हामीले के के गर्नुपर्छ, गरौँला । तर एक हुनुस् भनेर मैले भनेको छु । उहाँहरू सकारात्मक हुनुहुन्छ । उहाँहरूले पनि हामीलाई पार्टीबाट निस्केकाहरू सबै एक ठाउँमा आउनुस् भनी सुझाव दिनुभएको छ ।

त्यसो भए विजयकुमार गच्छदारले मधेसलाई धोका दिएको तपाईंहरूको ठहर हो ?

विजयकुमार गच्छदारले धोका दिएको मात्र होइन, उहाँले मधेसी जनतामाथि गद्दारी पनि गर्नुभएको छ ।
फोटो ः अशोक दुलाल

source ः www.ratopati.com