बीरगंज, २ मंसिर । जारी मधेस आन्दोलनको क्रममा शहीद भएकाहरुलाई मधेसी सोसायटी अफ लण्डनले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
नेपाल प्रतिनिधि अशोक कुमार साहको नेतृत्वमा शहीद सोहन साह कलवारको घरमा गएको टोलीमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बच्चा यादव, पर्सा जिल्ला सचिव नागेन्द्र यादव, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, सहयोगीहरु उत्तम दादा, जितेन्द्र साह, विश्वनाथ प्रसाद सहितको टोलीले शहिद कलवारकी आमा सुबिरा देवी र पत्नी विनिता देवीलाई नगद रु ४१ हजार रुपैयाँ सहयोग गरेको छ । जारी मधेस आन्दोलनको क्रममा भदौ १५ गते बीरगञ्ज उपमहानगरपालिका नगवामा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
मधेसी सोसायटी अफ लण्डनको प्रतिनिधि अशोक कुमार साह नेतृत्वको टोलीले बुधवार नै जारी मधेस आन्दोलनका क्रममा शहीद भएका बारा कलैया रंगपुर निवासी हिफाजत मियाँको परिवारलाई आर्थिक सहयोग गरेको छ । शहीद हिफाजत मियाँका आमा विगन नेसा र पत्नी सबिना नेसालाई नगद रु. ४१ हजार रुपैयाँ सहयोग गरेको थियो ।
उक्त संस्थाले जारी मधेस आन्दोलनको क्रममा रौतहटमा शहीद भएका राजकिशोर ठाकुरको परिवारलाई समेत सहयोग गर्नुको साथै मधेसका शहिद भएका जिल्लामा एक परिवारलाई जनही रु. ४१ हजारको दरले सहयोग गरिने नेपाल प्रतिनिधि अशोक कुमार साहले बताए । सहयोग जुटाउनकालागि मधेसी सोसाइटी लण्डनका अध्यक्ष डा सुनिल साहले सक्रिय भुमिका निर्वाह गरेका हुन् ।