• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उपेन्द्रले प्रचण्डलाई भने ‘मधेशले अब उधारो सम्झौता गर्दैन’

उपेन्द्रले प्रचण्डलाई भने ‘मधेशले अब उधारो सम्झौता गर्दैन’

काठमाडौं १, मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश–थरुहट क्षेत्रमा जारी आन्दोलनको सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
तीनकुनेस्थित फोरम नेपालको पार्टी कार्यालयमा मङ्गलवार भेट गर्न पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा अध्यक्ष यादवले संविधान पुनर्लेखन गरी तत्काल माग सम्बोधन नगरिए आन्दोलन झन् कडा पार्ने बताए ।‘किस्ताबन्दी सम्झौता हामीलाई मान्य छैन, सबै मागहरु एकमुष्ट रुपमा नगद सम्बोधन हुनुपर्छ’– छलफल पछि अध्यक्ष यादवले भने, –‘आन्दोलनको निर्णायक चरणमा पुगेको मधेशले अब उधारो सम्झौता गर्दैन ।’
झन्डै एक घन्टा लामो छलफलमा एमाओवादी अध्यक्ष दाहाललाई मधेशको समस्या समाधान गर्न सरकार गम्भीर भए त्रुटिपूर्ण संविधान तत्काल सच्याउनु पर्ने यादवले सुझाव दिए ।समग्र मधेशभित्र दुई प्रदेशसहितको राज्य पुनर्संरचना आयोगको प्रतिवेदन र अन्तरिम संविधानमा भएको व्यवस्थालाई आधार मानी प्रदेशहरुको सीमान्कन मधेशी मोर्चाको मुख्य माग रहेको भन्दै फोरम नेपालका अध्यक्ष यादवले त्यो बाहेकको कुनै पनि सहमति सम्झौता आफूहरुलाई मान्य नभएको छलफलमा प्रष्ट पारे ।
जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सरकारी सबै सेवामा मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, सीमान्तकृत समुदायको समानुपातिक समावेशीकरण, सरकारी कामकाजी भाषाको रुपमा बहुभाषिक नीति लागू हुनु पर्ने र नागरिकका सवालमा उत्पन्न समस्या ठोसमा रुपमा समाधान हुनुपर्ने मागबाट कुनै पनि हालतमा आफूहरु पछि नहट्ने अध्यक्ष यादवले बताए ।सरकारी बेवास्ता एवं उदासीनताले गर्दा देशमा संकट उत्पन्न भएको आरोप लगाउँदै अध्यक्ष यादवले जनताको समस्याप्रति सरकार गम्भीर भए ठोस प्रस्तावसहित इमान्दार भएर वार्तामा बस्न आग्रह गरेका छन् ।
छलफलमा एमाओवादी अध्यक्ष दाहालले मध्यमार्गी बाटो खोजी समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख एजेन्डाका रुपमा अघि सारेको प्रदेशहरुको सीमान्कन र अन्य माग सम्बोधन लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफल गरी ठोस रुपमा प्रस्तुत हुने बताए ।