• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरी पत्रकार महासंघमा फेरी तालाबन्दी

राजविराज, २९ कार्तिक । शाखाका निर्वतमान अध्यक्ष प्रकाश खतिवडालगायत जिम्मेवार पदाधिकारीहरुको बिधान बिपरितको क्रियाकलाप र मनोमानी विरुद्ध आइतवार पुनः शाखाको मुलगेटमा तालाबन्दी गरिएको छ ।
बिधान अनुसार दर्ता भएको ‘अविश्वास प्रस्ताव’ नियम अनुसार ३५ दिन भित्र टेबुल गर्ने आँट समेत तत्कालिन अध्यक्ष प्रकाश खतिवडाले नगरेपछि उनीसँग दुई तिहाईको बिश्वास नरहेको भन्दै तालाबन्दी गरिएको नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका कार्यशैली बिरुद्धको संघर्ष समितिका संयोजक जितेन्द्र खड्गाद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । ‘अध्यक्ष पद रिक्त हुँदा बिधान अनुसार उपाध्यक्ष स्वतः कार्यबाहक हुने र काम कारवाही अगाडी बढाउने अवस्थामा उपाध्यक्षले पूर्व सभापतिहरु समक्ष समेत पटक–पटक प्रतिवद्धता जनाएपनि कार्यसमितिको बैठकसम्म गर्न नसकेपछि हामी बिलखबन्धमा परेका हांै’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘कात्तिक २९ गते बसेको संघर्ष समितिको बिस्तारित बैठकको निर्णय अनुसार दुई तिहाई सदस्यको विश्वास गुमाई सकेका अध्यक्ष प्रकाश खतिवडा तथा लामो समयकालागि बैदेशिक रोजगारमा गई सकेका दुई जना कार्यसमिति सदस्यहरु अम्बिका दाहाल र रामनारायण यादव सहितको पूर्ती नभएसम्मका लागि शाखामा तालाबन्दी गरिएको हो ।
बिगतमा भएको तालाबन्दी खुलाउन शाखाका पूर्व सभापतिहरुको पहललाई संघर्ष समितिले उच्च सम्मानका साथ आत्मसात गर्दैआएको उक्त पहललाई शाखा सभापति एवं जिम्मेवार पदाधिकारीहरुले लत्याएको जनाइएको छ । कार्यसमितिका अधिकांश पदाधिकारीहरुको उपस्थितीमा शाखाका खतिवडाले सार्वजनिक रुपमै पूर्व सभापतिहरुको निर्देशन एवं सुझावलाई स्वीकार गर्ने र तत्अनुरुप महासंघमा सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरे पनि कार्यान्वयन नगरेका खड्गाद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
भदौ मसान्त भित्र साधारण सभाको आयोजना नगरेको, अध्यक्षले बिगतमा गरेको अवैधानिक गतिबिधीलाई सुधार्ने तर्फ कुनै कदम नचालेको, महासंघका करिव रु. पाँच लाख भन्दा बढी मूल्यको जिन्सी तथा नगद हिनाभिना गरेको कार्यहरुमा सुधार ल्याउनेतर्फ कुनै पहलकदमी नदेखाएको विज्ञप्तिमार्फत खड्गाले जानकारी दिएका छन् । पूर्व सभापतिहरुको सुझावलाई पालना नगरेपछि बिधान अनुसार शाखामा कायम सदस्य संख्याको दुई तिहाई बहुमत सदस्यहरुको हस्ताक्षर सहित खतिवडा उपर गत असोज १५ गते अविश्वास प्रस्ताव शाखामा दर्ता गराईएको जनाइएको छ । अविश्वास प्रस्ताव बुझ्दै शाखा सचिव ओमप्रकाश साहले बिधान अनुसार कारवाही अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेकोमा प्रस्ताव दर्ता भएको ३५ दिन भित्र बिशेष साधारण सभा बोलाउनुपर्ने बैधानिक ब्यवस्थालाई समेत शाखाले लत्याएपछि बाध्य भएर शाखामा तालाबन्दी गरेको संयोजक खड्गाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कार्तिक १४ गते संघर्ष समितिको आव्हानमा बसेको पूर्व सभापति तथा बरिष्ठ पत्रकारहरुको बैठकमा समेत शाखा उपाध्यक्ष श्रवणकुमार देवले कातिक १८ गते कार्यसमितिको बैठक बसाउने र बिषेश साधारण सभाको मिति तोक्ने प्रतिबद्धता ब्यक्त गरेकोमा प्रतिबद्धता अनुसार कारवाही अगाडि बढ्न नसकेको विज्ञप्तिमा उल्लेख छ । शाखाको घट्दै गएको शाख जोगाउन, शाखामा भईरहेको ब्यापक भ्रष्टाचार रोक्न र पदाधिकारीहरुको मनोमानीलाई पररास्त गर्न हामीले गरेको पहल र संघर्षमा साथ दिने सम्पूर्ण पूर्व सभापति, बरिष्ठ तथा अग्रज पत्रकार तथा सदस्यरुहरुलाई समेत संयोजक खड्गाले धन्यवाद दिएका छन् ।