• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राज्यले माफी नमागेसम्म वार्ता असम्भवः महासचिव सुमन

राज्यले माफी नमागेसम्म वार्ता असम्भवः महासचिव सुमन

राजविराज, २३ कार्तिक । सोमवार १ बजेदेखि हुने भनिएको नेपाल सरकारसँगको वार्तामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वहिष्कार गरेको छ ।
वार्ता सरकारसँग आन्दोलनरत पक्ष वार्तामा रहेको अवस्थामा राज्यपक्षद्वारा चरम दमन नरोकिएको भन्दै मोर्चाले वार्ता वहिष्कार गरेको हो । कार्तिक १६ गते बीरगञ्जमा प्रहरीले शान्तिपूर्ण धर्नामा दमन गरी गोली चलाउँदा एक सर्वसाधारणको ज्यान लिएको तथा दर्जन बढी घाइते भएको तथा पछिल्लोपटक सप्तरीको भारदह र रुपनीमा प्रहरीले आन्दोलनकारीमाथि दमन गरेको भन्दै राज्यले माफी नमागेसम्म वार्तामा बस्नुको औचित्य नरहेको सद्भावना पार्टीका महासचिव मनिसकुमार सुमनले जानकारी दिए ।
करिब तीन महिनादेखि जारी शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षबाट भएको बर्बर दमन घोर निन्दनीय रहेको प्रष्ट्याउँदे उनले भने ‘हामीहरु वार्ता विरोधी होइनौं तर राज्यपक्ष जानीजानी आन्दोलनकारीहरुको टाउको र छातीमा हान्ने काम गरेको छ, वार्तामा पनि बोलाउने तर दमन जारी राख्ने ? सरकारको यो रबैया घोर निन्दनीय छ । सप्तरीको भारदह र रुपनीमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेर थुनामै निर्घात कुटपीट गरेको तथा बजार क्षेत्रका बासिन्दाहरुलाई समेत गालीगलौज गर्दै कुटपीट गरेको घटनाले राज्यको चरित्र उदाङ्गो भएको न्यूज टुडेसँग कुराकानी गर्दै उनले प्रतिक्रिया दिए ।
राज्यपक्षले वातावरण बनाउनुको साटो झन् बिगार्ने काम गरेको बताउँदै महासचिव सुमनले भने ‘बीरगञ्ज र सप्तरीको घटनामा राज्यपक्षले सार्वजनिक रुपमा दुःख व्यक्त गर्दै माफी नमागेसम्म वार्तामा बस्नुको औचित्य छैन ।’ उनले सप्तरीमा प्रहरीद्वारा भएको दमनको भत्र्सना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनकारीहरुलाई उच्च मनोबलका साथ सशक्त संघर्षलाई निरन्तरता दिन आग्रह गरेका छन् ।