• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हत्यारालाई कानूनी दायरामा ल्याइयोस्ः पीडित परिवार

हत्यारालाई कानूनी दायरामा ल्याइयोस्ः पीडित परिवार

राजविराज, २२ कार्तिक । हत्या भएको तीन साता वितिसक्दा पनि हत्याराको खोजी हुन नसकेको भन्दै पीडितहरुले गुनासो गरेका छन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–६ का युवा जितेन्द्रनारायण देवको रहस्मय हत्या भएको हो । हत्याको विषयमा प्रहरीले हालसम्म छानबिन तथा अनुसन्धान प्रक्रिया समेत अगाडि नबढाएको भन्दै पीडित परिवारले आइतवार मधेशी पत्रकार संघको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी गुनासो गरेका छन् ।
मनोज नामले चिनिने उनकोे शव बरहीबीरपुर चौकदेखि करिब पाँच सय मिटर पश्चिम नहरमा कार्तिक ३ गते विहान फेला परेको थियो । युनिक एजुकेसनल एकेडेमीमा डिप्लोमा इन फार्मेसी प्रथम वर्षमा अध्ययनरत ३० वर्षिय देव असोज ३० गते शनिवार साँझ करिब ४ बजेको समयमा साइकल चढेर घरबाट हिँडेको भाइ चन्द्रनारायणले बताए । अबेर साँझसम्म पनि घर नफर्केपछि आफूहरुले दाजुको खोजी कार्य तीब्र पारेको जानकारी दिँदै उनले भने ‘दाजु घर फर्किन्छ कि भन्ने आशमा हामी थियौं तर विहान भिनाजुमार्फत बरहीबिरपुर नहरमा शव फेला परेको जानकारी पाउँदा आकाशबाट खसे झैं भयो ।’
त्यहाँ गएर हेर्दा दाजुको शव नहरमा विभत्स अवस्थामा फालिएको उनले बताए । ‘शुरुमा त आफूहरुलाई यस्तो हुन्छ भन्ने कुरा सोचेको पनि थिएन तर नसोचेकै दिन देख्नुप¥यो’ मृतकका भाइ चन्द्रनारायणले भने ‘ दाजुको कान काटिएका, े दाहिनेतर्फ कानदेखि तलसम्म गम्भीर चोट तथा निलडाम थियो, रगतमा लतपतिएको अवस्था थियो ।

mritak jitendra narayan dev
मृतक जितेन्द्रनारायण देव

प्रत्येक सोमवार नहरमा पानी बन्द हुने गरिएका कारण पानी कम भएपछि उनको शव फेला परेको थियो । पानी कम भएपछि मात्र मान्छेहरुले शव भएको थाहा पाएका थिए । उनको शवलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गराई संस्कार गरिएको छ । यद्यपी उक्त रिपोर्ट समेत हालसम्म त्यहाँबाट नल्याएको तथा दाजु बेपत्ता भएको भोलीपल्टै कल डिटेल्सका लागि प्रहरीमा निवेदन दिएकोमा हालसम्म उक्त कार्य पनि हुन नसकेको मृतकका भाइ चन्द्रनारायण गुनासो गरे ।
दाजुको किरिया बसेको अवस्थामा पनि आफूले जिल्ला प्रहरी कार्यालयमा आवश्यक कानूनी कार्वाही गर्नका लागि आग्रह गरेको जानकारी दिँदै उनले भने ‘यतिका दिन भइसकेको छ, अहिलेसम्म हत्याराको पत्ता लाग्न सकेको छैन, यहाँसम्म कि दाजुले साथमा लगेको साइकल तथा हत्या भएको स्थलको पनि पहिचान हुन सकेको छैन ।’
मृतकको विवाह गत जेठ १७ गते झापाको शिवगञ्जमा २१ वर्षिया विष्णुमाया देवसँग विवाह भएको थियो । समाज तथा साथीभाइसँग पनि अति मिल्ने तथा कुनै पनि राजनीतिक दलसँग पनि आवद्ध नरहेको अवस्थामा कसले र किन आफ्नो भाइको निर्ममतापूर्वक हत्या गरेको हो ? यसबारे केही खुल्न नसकेको भाइ चन्द्रनारायणले बताए ।
काठमाण्डौमा मास्टर इन पब्लिक एडमिनिष्ट्रेसनको अन्तिम वर्षमा अध्ययनरत चन्द्रनारायण दशैमा सम्पूर्ण परिवारजन मिलेर खुशी मनाउने सपना साँचेर असोज ३० गते घर आएका थिए । दैवको लीला, फूलपातीकै दिन विहान दाजुको हत्या गरिएको खबर आएपछि सारा परिवार रुवाबासीमा परिणत भएको उनले भावुक हुँदै पत्रकार सम्मेलनमा बताए ।
सोही पत्रकार सम्मेलनमा उपस्थित मृतकका बृद्ध पिता रामशंकरलाल देव र आमा आशा देवी देव गहभरी आँसु पार्दै भने ‘मेरो छोरालाई अब फर्काउन त सकिँदैन तर कमसेकम हत्यारालाई कडा कार्वाही होस् ।’ छोराको हत्यारालाई कडा कार्वाही गरी आफूहरुलाई न्याय दिलाउनका लागि आ–आफ्नो स्थानबाट पहल गरिदिन उनीहरुले मानवअधिकारकर्मी, कानूनव्यवसायी, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्वद्ध सबैपक्षसँग उनीहरुले आग्रह गरे ।