• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आन्दोलनमा आउनुस् कि त मधेश छाड्नुस्ः अध्यक्ष यादव

आन्दोलनमा आउनुस् कि त मधेश छाड्नुस्ः अध्यक्ष यादव

राजविराज, २० कार्तिक । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले काँग्रेस, एमाले र एमाओवादी मुक्त मधेश हुनुपर्ने बताएका छन् ।

न्यूज टुडेसँग शुक्रवार कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । विगत करिब तीन महिनादेखि मधेश आन्दोलित रहँदा पनि माग सम्बोधन गर्नुको साटो तीन ठुला दलले मधेशी जनतामाथि शत्रुवत व्यवहार जारी राखेको प्रष्ट्याउँदै उनले भने ‘मधेशी जनतामाथि गोली वर्षाउनेहरु हाम्रो मित्र कदापि हुन सक्दैन, काँग्रेस, एमाले र एमाओवादीमुक्त मधेश बनाउनु आवश्यक छ, त्यसैले कि त पार्टी छाडेर मधेश आन्दोलनमा आउनुपर्यो कि त पार्टी लिएरै काठमाण्डौतिर जाँदा हुन्छ ।
संविधानसभाको निर्वाचनमा मधेशी जनताको मत पाएका काँग्रेस, एमाले र एमाओवादी मधेशी जनतामाथि बढी जिम्मेवार हुनुपर्नेमा झन क्रुर भएर प्रस्तुत भइरहेको अध्यक्ष यादवले बताए । उनले भने ‘मधेशमा ११६ सिटमध्ये १०४ सिट काँग्रेस एमाले र एमाओवादीले नै जितेका छन् तर हामी मधेशवादी दलभन्दा कठोर संघर्ष गरिरहेका छौैं भने उनीहरु सत्तास्वार्थमा रमाइरहेका छन् ।’ उनले मधेश विरोधमा विषवमन र गोली वर्षाएर दमन गर्ने तीन ठूला दल मधेशी विरोधी भएको दावी गर्दै झण्डै तीन महिना भइसक्दा पनि हालसम्म मानवीय सम्वेदनाको हिसाब दुःखसम्म प्रकट नगरेको उनले बताए ।
गणतान्त्रिकका अध्यक्ष यादवले विगतमा भएका सम्झौताहरु कार्यान्वयन तथा अन्तरिम संविधानमै उल्लेख गरिएको विषयवस्तुहरुलाई कार्यान्वयन गर्न माग गर्दा बेवास्ता गर्दैआएको बताए । ‘तीस जनाको सहादत हुँदा २२ बुँदे र २४ जनाको सहादत हुँदा ८ बुँदे सम्झौता भएको हो, वर्तमान आन्दोलनमा हालसम्म ४६ जना मारिँदा पनि राज्यपक्ष गम्भीर बन्न सकेको छैन’ उनले भने ‘यतिका मधेशीको ज्यान लिँदा पनि काँग्रेस, एमाले र एमाओवादीलाई पुगेको छ्रैन भने मधेशी जनताको धैर्यताको बाँध टुटेपछिको अवस्था खतरनाक हुनेछ ।’
मधेश र मधेशी जनताकालागि संघर्षरत दलहरु बीच कार्यगत एकता हुनुपर्नेमा जोड दिँदै त्यसकालागि आफूहरु बिना शर्त तयार रहेको विश्वास व्यक्त गरे । गत–विगतमा आफूहरुबाट समेत गल्ती त्रुटी भएको स्वीकार गर्दै त्यसलाई सच्याएर अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे । जारी आन्दोलनमा सशक्त भएर लाग्न समेत पूर्व सञ्चारमन्त्रीसमेत रहेका यादवले आममधेशी जनसमुदायसँग आग्रह गरे ।