राजविराज, २० कार्तिक । सप्तरी पाउने ग्याँस, पेट्रोल, डिजेलका साथै दैनिक उपभोग्य सामग्रीहरु काठमाण्डौ लैजान नदिने चेतावनी एक कार्यक्रमका सहभागीहरुले दिएका छन् ।
सुरक्षा निकायले शुक्रवार प्रमुख जिल्ला अधिकारी निवासमा आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रम सहभागीहरुले यस्तो चेतावनी दिएका हुन् । विगत ८५ दिनदेखि जारी निरन्तरको बन्दका कारण जिल्लाको जनजीवन कष्टकर बन्नपुगेको भन्दै सप्तरीको भाग खोसेर काठमाण्डौ जान नदिने अडान राख्दै त्यसको समुचित व्यवस्थापन गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
सवपक्षीय छफलमा ट्रक व्यसायी संघका अध्यक्ष जगदीश अर्यालले जिल्लाभएरै काठमाण्डौ स्कर्टिङ्गमा इनधनलगायत दैनिक उपभोग्य सामग्रीहरु पठाइने गरिएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिए । जिल्लामा रहेको चरम अभावलाई मध्यनजर गर्दै गत–विगतमा सप्तरीले पाउँदैआएको कोटा अनुसार व्यवस्थापन गर्न उनले माग गरे । यातायातव्यवसायी अर्यालले भने ‘हामीलाई त यही बस्नुछ, आन्दोलनमा हाम्रो पनि समर्थन छ, यहाँको भाग खोसेर हामी काठमाण्डौ जान्न दिन्नौ, आवश्यक परे हामी जिल्लाका गाडीहरु राजमार्गमा थन्काउन बाध्य हुन्छौं ।
सगरमाथा यातायात व्यवसायी संघका अध्यक्ष नुरुल होदा अन्सारीले सबैभन्दा बढी मार यातायातव्यवसायीका साथै त्यसमा काम गर्ने मजदुरहरु मार्कामा परेको भएपनि आन्दोलनप्रति आफूहरुको पूर्ण समर्थन रहेको बताए । राज्यले इन्धन वितरणमा विभेद गरिरहेको भन्दै उनले जिल्लाभरिका सम्पूर्ण बसहरु राजमार्गमै थन्क्याउनुको विकल्प नरहेको बताए ।
प्राध्यापक अमरकान्त झाले आन्दोलनको माग जायज रहेको भन्दै शान्तिपूर्ण रुपमा सशक्त बनाउनुपर्नेमा जोड दिँदै आन्दोलनकारी र सुरक्षा निकाय सम्वेदनशील बन्नुपर्ने बताए । नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले आमजनता पीडामा रहेको भन्दै आपूर्ति सहज बनाउन स्थानीय प्रशासनले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उठाइएका विषयहरुमा जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले जिल्लामा ग्याँस, पेट्रोल, डिजेल लगायत दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति सहज बनाउन प्रयासरत रहेको बताए । हाल प्राप्त भएको पेट्रोल र डिजेल किसानलाई खेती गर्नकालागि प्राथमिकताका साथ रेकर्ड राखेर प्रहरी समेतको रोहबरमा वितरण गर्ने व्यवस्था मिलाएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले राजविराजका साथै जिल्लाको विभिन्न स्थानमा चोरी तस्करीका घटनाहरु बढेको तथा प्रहरीले आवश्यक कार्वाहीका क्रममा कानूनी दायरामा ल्याउने काम गरिरहेको बताए । आफूहरु जनताको सुरक्षाका लागि गस्ती, पेट्रोलिङ्गका क्रममा खटिने टोलीहरुलाई आवश्यक सहयोग गरी अपराध नियन्त्रणमा सहयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दास, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमके माझी, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादव, मानवअधिकारकर्मी जङ्गबहादुर सिंह, आभासेतु सिंह, सञ्चारकर्मी भूपेन्द्र मण्डललगायतले आ–आफ्नो धारणा राखेका छन् । सर्वपक्षीय छलफलमा सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रमुख दमन थापासहित सुरक्षाअधिकारीहरुको सहभागिता रहेको थियो ।