• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

माले–मशाले र मण्डले गठबन्धन विखण्डनवादीः भण्डारी

माले–मशाले र मण्डले गठबन्धन विखण्डनवादीः भण्डारी

मधेशवादी शक्तिहरु बीच कार्यगत एकता आवश्यकः यादव

4
कार्यक्रममा बोल्दै रामसपाका अध्यक्ष शरतसिंह भण्डारी ।
3
कार्यक्रममा बोल्दै मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव ।

राजविराज, १९ कार्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले हाल देशमा देखिएको खोक्रो राष्ट्रवादले विखण्डवादको खतरा निम्त्याउने दावी गरेका छन् ।
मधेशी पत्रकार समाज सप्तरीद्वारा विहीवार राजविराजमा आयोजित जारी आन्दोलन र अबको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । भारत विरोधी नारा लगाएपछि ठूलो राष्ट्रवादी कहलाउने प्रवृती बढेको प्रष्ट्याउँदै प्रमुख अतिथि भण्डारी भने ‘राज्यले मधेशको मागलाई सम्बोधन गर्नुको साटो यतिबेला भारत विराधी नाराहरु गुञ्जिन थालेको छ उक्त खोक्रो राष्ट्रवादको नाराले विखण्डनवादलाई निम्तो दिईरहेको छ, यदी समयमै यसको सही समाधान खोजिएन भने यसपछिको दुष्परिणामको जिम्मेवार राज्यपक्षले लिनुपर्दछ ।
एमाओवादीले उठाएका कतिपय सवालहरु प्रशंसनीय रहे पनि वर्तमान एमाओवादी पनि सत्तामोहमा फँसेको प्रस्ट्याउँदै उनले भने ‘वर्तमान अवस्थामा बनेको माले–मशाले र मण्डले गठबन्धन विखण्डनवादी हो ।’ सिमानामा आन्दोलन केन्द्रित भएपछि भारतबाट ईन्धनलगायतका सामानहरु आउन नसकेको प्रष्ट पार्दै नेता भण्डारीले भारतले नाकाबन्दी नगरेको दावी गरे । ‘नेपाल सरकारले आफ्नै देशभित्रको समस्या समाधान गर्न गम्भीर छैन’ उनले भने ‘भारतलाई अनावश्यक रुपमा दोष दिन मिल्दैन, भारतले व्यापार पारवहन सन्धी कार्यान्वयन गरेको छ, यसमा प्रश्न उठाउने ठाउँ छैन ।’ मधेशी जन  तामाथि जारी रहेको उत्पीडनलाई सम्बोधन गर्नुको साटो राज्यले बेवास्ता गरिरहेको भन्दै यसलाई समयमै सम्बोधन नगरे विद्रोह निम्त्याउने निश्चित रहेको उनले बताए ।
मधेशमा ११६ सिटमध्ये १०४ सिट काग्रेस एमाले र एमाओवादीले नै जितेको प्रसङ्ग कोट्याउँदै नेता भण्डारीले मधेशवादी दलभन्दा ती दलहरु बढी जिम्मेवार हुनुपर्नेमा झन गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहेको बताए । अन्य पार्टीहरुभन्दा मधेशको विषयमा नेपाली काँग्रेसले स्पष्ट धारण राख्नुपर्नेमा जोड दिँदै उनले भने ‘काँग्रेस विपक्षमा रहेको अवस्थामा मधेशको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु जरुरी छ ।’
वर्तमान अवस्थामा सम्पूर्ण मधेशवादी शक्तिहरु बीच कार्यगत एकता हुनुपर्नेमा जोड दिँदै बिनाशर्त आफूहरु मोर्चाबन्दी गर्न तयार रहेको विश्वास व्यक्त गरे । छुट्टा–छुट्टै संघर्ष गर्नुभन्दा मोर्चावन्दी गरेर अगाडि बढनु आवश्यक रहेको प्रष्ट्याउँदै उनले भने ‘मोर्चाबन्दी गरेर आन्दोलन गर्न तयार रहे पनि कसले मोर्चाबन्दी गर्न चाहिरहेको छैन भन्ने कुराको समेत खोजी हुनु जरुरी छ ।
मधेशी जन अधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जारी आन्दोलन काँग्रेस, एमाले र एमाओवादीमा रहेको सामन्तवादी चरित्र विरुद्ध भएको प्रष्ट्याएका छन् । विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नका लागि आफूहरुले पटक पटक दवाब दिँदा पनि बेवास्ता गरेको बताउँदै उनले भने ‘तीस जनाको सहादत हुँदा २२ बुँदे र २४ जनाको सहादत हुँदा ८ बुँदे सम्झौता भएको हो, वर्तमान आन्दोलनमा हालसम्म ४६ जना मारिँदा पनि राज्यपक्ष गम्भीर बन्न सकेको छैन ।’
मधेशवादी शक्तिहरु बीच कार्यगत एकता हुनुपर्नेमा जोड दिँदै केही मधेशवादी दलका नेताहरुको अह्मले गर्दा मूर्त रुप लिन नसकेको उनले बताए । गत–विगतका कमीकमजोरीहरुलाई स्वीकार्दै म ठूलो त ठूलो भन्ने भावनालाई त्यागेर अगाडि बढ्नु जरुरी रहेको आवश्यकता औंल्याए ।
कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टी उपाध्यक्ष शेखर कुमार सिंह, फोरम गणतान्त्रिकका उपाध्यक्ष गङ्गाराम यादव, पूर्वराज्यमन्त्री शत्रुध्न प्रसाद कोइरी, रामसपाका केन्द्रिय प्रवक्ता केशव झा, सद्भवाना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र कुमार चौधरी, मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झा, राजनीतिकर्मी सत्यनारायण यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल सप्तरीका संयोजक जितेन्द्र खड्गा, समाजका सदस्य शैलेश कर्णलगायतले बिचार व्यक्त गरेका छन् । समाजका अध्यक्ष शैलेन्द्र कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सञ्जीव विक्रम साहले गरेका थिए ।