• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
उपलब्धि विहिन वार्ताः अनन्त आन्दोलन

राजविराज, १५ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच आइतवार भएको वार्ता समेत उपलब्धिविहीन भएको छ ।
मोर्चाले वार्तामा लिखित रुपमा सीमांकनसहित माग प्रस्तुत गरेका छन् । उक्त वार्तामा सरकारी वार्ता टोलीले सिमांकनको विषयमा भने स्पष्ट धारणा प्रस्तुत गर्न नसकेको सद्भावना पार्टीका महासचिव मनिस कुमार सुमनले जानकारी दिएका छन् । मोर्चाद्वारा प्रस्तुत गरिएको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने भएको भन्दै सरकारी वार्ता टोलीले अन्य दलहरुसँग समेतविचार–विमर्शका लागि थप समय मागेको छ ।
तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा भएको वार्तामा सरकारी टोलीले मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन गर्न आवश्यक गृहकार्यका लागि केही समय मागेको उनले बताए । यद्यपी अर्को वार्ता कहिले बस्ने भन्ने विषयमा सरकारी वार्ता टोली मौन रहेको जनाइएको छ ।
यता जारी मधेश आन्दोलन र वार्ताको विषयमा जनकपुरमा जारी रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक ७ बुँदे निर्ण गर्दै टुङ्गिएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसहित अन्य केन्द्रिय नेताहरुको सहभागितामा सम्पन्न उक्त बैठकले मधेशी, थारु, आदिवासी–जनजाति, दलित, मुस्लिम, पिछडावर्गलगायतको माग संवैधानिक रुपले सम्बोधन नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मधेशी मोर्चा र नेपाल सरकार बीचको वार्ता निष्कर्ष विहिन र औचित्यहिन बन्ने गरेको ठहर गर्दै राज्यपक्षलाई तत्काल गम्भीर बन्न ध्यानाकर्षण गराएको छ । सरकारसँग वार्ताका लागि अन्तिम पटकको वार्ताका लागि सरकारलाई समय दिने तथा उक्त वार्ता पनि निष्कर्ष विहिन भए आन्दोलनका थप सशक्त कार्यक्रमहरु अगाडि बढाउने निर्णय भएको जनाइएको छ ।
बन्द, हडताललगायतका सम्पूर्ण कार्यक्रमलाई निरन्तता दिँदै जनपरिचालनलाई अझ सशक्त बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आन्दोलनमा सहादतप्राप्त गरेका सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत मोर्चाले गरेको छ ।