राजविराज, १० कार्तिक । विगत अढाई महिनादेखि मधेशमा सशक्त शान्तिपूर्ण आन्दोलन गर्दैआएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा राष्ट्रपति निर्वाचन वहिष्कार गर्ने निष्कर्षमा पुगेको छ ।
राष्ट्रपति चयन गर्नका लागि बुधवार निर्वाचन हुन लागेको हो । प्रधानमन्त्री चयन गर्नका लागि भएको निर्वाचनमा मोर्चा सहभागी भएपछि मधेशमा नेताहरुको व्यापक आलोचना खेप्नुपरेको थियो । उक्त निर्वाचनमा प्रधानमन्त्रीका लागि सुशील कोइरालालाई मोर्चा सम्ववद्ध सांसदहरुले मतदान गरेका थिए । यस्तै विजय कुमार गच्छदार नेतृत्वको मोर्चाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गरेका थिए । ओली प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि गच्छदार सरकारमा सहभागी भइसकेका छन् ।
सिङ्गो मधेश आन्दोलित रहेको अवस्थामा मोर्चाले प्रधानमन्त्री निर्वाचनमा सहभागी ठूलो गल्ती गरेकोले यस्तो गल्ती दोहो¥याउन नमिल्ने सद्भावना पार्टीका महासचिव मनिस कुमार सुमनले जानकारी दिए । विगतमा मोर्चाले गरेको गल्तीका कारण आन्दोलनरत मधेशी जनताको भावनामा चोट पुर्याएको ठहर गर्दै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागी हुनुको औैचित्य नरहेको बताए ।
गृह जिल्ला सप्तरीमा रहेका महासचिव सुमनले मधेशको माग पुरा नभएसम्म कुनै पनि प्रक्रियामा सहभागी नहुने प्रष्ट पार्दै भने ‘अढाइ महिनाको शान्तिपूर्ण आन्दोलनमा चार दर्जन मधेशी सपूतले बलिदानी दिएको छ, सयौं योद्धाहरु गोली खाएर पीडाले छटपटाइरहेका छन, अवस्थामा वर्तमान राज्यसत्ताको कुनै पनि प्रक्रियामा हामीहरु सहभागी हुँदैनौं । आन्दोलनलाई थप सशक्त बनाउनमा व्यस्त रहेका उनले यस अघि नै प्रधानमन्त्रीको निर्वाचनमा मोर्चा सहभागी भएकोमा विरोध जनाउँदै मोर्चाले ठूलो गल्ती गरेको स्वीकार गरिसकेका छन् ।
यस अघि चयन भएको सभामुख तथा उपसभामुख चयन प्रक्रियामा पनि मोर्चा सहभागिता जनाएको थिएन । सरकार वार्ता टोली र मधेसी मोर्चा बीच पटक–पटक वार्ताहरु भए पनि निष्कर्ष विहिन बन्दैआएको छ । मधेशी मोर्चाले सिमाङ्कन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, हरेक निकायमा समानुपातिक प्रतिनिधित्व लगायतका मुद्दाहरुलाई प्राथमिकताकाका अघि सारेका छन् ।