• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आन्दोलनलाई नजरअन्दाज गरे फरक धार लिनसक्छः थर्ड एलायन्स

आन्दोलनलाई नजरअन्दाज गरे फरक धार लिनसक्छः थर्ड एलायन्स

राजविराज, २८ असोज । तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले राज्यले मधेश आन्दोलनलाई नजरअन्दाज गरे मधेस आन्दोलनले फरक धार लिन सक्ने आशंका व्यक्त गरेका छन् ।
मानवअधिकार रक्षकहरु परिचालन गरेर तराईमा मानवअधिकारको अवस्थाबारे प्रतिवेदनले यस्तो आशंका व्यक्त गर्दै राज्यपक्षको ध्यानाकर्षण गराएको हो । अबको आन्दोलन राजनीतिक दल तथा नेताको पक्कडभन्दा बाहिर जान सक्ने संभावना रहेको ठहर मधेस आन्दोलनले उठाएका जायज मागहरुलाई राजनीतिक संवादको माध्यमबाट संविधान संशोधन गरी यथासिघ्र सम्बोधन गर्न राज्यपक्षलाई सुझmाएका छन् ।
पर्साको गाविस पाकाहा मैनपुर निवासी ३२ बर्षीय शत्रुधन पटेलको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको जनाइएको छ । नयाँ संविधान जारी गर्ने दिन संविधानमा विमति राख्दै संयुक्त मधेसी मोर्चाले गरेको प्रर्दशनको क्रममा पर्साको विरगञ्जमा प्रहरीले जथाभावी गोली प्रहार गरेको एलायन्सले जनाएको छ । प्रदर्शनको क्रममा १६ जना आन्दोलनकारी घाइते भएको तथा प्रदर्शनकारीको ढुङ्गा लागेर एकजना प्रहरीसमेत घाइते भएको छ । उक्त आन्दोलनमा राज्यपक्षबाट आवश्यकता भन्दा बढी बल प्रयोग गरेको एलायन्सले ठहर गरेको छ ।
संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा लिएको भनेर स्थानीयहरुको प्रतिक्रिया आएको तथा घरमा विरोधस्वरुप कालो झण्डासमेत गाडिएको प्रतिवेदनमा उल्लेख छ । अनुगमनको क्रममा मधेसका सबै जिल्लामा मधेसी तथा थारु बाहुल्य भएको स्थानहरुमा नयाँ संविधानको प्रतिलिपि जलाइएको एलायन्सले जनाएको छ । आन्दोलनलाई निरन्तरता दिदै आन्दोलनकारीले पछि नेपाल भारत नाका पनि बन्द गर्ने काम गरेको तथा  प्रहरी र प्रदर्शनकारी बिच झडपसमेत भइरह्यो– प्रतिवेदनमा अगाडि भनिएको छ– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १ बेलहीस्थित नेपाल भारतको नाका स्थित इलाका प्रहरी कार्यालय बेलहयिा अगाडी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पूर्व निधारित कार्यक्रमअनुसार असोज १८ गते शान्तिपूर्ण तरिकाले धर्ना दिन खोज्दा प्रहरी नायब उपरिक्षकसहित ५÷७ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुले पूर्व रक्षा राज्यमन्त्री राम बच्चन यादवलाई पक्राउ गर्ने प्रयास गरे ।  सोही क्रममा सिद्धार्थनगर नगरपालिका– ४ का ४४ बर्षीय रामु अहिर यादव, नवलपरासीका ४२ बर्षीय रमेश यादव, रुपन्देही गाविस मजगवाका ४८ बर्षीय शिवदास यादवले निजलाई बचाउन खोजेपछि तीन जनालाई नै पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलहियाको प्रहरी सुत्ने ब्यारेक लगिएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की, प्रहरी नायब निरीक्षक राम बहादुर बाँनिया लगायत १४–१५ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुखमा कालो पट्टी बाँधेरे अपशब्द प्रयोग गर्दै लात्तीले समेत हानेको जनाइएको छ । सोही क्रममा २०७२ असोज १८ गते मोरङ्ग जिल्ला जोगवनीका २९ बर्षीय श्रवण मण्डललाई मोरङ्ग प्रहरीले पट्रोल बम बनाएको  आरोपमा पक्राउ गरी कुटपिट गरेको तथा सोही आरोपमा इटहरीका २८ बर्षीय शम्भु साहलाई पक्राउ गरेको प्र्रतिवेदनमा उल्लेख छ ।
आन्दोलनकारीहरुले तराईका धनुषा, सिरहा, महोत्तरी, सप्तरी, सर्लाही, बारा र पर्सा लगायतका जिल्लाहरुमा नवनिवार्चित प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउँदै ओली मधेश बिरोधी भएको भनी नाराबाजी गरेको जनाइएको छ । असोज २४ गते वीरगञ्जमा गाउँ गाउँबाट मानिसहरु घरेलु हतियार बोकेर आएका उनीहरुले केपी ओली र मोर्चाको नेताहरु विरुद्ध नाराबाजी गरेका थिए । सो प्रदर्शनमा पेशागत संगठनहरुको समेत आवद्धता पाइएको एलायन्सको प्रतिवेदनमा जनाइएको छ ।