• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आज आश्विन शुक्ल तृतीयाः माता चन्द्रघण्टाको पूजा गरिँदै

राजविराज, २८ असोज । बडा दशैंको तेस्रो दिन विहीवार (आज) देशैभरी घरघरमा तथा देवी मन्दिरहरुमा माता चन्द्रघण्टा देवीको पूजा–आजा गरिंदैछ ।
बडा दशैंको तेस्रो दिन आश्विनशुक्ल तृतीया तिथिमा देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।
चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुंदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ । चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा देवीको यो स्वरुपलाई माता चन्द्रघण्टा भनिन्छ । चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङ्गको रहेको शास्त्रहरुमा उल्लेख छ । बाघमाथि चढेकी उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको ग्रन्थमा उल्लेख छ ।
बडा दशैंको अवसरमा सप्तरीको सखडेश्वरी शक्तिपीठ, कंकालिनी भगवति, राजदेवी, योगिनीमाइ लगायतका देवी मन्दिरहरुमा पूजा–आजा भइरहेको छ । यसैगरी सिरहाको बालासुन्दरी, राजदेवी, जनकपुरको राजदेवी, बाराको गढीमाई, पर्साको गहवामाई, काठमाण्डौको दक्षिणकाली, गुहेश्वरी, धरानको दन्तकाली लगायतका देवी मन्दिरहरुमा श्रद्धालुभक्तजनहरुले पूजा–आजा गरिरहेको जनाइएको छ ।