• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वरिष्ठ पत्रकार मण्डलमाथि सांघातिक आक्रमण, सञ्जाल र संघद्वारा दोषीलाई कार्वाही गर्न माग

वरिष्ठ पत्रकार मण्डलमाथि सांघातिक आक्रमण, सञ्जाल र संघद्वारा दोषीलाई कार्वाही गर्न माग

राजविराज, २७ असोज । आफ्नो निजी पर्खाल नभत्काउन आग्रह गर्दा बुधवार विहान सप्तरीका वरिष्ठ पत्रकार एवम् अधिवक्ता  विष्णुकुमार मण्डल छिमेकीबाट कुटिएका छन् ।
निजी पर्खाल नभत्काउन आग्रह गर्दा राजविराज–४ का यशवन्त सिंह र सबिता सिंहले उनलाई कुटपीट गरी घाइते बनाएका हुन् । सिंह दम्पतीले अपशब्द प्रयोग गर्दै ईटाको टुक्रा तथा हथौडाले हिकाउँदा पत्रकार मण्डलको टाउँको, खुट्टा तथा शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको छ । कुटपीटबाट घाइते भएका मण्डल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराएर घर फर्केका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति समेत रहेका मण्डलले पर्खाल तोड्ने क्रममा तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली आए पनि पर्खाल तोड्ने कार्यलाई नरोकेको बताए । घटनाको विषयमा सप्तरीका प्रहरी उपरीक्षक भीम ढकाललाई समेत जानकारी गराएको उनले बताए । पत्रकार मण्डलले नम्बरी जग्गामा नै नक्सा पास गरी बनाएको पर्खाल सिंहकी पत्नीले कामदार लगाएर आफ्नो हो भन्दै भत्काउन लगाएका थिए । आफ्नो निजी जग्गामा रहेको पर्खाल नभत्काउन आग्रह गर्दा गालीगलौज गर्दै आफूमाथि आक्रमण गरेको पत्रकार मण्डलले जानकारी दिए ।
सिंहको घर नक्सा पास समेत नरहेको तथा निर्माण रोक्का गर्न समेत राजविराज नगरपालिकाले पत्राचार गर्दा पनि उनीहरुले अँटेर गर्दैआएका छन् । नगरपालिकाको आदेश विपरित सिंह दम्पतिले छत ढलान समेत गरेका छन् । मधेशका मसिहा गजेन्द्रनारायण सिंहको क्रान्ति भवन तथा समाधिस्थलसम्म जान सहज बाटो हुनुपर्नेमा उनीहरुले बाटो समेत रोकी पुनरावेदन अदालत राजविराजको आदेश समेत उनीहरुले कार्यान्वयन नगरेको स्थानीयवासिन्दाहरुले गुनासो गरेका छन् ।
यसैबीच राष्ट्रिय मिडिया पत्रकार सञ्जालका संयोजक जितेन्द्र खड्गाले पत्रकार मण्डलमाथि सांघातिक आक्रमण गर्ने दोषीहरुमाथि कडा कार्वाही गर्न माग गरेका छन् । यसैगरी मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले समेत घटनाको भत्र्सना गर्दै दोषीलाई कानून अनुसार कार्वाही गर्न माग गरेका छन् ।