• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा एकसाथ घन्कियो ‘जय हिन्द’ र ‘जय मधेश’को नारा

राजविराजमा एकसाथ घन्कियो ‘जय हिन्द’ र ‘जय मधेश’को नारा

राजविराज, २३ असोज । मित्रराष्ट भारत विरोधी गतिविधि तथा टिप्पणीहरु भइरहँदा शनिवार राजविराजमा नेपाल–भारत मैत्री संघले जुलुस प्रदर्शन गरेको छ ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जलुसमा सहभागीहरुले ‘नेपाल–भारत मैत्री सम्वन्ध कायम गरौ, जय हिन्द जय मधेश’ भन्ने नारा लगाउँदै नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात आयोजित सभाका सहभागीहरुले आन्दोलनकारीहरुद्वारा नाका घेराउपछि नाका अवरुद्ध भएकोमा भारतले नाकाबन्दी गरेको भनी गलत प्रचारबाजी भइरहेको भन्दै यस्ता कार्य नगर्न आग्रह गरे । मित्रराष्ट्र भारतसँग सदियौंदेखि बेटीरोटीको सम्बन्धको यथार्थतालाई बिर्सेर यसलाई खलबलाउने कार्य तत्काल रोक्न उनीहरुले माग गरे ।

नेपाल–भारत मैत्री संघका केन्द्रीय सदस्य शैलेन्द्रमोहन झाले नेपाल र भारतको बीच साँस्कृतिक, धार्मिक र सामाजिक सम्वन्ध रहेकोले यसलाई अझ सुदृढ बनाउन सबै पक्षले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने ‘नेपाल भारतको मैत्री एक–अर्काको परिपुरक रहेको यथार्थलाई सबैले स्वीकार्नु आवश्यक छ ।

सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश कुमार यादवले भारतलाई कुनै पनि बहानामा भारतको विरोध गर्न नमिल्ने भन्दै सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा जोड दिए । नेपालका लागि हरेक दृष्टिकोणले अन्य छिमेकी राष्ट्रहरुभन्दा फलदायी हुने बताउँदै उनले भने ‘मधेशको समस्या समाधान भए स्वतः नाका सुचारु हुनेछ, आन्दोलनको माग सम्वोधन नगरी मित्रराष्ट्र भारतलाई गाली गर्नु सर्वथा अनुचित कार्य हो ।

तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य साधना झाले अनावश्यक रुपमा देशका विभिन्न स्थानहरुमा भएको भारत विरोधी गतिविधिले गर्दा भारतलाई चिढ्याउने काम भइरहेकोले सम्वध सुमधुर बनाउनुपर्नेमा जोड दिईन् । मधेश लामो समयदेखि आन्दोलित रहँदा सुनुवाई हुन नसकेकोमा आक्रोश व्यक्त गर्दै उनले भनिन् ‘राज्यले मधेश आन्दोलनलाई उपेक्षा गरेकै कारण यस्तो अवस्था सिर्जना भएकोले राज्यपक्ष गम्मीर बन्नु जरुरी छ ।

सभामा नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष मनोज मुन्धडा, मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीकी केन्द्रीय सदस्य साबित्री पंडित, राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका उपाध्यक्ष सतिश कुमार सिंह, नेकपा–माओवादीका रामगमन साह, मनोज मेहतर, संघीय समाजवादी फोरमका विशाल यादव, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, नगर अध्यक्ष अमरकान्त झा, रामचरित्र यादव, लगायतका वक्ताहरुले सम्बोधन गरेका छन् ।