• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, २३ असोज । नेकपा माओवादीका केन्द्रीय संयोजक मातृका प्रसाद यादवले नेपालका तीन ठूला दलले मधेशी जनतालाई अझैं गुलाम बनाएर राख्न खोजेको भन्दै त्यस विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।

मधेशी जन आन्दोलन समितिद्वारा सप्तरीको पातो बजारमा शनिवार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशमाथि २ सय ५० वर्षदेखि शोषण, दमन एवम् विभेद हुँदैआएको प्रष्ट पार्दै उनले भने ‘तीन ठूला दल मधेशी जनतालाई अझैं गुलाम बनाएर राख्न खोजेकोले त्यस विरुद्ध सशक्त आन्दोलनको विकल्प छैन ।

गोरखाली शासकको औपनिवेशिक शासनको समूल नष्ट गर्नका लागि सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिँदै प्रमुख अतिथि यादवले मधेशमा जारी शान्तिपूर्ण आन्दोलनको आवाजलाई सम्बोधन गर्नुको साटो बन्दुकको बलमा दबाउन खोजिएको बताए । ‘मधेश प्रदेश सहज रुपमा नदिए अब मधेश देशको लागि आन्दोलन हुनु जरुरी छ’ उनले भने ‘हामी मधेशी आफ्नो अस्तित्वकालागि अब सशक्त संघर्ष गर्नुको विकल्प छैन ।’

वरिष्ठ राजनितिज्ञ खुशीलाल मण्डलले मधेशी जनतामाथि नेपालका ठूला दलहरुले पटक–पटक धोका दिएको प्रसङ्ग उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनलाई सशक्त बनाएर राज्यपक्षलाई झुकाउन बाध्य पार्ने बताए । मधेश आन्दोलित भएको ५७ औं दिन पुरा भइसक्दा पनि माग सम्बोधन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको प्रष्ट पार्दै उनले भने ‘मधेशको माग सम्वोधन नगरी अहिले देशका विभिन्न भागमा मधेश विरोधी गतिविधिहरु भइरहेको छ, यस्ता गतिविधीले कसैको हित गर्दैन ।

नेपाल सद्भावना पाटी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले नेपालका खस शासकहरुले मधेशी जनताले गरिरहेको आन्दोलनको मागलाई बेवास्ता गर्दैआएकोले सशक्त शान्तिपूर्ण आन्दोलन गरेर घुँडा टेकाउने बताए । विगतमा भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले निर्णायक आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका कोषाध्यक्ष भरत साह, नेकपा माओवादीका केन्द्रीय सदस्यद्वय जगत यादव, महेश यादव, फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य भागवत मण्डल, जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेकपा माओवादीका भुलाई राम, भिखारीलगायतका वक्ताहरुले सम्बोधन गरेका छन् ।