राजविराज, १९ असोज ।
अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय संयोजक जयकृष्ण गोइतले मधेश प्रदेश दिएपनि मधेशी जनताले मुक्ति नपाउने भन्दै स्वतन्त्र तराई (मधेश)का लागि निर्णायक लडाई लड्नुपर्ने बताएका छन् ।
न्यूज टुडेसँग मङ्गलवार कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेश प्रदेशको माग राखेर जारी शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षले माग सम्बोधन गर्नुको साटो हिंसक भएर प्रस्तुत भएको दावी गर्दै उनले भने ‘मधेश प्रदेशको माग राखेर जारी रहेको आन्दोलनमा राज्यपक्षले हिंसक रुपमा प्रस्तुत भएको छ, प्रदेश दिए पनि यसले मधेशी जनताको मुक्ति हुँदैन, स्वतन्त्र तराई(मधेश)को लडाई लड्नु आवश्यक छ । अन्तर्राष्ट्रिय कानूनलाई समेत राज्यपक्षले खिल्ली उडाउँदै निहत्था मधेशी जनतामाथि निर्ममतापूर्वक टाउँको र छातीमा गोली चलाउने गरेको चर्चा गर्दै संयोजक गोइतले अब बर्दास्त गर्नुपर्ने अवस्था नरहेको बताए ।
भारतमा महात्मा गाँधीले ब्रिटिससँग शान्तिपूर्ण आन्दोलन गरेको चर्चा गर्दै नेपाल सरकारको जस्तो हिंसक त्यतिबेलाको ब्रिटिश सरकार पनि नभएको उनले प्रष्ट्याए । ‘आन्दोलनको स्वरुप कस्तो हुने हो ? यसको माग निर्धारण राज्यको शैली र व्यवहारमा निर्भर गर्दछ;’ मोर्चाका संयोजक गोइतले भने ‘मधेशी जनता अब सचेत भइसकेको छ, जनताले बन्दुकको जवाफ पनि दिन जानेको छ ।’ शान्तिपूर्ण आन्दोलन नियन्त्रणभन्दा बाहिर गइसकेपछि ढाडभन्दा तलमात्र गोली हान्ने अन्तराष्ट्रिय नियम रहे पनि शान्तिपूर्ण आन्दोलनमा टाउँको र छातीमा निशाना बनाइएको छ ।
आफूहरुले २०६१ साल साउन १० गते माओवादीबाट विद्रोह गरेर सशस्त्र क्रान्तिमा होमिएको चर्चा गर्दै संयोजक गोइतले संगठनमा आएको उतार–चढावका कारण अपेक्षाकृत संगठित हुन नसकेको स्वीकार्दै भने ‘१८५७ मा भारतमा शुरु भएको आजादी आन्दोलनले मूर्त रुप पाउन ९० वर्ष लाग्यो त्यसैले यो आन्दोलनलाई कुनै पनि शक्तिले रोक्न सक्दैन । आफूले जीवनको सारा उर्जा राजनितीमै खपत गरेको प्रष्ट्याउँदै भावी सन्ततीको सुनिश्चित भविष्यको परिकल्पना गर्दै आन्दोलनलाई निरन्तरता दिएको उनले प्रष्ट्याए ।
मधेशी जनताको शालिनतापूर्ण आवाजलाई पहाडी शासकवर्गले स्वीकार गर्न नचाहेको बताउँदै संयोजक गोइतले भने ‘पश्चिमका थारुहरुलाई दास, कम्लरी, कमैया बनाएर हदैसम्मको शोषण गरेको छ, अहिले पनि दास बनाएर राख्न खोजिरहेका छन् ।’ मधेशको आफ्नै इतिहास र पहिचान रहेको बताउँदै ऐतिहासिकताको प्रमाण अवधी भाषामा लेखिएको रामायण, प्राचीन मिथिलाको राजधानी जनकपुर, राजा जनक, राजा विराट, जानकी आदि भएको बताए ।
नेपालका प्रमुख तीन दलका नेताहरुले मधेशी जनतालाई खेताला जस्तै व्यवहार गरिरहेको भन्दै ती पार्टीहरुमाथि भरोसा नगर्न उनले आममधेशी जनतासँग आग्रह गरे । मधेशी जनतामाथि गोली चलाएर संविधान जारी गरेको प्रसङ्ग उल्लेख गर्दै संयोजक गोइतले भने ‘चारवर्षका बालक चन्दन पटेल र १४ वर्षकी बालिका रामशिला मण्डलसम्मलाई समेत गोलीको सिकार बनाइयो, मधेशका साँसद्हरुसँग आग्रह छ एकपटक पटेल र मण्डल परिवार भएर सोचिदिनुस् । राज्यपक्षले मधेशलाई युद्ध मैदानमा परिणत गरेको बताउँदै आफूहरुले त्यसको बदला लिएरै छाड्ने उनले चेतावनी दिए ।
पटक–पटक बलिदानी दिनुभन्दा स्वतन्त्र तराई (मधेश)का लागि अन्तिम लड्न आफूहरु प्रतिवद्ध रहेको भन्दै संयोजक गोइतले भने ‘तराई(मधेश) मूल निवासीहरुसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि एक मुठी चामल दिएर सहयोग गर्नुस्, आजादी हामी दिन्छांै । सिधासाधा जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसता तत्वहरुबाट सजग रहन उनले आग्रह गरे । तपाईहरु त विखण्डन कुरा गर्नुहुन्छ, यो सम्भव छ ? भन्ने जिज्ञासामा उनले भने ‘टिष्टादेखि सतलज नदीसम्मको ग्रेटर नेपालको कुरा उठाउँदा हुने तर हामीले स्वतन्त्र तराई (मधेश)को कुरा गर्दा बिखण्डनवादी हुने ?
आफूले जतिबेला पनि संयुक्त राष्ट्रसंघको रोहबरमा बस्न तयार रहेको प्रष्ट पार्दै संयोजक गोइतले ब्रिटिश इष्ट इण्डिया कम्पनी र नेपालबीच ३१ जुलाइ १९५० मा भएको सन्धीको धारा ८ अनुसार तराईमाथि नेपालको शासन गर्ने अधिकार नरहेको उनले प्रष्ट्याए । उनले भने ‘तराई(मधेश) स्वतन्त्र छ, प्रमाणसहित म बहस गर्न तयार छु, कसैले मेरा तर्कलाई गलत साबित गरिदियो भने म राजनीतिबाट सदाकालागि सन्यास लिन तयार छु ।