• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा हालसम्म ११ सुरक्षाकर्मी र ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

४ प्रहरी र २ स्वास्थ्यकर्मी उपचारपछि डिस्चार्ज
सप्तरीमा हालसम्म ११ सुरक्षाकर्मी र ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

राजविराज, २० साउन । सप्तरीमा हालसम्म ११ जना सुरक्षाकर्मी र ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये केहि उपचारपछि डिस्चार्ज भएका छन् भने केहिलाई आईसोलेसनमा राखिएको छ ।

सुरक्षाकर्मीतर्फ क्षेत्रिय प्रहरी तालिम केन्द्र प्रदेश नं। २, सम्पर्क कार्यालय राजविराजका ६ जना र जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गतको विभिन्न युटिमा कार्यरत प्रहरी ५ जना छन् । तालिम केन्द्रका ३७, ३८, २६, २८, २० र २८ वर्षिय पुरुष प्रहरीलाई संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्थायी ठेगाना खुलेको छैन । उच्च अदालतमा स्वाव कलेक्सन गरिएका १०९ जनाको सोमवार आएको रिपोर्ट मध्ये अन्य एक सहित ६ जना प्रहरीको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय अन्तर्गतको इलाका प्रहरी कार्यालय वोदेवरसाईनमा कार्यरत ३७ र २२ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय कडरवोनामा कार्यरत २९ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय हनुमानगरमा कार्यरत ३३ वर्षिय पुरुष र वडा प्रहरी कार्यालय राजविराजमा कार्यरत ३२ वर्षिय पुरुष प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु मध्ये इलाका प्रहरी कार्यालय वोदेवरसाईनका ३७ र २२ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय कडरवोनाका २९ वर्षिय पुरुष र इलाका प्रहरी कार्यालय हनुमाननगरका ३३ वर्षिय पुरुष प्रहरी उपचारपछि डिस्चार्ज भईसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरु तर्फ गजेन्द्रनारायण सिंह अस्पतालका ५, वोदेवरसाईन नगरपालिकाका २ र हनुमाननगर कंकालिनी नगरपालिकाका अन्तर्गतका एक जना छन् ।

अस्पतालतर्फ ३ जना पारामेडिक्स, १ जना नर्सिङ्ग स्टाफ र १ जना स्विरलाई कोरोना संक्रमण पुष्टि भईसकेको भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले वताए। यस्तै, वोदेवरसाईन स्वास्थ्य चौकीका सिअहेव र नगरपालिका अन्तर्गत स्वास्थ्य क्षेत्रका कार्यालय सहयोगीलाई पनि कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि डिस्चार्ज भईसकेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक वैजनाथ साहले जानकारी दिए ।

यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गतका एक जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै सोमवार साझसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ३१ छ । यसैगरी, आईसोलेसनमा भर्ना हुनेको संख्या ४७ महिलासहित ४७९ छ। २८ महिलासहित ३४० जना डिस्चार्ज भएका छन् । आईसोलेसनमा १९ महिलासहित १३९ जना छन् ।