Top_Header_Right_Add

कोशी ब्यारेजमा निरन्तर बढ्दै पानीको बहाव, सप्तरी र सुनसरीका केही बस्ती एलर्टमा, गोबरगाढामा एक फिट पानी

कोशी ब्यारेजमा निरन्तर बढ्दै पानीको बहाव, सप्तरी र सुनसरीका केही बस्ती एलर्टमा, गोबरगाढामा एक फिट पानी

राजविराज, २६ असार । पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भईरहेसँगै सप्तकोशी व्यारेजमा पानीको बहाव बढ्दैगएपछि सप्तरी र सुनसरी जिल्लाका केही वस्तीहरुलाई एलर्ट गरिएको छ ।
पूर्वानुमान महाशाखाले तमोर नदी मूलघाट, धनकुट्टामा जलसतहले सतर्कता पार गरेको र बढ्ने क्रममा रहेको, कोशी नदी चतरामा सतर्कता नजिक रहेको र सतर्कता पार गर्नसक्ने भएको भन्दै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा रातीसम्म उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । विहानैदेखि कोशी व्यारेजमा पानीको बहाव थपघट हुने क्रममा रहेको र हालसम्म खतरामुक्त रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकृत आनन्द ठाकुरले जानकारी दिएका छन् ।
उनका अनुसार कुल ५६ ढोकाहरुमध्ये ३६ ओटा ढोका खोलिएको छ । पानीको बहाव २ लाख ४९ हजार एक सय १० रहेको छ । जिल्लाको गोबरगाढा बस्ती हाल उच्च जोखिममा रहेको तथा आवश्यक सुरक्षा सतर्कता बढाईएको छ । उक्त वस्तीमा शुक्रवार साँझसम्म करिब एक फिट पानी पसेको सूचना अधिकारी ठाकुरले बताएका छन् । उनका अनुसार उनीहरुलाई बस्तीबाट सर्न आग्रह गरिएकोमा अवस्था सामान्य रहेको भन्दै सर्न नमानेकोले त्यही बसिरहेका छन् ।
यता प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुनसक्ने जोखिम न्युनिकरणकोलागि तीनै तहका सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्युनिकरणकालागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । जोखिम न्युनिकरणकोलागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिएका छन् ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer