• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पार्टीको साधारण सदस्य र सांसद पदबाट सरिता गिरी बर्खास्त

पार्टीको साधारण सदस्य र सांसद पदबाट सरिता गिरी बर्खास्त

राजविराज, २३ असार । समानुपातिक प्रतिनीधि सभा सदस्य सरिता गिरीलाई समाजवादी पार्टी नेपालले साधारण सदस्य समेतबाट निष्काशन गरेको छ ।
पार्टीको मङ्गलबार सम्पन्न बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्य समेतबाट हटाउने निर्णय गरेको हो । उनलाई सांसद पदबाट समेतबाट हटाएको विषयमा निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराउने निर्णय भएको पार्टी श्रोतले जनाएको छ ।
नेपालको नयाँ नक्सा तथा निशान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि सांसद गिरीले विधेयक फिर्ताको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी थिईन् । उनले संविधान संशोधनको मतदान बैठक समेत वहिष्कार गरेर बैठकबाट बाहिरिएकी थिईन् ।
यता सांसद पद र पार्टीको साधारण सदस्य समेतबाट निष्काशन गर्ने निर्णयको उनले कडा रुपमा विरोध गरेकी छिन् । आफुमाथि अन्याय भएको भन्दै गिरीले न्यायकालागि अदालत जाने प्रतिक्रिया दिएकी छिन् । पार्टीले सांसद समेतबाट हटाउन नमिल्ने भन्दै संसदबाट मात्रै कार्वाही हुने प्रावधान रहेको उनको तर्क छ । समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी बिच एकीकरण समेत भईसकेको अवस्थामा समाजवादी पार्टीको निर्णय गलत रहेको गिरीले सञ्चारमाध्यमहरुमा प्रतिक्रिया दिएकी छिन् ।