बोधराज सुवेदी
महुली, १८ असार । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको वडा नम्वर– ६ स्थित रतवला महुुलीमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।
अस्पताल निर्माणस्थलमा विहिवार आयोजित एक समारोहका बिच गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडा नम्वर– ६ की अध्यक्ष कुसुम आचार्य र जग्गादाताहरुले उक्त अस्पताल भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । वडा नम्बर ६ को राष्ट्रिय माध्यमिक विद्यालय रतवलादेखि पूर्व र पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई सय मिटर उत्तरतर्फ निर्माण हुने उक्त अस्पतालको कुल लागत पाँच करोडको रहेको वडा नम्वर– ६ की अध्यक्ष कुसुम आचार्यले जानकारी दिइन् ।
वडावासीहरुको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने उदेश्यले वडा नम्वर–६ को पहलमा प्रदेश सरकारको योजना अन्तरगत उक्त अस्पतालको निर्माण हुन लागेको अध्यक्ष सापकोटाले बताइन् । करिव सात कट्ठा क्षेत्रफलमा निर्माण हुने उक्त अस्पतालकोलागि स्थानिय हेमनाराण चौधरीले चार कट्ठा, देवकान्त चौधरीले एक कट्ठा दश धुर तथा सुरतलाल चौधरी र सवुरलाल चौधरीले क्रमशः दश–दश धुर जग्गा दान गरेको अस्पतालकी संयोजक समेत रहेकी वडा अध्यक्ष सापकोटाले जानकारी दिइन् । उक्त अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले आरम्भमा १५ शैयाको भए पनि उक्त अस्पताललाई आगामी वर्षदेखि स्तरोन्नती गर्दै भौतिक लगायत सवै क्षेत्रमा प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको वताए ।