• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

सलह कीराबाट सजग रहन कृषिमन्त्री साहको आग्रह

सलह कीराबाट सजग रहन कृषिमन्त्री साहको आग्रह

राजविराज, १४ असार । सलह कीरा भारतसँग सिमा जोडिएका केही जिल्लाहरुमा प्रवेश गर्नसक्ने सम्भावना रहेको भन्दै सजग रहन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले किसानहरुलाई आग्रह गरेका छन् ।
बालीनाली र रुखविरुवा भएका क्षेत्रबाट धपाएर चरण क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने भन्दै कीरा धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कन उनले किसानहरुलाई सजग गराएका हुन् । मन्त्री साहले शनिवार अबेर राती एक प्रेस विज्ञप्ति जारी गर्दै हावाको गति र दिशामा आएको परिवर्तनसँगै सलह कीरा शनिबार बिहानयता नेपाल प्रवेश गरेको जनाएका छन् ।
प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार भारतीय सीमासँग जोडिएका प्रदेश २ का सर्लाही, बारा र पर्सा जिल्लामा शंकास्पद कीराको प्रवेश भएकोबारे सूचना प्राप्त भएलगत्तै विज्ञहरूले ती कीरा सलह (डिजर्ट लो कस्ट) रहेको पुष्टि गरेका छन् । रुखसहित अन्नबालीमा क्षति पु¥याउने सलह कीरा नेपाल प्रवेश गर्न सक्ने सम्भावना र अनुमानका आधारमा संघीय कृषि मन्त्रालयसमेतले यसको नियन्त्रणका लागि सह–सचिवको नेतृत्वमा समिति गठन गरी कार्ययोजना नै बनाइसकेको जनाईएको छ ।
प्रदेश २ सरकारले समेत केही समयअघिदेखि नै संघीय कृषि मन्त्रालय र स्थानीय निकायहरूसँग निरन्तर सम्पर्क र संवाद स्थापित गरी सलह कीराको अवश्यम्भावी संकट निरूपणका उपायहरूबारे परामर्श गरिरहेको भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवाला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निकाय र विज्ञहरूका सुझावका आधारमा सलह कीरा नियन्त्रणका लागि कार्ययोजना बनाएको जानकारी गराउन चाहन्छु ।’ सलह कीराको नेपाल प्रवेश भएको सूचना प्राप्त हुनासाथ कीराको उपस्थिति देखिएको क्षेत्रमा प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकहरू सहितको टोली स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानहरूसँग अन्तक्र्रिया गरेको जनाईएको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह कीरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता सचिव नेतृत्वको मन्त्रालयको टोलीले दिएको छ । हावाको दिशा अहिले दक्षिणबाट उत्तरतर्फ भएकाले सलह कीराकोे नेपाल प्रवेश भएको देखिएको छ ।
प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार शनिबार बिहान ८ बजे प्रवेश गरेको भनिएको यो कीराको उपस्थिति साँझमा समेत देखिएको जानकारी प्राप्त भएको छ । अहिले कीराको संख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको र प्रदेश २ मा मनसुन सुरु भइसकेकोले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको छ । मरुभूमि क्षेत्रमा यसको प्रकोप बढी हुने हुँदा नेपालमा भने यसको वृद्धि त्यतिसारो नहुने विज्ञहरूको धारणा रहेको विज्ञप्तिमा उल्लेख छ । कीरालाई लिएर निकै बढी संशय र चिन्ताभन्दा यो कीराले पु¥याउने हानीनोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानहरूसँग मन्त्री साहले आग्रह गरेका छन् ।