• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्थानीय सरकार प्रमुखहरुको प्रश्नः कहिलेसम्म क्वारेन्टाइनमा राख्ने ?

पिसिआर परीक्षणको दायरा बढाउन माग
स्थानीय सरकार प्रमुखहरुको प्रश्नः कहिलेसम्म क्वारेन्टाइनमा राख्ने ?

राजविराज, १९ जेठ । स्वाब परीक्षण कार्यले गति लिन नसकेका कारण आफुहरुलाई क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको भन्दै सप्तरीका स्थानीय तहहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
राजविराज स्थित जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा आयोजित सुरक्षा संयन्त्र, स्वास्थ्यकर्मी, सञ्चारकर्मी सम्मिलित बैठकमा बोल्दै स्थानीय तहका प्रमुखहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । बैठकमा बोल्दै रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले क्वारेन्टाइनमा राखिएकाहरुलाई १४ दिन मात्र राख्नुपर्ने प्रावधान रहे पनि पिसिआर परीक्षण नै नभएका कारण लामो समयसम्म खानपान लगायतका व्यवस्थापन गर्न समस्या भएको बताए ।
नेपाल सरकारले तोेकेको मापदण्ड भन्दा बढी खर्च क्वारेन्टाइन व्यवस्थापनमा खर्च भईरहेकोले पछि बेरुजु हुने सम्भावना रहेको उनले बताए । स्थानीय तहहरुले भ्याएसम्म गरिरहे पनि व्यापक आलोचना तथा गुनासो खेप्नु परेको बताउँदै रुपनी गाउँपालिका अध्यक्ष यादवले भने ‘क्वारेन्टाइनमा बसेकाहरुले १४ दिन पछि घर जान पाउँ भन्छन् तर कोरोना परीक्षण बिना घर पठाउन मिलेन, उता पिसिआर परीक्षण बिना कसरी ढुक्क हुने ? अविलम्ब पिसिआरको दायरा बनाउन उनले आग्रह गरेका छन् ।
यस्तै भनाई थियो हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश कुमार साहको पनि । पिसिआर परीक्षणमा भईरहेको ढिलाईले गर्दा दिनहुँजसो एका बिहानैदेखि गुनासो खेप्नुपरेको बताउँदै उनले भने ‘राजविराजमा पिसिआर मेसिन आए पनि स्वाब परीक्षण कार्यमा ढिलाई भइरहेकोले अविलम्ब सञ्चालन हुनु जरुरी छ ।’
क्वारेन्टाइनहरुबाट संकलन गरिएको स्वाब रिपोर्ट आउन हप्तौं कुर्नुपर्ने अवस्थाप्रति आक्रोश व्यक्त गर्दै बोदेवर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले अविलम्ब स्वाब परीक्षण गरी निकास दिन आग्रह गरे । अस्पतालमा ल्याईएको परीक्षण कार्य सुचारु गरी जनशक्ति थप गरेर अगाडि बढ्न उनले माग गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले पिसिआर परीक्षण कार्यको दायरा द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए । अस्पतालमा पिसिआर मेसिन आए पनि द्र्रुत गतिमा जाँच गर्नुका साथै अन्य परीक्षण केन्द्रहरुसँग समन्वय गरि स्वाब परीक्षण कार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनले सुझाव दिए ।
यस्तो छ मेसुको भनाई
बैठकमा सहभागी गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालमा पिसिआर मेसिनको डेमो परीक्षण भईसकेको तथा केही सामान्य प्राविधिक समस्या रहेकोले सोमबारै साँझसम्ममा समाधान भई मङ्गलवारदेखि पिसिआर परीक्षण थालिने बताए । पिसिआर मेसिनमा ९६ ओटा क्यासेट लाग्ने गरेकोमा एक पटकमा ९४ ओटा स्वाब परीक्षण गर्न सकिने भए पनि शुरुमै पूर्ण क्षमतामा परीक्षण गर्न नसकिने बताउँदै उनले भने ‘प्राविधिक टोलीलाई दक्ष बनाउन मन्त्रालयबाट दुई जना प्राविधिक आएको छ, विस्तारै स्वाब परीक्षणको दायरा समेत बढाउँदै लगिने छ ।’
स्वास्थ्य प्रमुख भन्छन्
स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दु्नियालाल यादवले जिल्ला स्वास्थ्य कार्यालय मार्फत टोलीहरु परिचालित रहेको जानकारी दिँदै एक दिनमा चार सय जनाको स्वाब संकलन गर्न सकिने बताए । यद्यपी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पताल बिराटनगरले स्वाब परीक्षण गर्न नमानेको जानकारी दिँदै उनले भने ‘सप्तरीबाट पठाईएको ४ सय १८ जनाको स्वाब रिपोर्ट आउन आउन बाँकी छ ।’
प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको विशेष उपस्थितिमा बसेको बैठकमा क्वारेन्टाइन व्यवस्थापन संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले क्वारेन्टाइन निर्देशिका तथा आवश्यक व्यवस्थापनबारे जानकारी गराए । बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्र, सप्तकोशी नगरपालिकाका मेयर उत्तम गौतम, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, राजगढ गाउँपालिकाका प्रमुख परमानन्द यादव, विष्णपुर गाउँपालिकाका प्रमुख लिलाम्बर यादव, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, अग्नीसाइर कृष्णा सवरण गाउँपालिका अध्यक्ष परशुराम चौधरी, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहडखेर लगायतका स्थानीय तहका प्रमुख, सञ्चारकर्मी समेतको उपस्थिति थियो ।