• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा पिसिआर परीक्षणको डेमो परीक्षण सफल

राजविराजमा पिसिआर परीक्षणको डेमो परीक्षण सफल

राजविराज, १८ जेठ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ परीक्षण प्रयोगशाला रियल टाईम पिसिआर मेशिनको डेमो परीक्षण सोमवार सफलतापूर्वक गरिएको छ ।
इन्जिनियरसहित प्राविधिक एवम् सम्वन्धित विषयका जानकारहरुद्वारा जडान कार्य सम्पन्न भएको पिसिआर मेसिनको डेमो सफलतापूर्वक गरिएको हो । मन्त्रालयबाट आएको टोलीले प्रयोगशालामा खटिने टोलीलाई स्वाब संकलन, पिसिआर मेसिनको प्रयोग, अपनाउनुपर्ने सावधान लगायतका विषयमा जानकारी गराएका छन् ।
पिसिआर परीक्षणका क्रममा स्वाब संकलनदेखि रिपोर्ट तयार गर्ने चरणहरुबारे प्रयोगात्मक डेमो परीक्षण गरिएको छ । प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगी समेत गरी १० जना जनशक्ति परिचालित हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । सम्पूर्ण चरणहरु पुरा भई मेसिनको सफल परीक्षण भईसकेकोले सोमवारदेखि स्वाब परीक्षण कार्य थालिने उनले बताए ।
सम्पन्न प्रदेश नम्वर २ को सामाजिक विकास मन्त्रालय जनकपुरले गजेन्द्रनारायण सिंह अस्पतालकालागि पिसिआर मेसिन पठाई आवश्यक व्यवस्थापनको समेत प्रबन्ध मिलाएको छ । अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमै सञ्चालन हुने उक्त मेसिनमा ९६ ओटा क्यासेट लाग्ने अर्थात एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्नसक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको स्याम्पल परीक्षण गर्दै दायरा समेत विस्तारै बढाईदै लगिने अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
राजविराजमा प्रयोगशाला नहुँदा स्वास्थ्य कार्यालय सप्तरी र अस्पतालमा संकलन गरिएका स्वाब धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईदैआएको थियो । त्यहाँबाट स्वाब रिपोर्ट आउन १० दिनसम्म लाग्ने गरेकोले परीक्षण कार्यले गति लिन नसकेकोमा अब राजविराजमै परीक्षण हुने भएपछि कोरोना पहिचान कार्यमा तीब्रता पाउनुकासाथै जिल्लावासीलाई सहज समेत हुने डा. झाले बताए ।तस्विरहरुः श्यामसुन्दर यादव/राजविराज