Top_Header_Right_Add

कोरोनो विरुद्ध संघर्ष गर्ने उत्कृष्ट योद्धा डा. रुना झा

‘अनावश्यक कमेन्ट नगरौं, स्वास्थ्यर्मीहरुको मनोबल बढाऔं’
कोरोनो विरुद्ध संघर्ष गर्ने उत्कृष्ट योद्धा डा. रुना झा

पेशाप्रतिको समर्पण र कर्मठताका कारण कोरोना विरुद्धको संघर्षमा फ्रन्टलाइनमा काम गर्ने विश्वकै उत्कृष्ट पाँच महिलामा परेकी छिन् जनकपुर निवासी डा. रुना झा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशकको जिम्मेवारीमा रहेर उनले अदम्य साहसकासाथ जिम्मेवारी वहन गर्दैआएकी छिन् । पछिल्लो समय उनको संघर्षकथालाई संयुक्त राष्ट्रसंघको युएन वुमेनले उत्कृष्ट पाँचमा समावेश गरेको हो । प्रयोगशालामा ६४ कर्मचारीको कामको व्यवस्थापन, प्रयोगशालाको व्यवस्थापन, कर्मचारीहरुको आवास एवम् खानपीन, रिपोटिङ्ग, प्रेजेन्टेशन लगायतका कामहरु उनले कुशलतापूर्वक गर्दैआएकी छिन् । करिब डेढ महिनादेखि उनी एक दिन पनि विदा नलिई राष्ट्रिय जिम्मेवारी वहन गर्दैआएकी छिन् । प्रस्तुत छ साहसी योद्धाको रुपमा परिचित डा. झासँग ‘न्यूज टुडे’का सम्पादक श्यामसुन्दर यादवले नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाको सहयोगमा गरिएको कुराकानीको सम्पादित अंश ।
१. डा. साब, सञ्चै हुनुहुन्छ ?
अँ, सञ्चै भन्नुपर्यो । कोभिड १९ विरुद्धको संघर्षमा छु ।
२. बधाइ छ यहाँलाई कोरोना भाइरस (कोभिड १९) नियन्त्रणकालागि फ्रन्ट लाइनमा रहेर काम गर्ने विश्वका उत्कृष्ट पाँच महिलाको कथा ‘यूएन वुमेन’ले सार्वजनिक गरेको छ, उक्त सूचीमा तपाई अर्थात डा. रुना झा पर्नुभएको छ । यो खबर सुन्दाखेरी कस्तो महशुस भयो ?
अँ, खुशी लाग्यो । तर रेस्पेक्टेसन थिएन । पाएको जिम्मेवारी राम्रोसँग वहन गर्नुपर्छ भन्ने सोचकासाथ दृढ संकल्पित भएको काम गर्दैआएको छु । यद्यपी कामको मूल्यांकन भएपछि झन उत्साहित भएको छु । केही साता अघि युएन टिमले मेरो अन्तर्वार्ता लिएको थियो । यसलाई मैले सामान्य रुपमा लिएको थिएँ । तर उत्कृष्ट पाँचमा पर्नु भनेको यो मेरो मात्रै सफलता होइन, सँगै काम गर्ने जनस्वास्थ्य प्रयोगशाला हाम्रो टिमको सफलता हो । जो दिनरात कोरोना भाइरस विरुद्धको संघर्षमा गर्दैआएको छ, निसन्देह वहाँहरुलाई नै सफलताको श्रेय जान्छ । टिम बिना त म केही गर्न सक्दिन । हाम्रो बेस्ट टिम मैदानमा छ । त्यसैले हामी सफलतापूर्वक अगाडि बढ्दैछौं ।
३. तपाई अहिले टेकुमा राष्ट्रिय प्रयोगशालाको निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ, यतिबेला त कोरोना भाइरस ठूलो चुनौतीको रुपमा देखिएको छ । टेकु प्रयोगशालामा अहिले कोरोनाको परीक्षण कार्य पनि थपिदै गएको अवस्थामा यहाँको दिनचर्या कसरी बितिरहेको छ ?
जनवरीको अन्तिम सातातिर कोरोना भाइरसको परीक्षण कार्य शुरु ग¥यौं, त्यतिबेला कोरोना भाइरस (कोभिड १९) को थोरै केस थियो । कोरोना भाइरस नै विश्वमै नयाँ भएकोले सिक्ने, खोज अनुसन्धान गर्ने जिम्मेवारी थियो । अहिले त दैनिक रुपमा एक हजारदेखि बाह्र सयसम्मको कोरोना जाँच गर्ने अवस्थामा पुगेका छौं । दिनमा १४–१५ घण्टा काम गर्नुपरेको छ । प्रयोगशालामा तीन सिफ्टमा कार्य विभाजन गरेका छौं । विहान ८ बजेदेखि राती १२–०१ बजेसम्म काम हुन्छ । आवश्यकता प¥यो भने नाइट सिफ्ट समेत थपेर २४औं घण्टा हामी काम गर्न तयार छौं ।
४. डा.साब, स्वास्थ्य क्षेत्रमा काम गर्न महिलाहरुलाई कतिको चुनौती छ ?
चुनौती त पाइला पाइलामा छ । कार्यक्षेत्रमा विहानैदेखि अबेर रातीसम्म काम गर्नुपर्ने हुन्छ । घरपरिवारको जिम्मेवारी पनि हुन्छ । कतिपय अवस्थामा चाहेर पनि घरमा समय दिन नकिने अवस्थाहरु हुन्छ । अहिले नै कोरोना महामारी विरुद्ध हामीले १८ घण्टासम्म काम गर्नुपरेको छ । आफ्नै छोरीको स्याहार गर्न समय नै भ्याएपछि जनकपुर पठाउनु परेको छ । आफ्नो बच्चाको हेरचाह, स्कूल पुर्याउनु लगायतका कार्यहरु गर्न समय नै मिल्दैन । कतिपय इच्छा आकांक्षाहरुलाई मनभित्रै राखेर राष्ट्रहितमा काम गर्नुपर्ने हुन्छ । हामी काम गर्ने महाशाखामा दुई जना मात्र महिला छौं । कहिलेकाही मिटिङ्गमा एक्लो महिला हुन्छु । यद्यपी मैले पाएको जिम्मेवारी कसरी अझ राम्रोसँग गर्नसक्छु, यसैमा केन्द्रित रहन्छु ।
५. यहाँसम्मको यात्रा तय गर्दा संघर्ष कतिको गर्नुप¥यो ?
संघर्ष त स्वाभाविक रुपमा गर्नुपर्छ नै । मधेशका महिलाहरुलाई त जन्मिएदेखि नै संघर्षै संघर्ष गर्नुपर्छ । तथापी मैले आमाबुवाका साथै घरपरिवारबाट मैलै शुरुदेखि नै सहयोग र प्रोत्साहन पाउँदैआएको छु । वहाँहरुको प्रयासबाट म लगायत अन्य चार बहीनीहरुको पढाई–लेखाई अगाडि बढ्न सहज भयो । अगाडि बढ्ने जो कोहीलाई जिवनमा समस्या आउँछ, ती समस्यासँग सामना गर्दै अगाडि बढ्नुपर्छ ।
६. कोरोना परीक्षण गर्ने मुख्य स्थान अर्थात अति उच्च जोखिममा रहेर तपाईले कामलाई निरन्तरता दिनुभएको छ, घर–परिवारमा कतिको समय दिन भ्याउनुभएको छ ?
अहिले परिवारबाट त अलग्गै बसेको छु । धेरै समय ल्याबमै बित्ने गरेकोले परिवारिक माहौलमा समय बिताउने कुरै आउँदैन । सँगै बस्ने रेखदेख गर्ने अवस्था छैन । एक छोरी छिन् । उनी सवा महिनादेखि जनकपुरमै छिन् । लकडाउनका बेला घरपरिवारमै बस्ने इच्छा कसलाई हुँदैन र ! तर राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्नु पहिलो प्राथमिकतामा राखेको छु ।
अहिले क्वारेन्टाइनमै बस्नुपर्ने अवस्था छैन । भरपूर सुरक्षा अपनाएर म लगायत मेरा सहकर्मीहरु काम गर्दै हुनुहुन्छ ।
७. डा. साब, खासगरी मिथिला–मधेशका छोरीहरुलाई स्वास्थ्य क्षेत्रमा सफलता प्राप्त गर्न कतिको संघर्ष गर्नुपर्छ ?
संघर्ष त गर्नु नै पर्छ । तर बाहीरको भन्दा घरभित्रै छोरीहरुलाई संघर्ष गर्नुपर्दछ । पहिला त परिवार र समाजिक घेराबाट बाहिर निस्किनुपर्छ । अनि मात्र अरुलाई कमेन्ट गर्ने ठाउँ हुन्छ । अहिले पनि छोरा र छोरीमा घरमै भेदभाव हुन्छ । हामी पाँच दिदी बहिनीलाई पढाउन आमाबुवालाई ठूलो संघर्ष गर्नुपरेको छ, छोरी शिक्षाको महत्व बुझाउन । बुवा भन्नुहुन्थ्यो ‘छोरा नपढे पनि हुन्छ, मजदूरी गरेर जिवन चलाउन सक्छन् तर छोरीलाई त रेस्पेक्टेड जोब चाहिन्छ, त्यसैले छोरीलाई पढाउनुपर्छ ।’ आज पनि समाजमा यस्तो खुल्ला सोच राख्ने अभिभावकको कमी छ ।
गाउँमा जन्मे, गाउँकै स्कूलबाट प्राथमिक शिक्षा हासिले गरे । त्यतिबेला २५ जना विद्यार्थीमा म एक्ली छोरी थिएँ । कही जाँदाखेरी समाजले संकुचित दृष्टिले हेर्ने गथ्र्यो । पढेर के हुन्छ ? किन पढाउनुप¥यो छोरीलाई ? पढेर कुन ठुलो हाकिम बन्छ ? भनेर छरछिमेकले आलोचना गरेर मनोबल गिराउने काम हुन्थ्यो । तर मेरा बा–आमाले त्यस्ता आलोचना गर्नेहरुलाई शिक्षाको महत्व बुझाउँदै हामीलाई प्रोत्साहन गरिरहनुभयो । बाधा–व्यवधानहरुलाई चिर्दै अगाडि बढ्दै गएँ र आज यहाँसम्म पुगेकी छु । फाइटर भएर अगाडि बढ्ने क्रममा बढ्दै गएँ, कतिले साथ दिए त कति आफै पछाडि छुटे । त्यसैले अरुलाई दोष दिनुभन्दा छोरीहरुले लक्ष्यप्राप्तिकालागि अगाडि बढ्दै जानुपर्छ ।
८. डा. साब, तपाई त यसरी संघर्ष गरेर अगाडि बढ्नु भो र सफलता पनि पाउनु भो, तर मिथिला–मधेशका छोरीहरुलाई अझैं पाईला–पाईलामा चुनौती छ नि ?
हो, साँच्चिकै चुनौती छ । मधेशकी छोरीहरुलाई अन्य महिलाहरुको दाँजोमा अत्यधिक संघर्ष गर्नुपरेको छ । छोरीहरुलाई शिक्षादिक्षा तथा स्वतन्त्रता आवश्यक छ । विभिन्न विकृति विसङ्गती एवम् कुसंस्कारले हाम्रो समाजमा जरो गाडेको छ । त्यसैले सामाजिक क्रान्ति आवश्यक छ । छोरीहरुलाई अगाडि बढ्नकालागि सही प्लेटफार्म चाहिन्छ । यद्यपी अहिले हाम्रो समाजका महिलाहरु अगाडि बढिरहेका छन् । ‘फलानो यस्तो भन्छ, उसले उसको कुरा काट्छ’ यी यावत आलोचनाहरुको पछाडि लाग्न छाडेर छोरीहरुले लक्ष्य प्राप्तितर्फ अगाडि बढ्नुपर्छ । एकदिन सफलता सुनिश्चित छ ।
९. नेपालमा अहिले कोरोना भाइरस नियन्त्रणको अवस्था कस्तो छ ?
हामी अहिले सम्वेदनशिल अवस्थामा छौं । कोरोना भाइरस सम्वन्धी आधिकारिक ब्रिफिङ्ग दैनिक रुपमा स्वास्थ्य मन्त्रालय मार्फत भईरहेको छ । अनाधिकृत आएका कुराहरुमा विश्वास नगरौं र कोरोना भाइरस सम्वन्धी सूचनाहरु लिनुपर्दा आधिकारिकतामा ध्यान दिनु आवश्यक छ ।
१०. कोरोना भाइरसको पहिचान गर्नकालागि देशैभरि आरडिटी गर्ने गरिएको छ तर आरडिटी रिपोर्टमाथि नै प्रश्नचिन्ह उठिरहेको छ नि ? के हो वास्तविकता ?
आरडिटी टेस्टको विषयमा बाहिर कसले के भन्दैछ, त्यसको पछि नलागौं । प्रयोगशालाको विषयमा सबैलाई जानकारी हुँदैन । त्यसैले टेक्निकल विषयमा त्यसको पछि लाग्नु पनि मेरो बिचारमा ठिक हुँदैन ।
११. डा. साब, सरल भाषामा भन्नुपर्दाखेरी आरडिटी र पिसिआर टेष्ट भनेको के हो ?
आरडिटी अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट । यो कोभिड–१९ आरडिटी किटको प्रयोग गरिन्छ । मानव शरीरमा कोरोना भाइरस विरुद्ध लड्ने एन्टीबडी बने–नबनेको जाँच्ने काम मात्र गर्छ । जब मानिसको शरीरभित्र कोभिड–१९ को भाइरस प्रवेश गर्छ, तब भाइरस मार्न शरीरमा रोग प्रतिरोधी क्षमता सक्रिय हुन थाल्छ । शरीरले भाइरस मार्न एक प्रकारको प्रोटिन विकास गर्न थाल्छ, जुन प्रोटिनलाई नै एन्टीबडी भनिन्छ ।
सरल रुपमा बुझ्नु पर्दा जसरी गर्भवती महिलाको प्रिग्नेन्सी टेष्ट गर्नकालागि किटको प्रयोग गरिन्छ । यो पनि एक प्रकारको आरडिटी नै हो । कहिलेकाही यो किटले सही जवाफ दिनसक्छ र कहिलेकाही एरर पनि आउनसक्छ । औंलाबाट रगतको लिएर आरडिटी परीक्षण गरिन्छ । जसरी प्रिग्नेन्सी टेष्ट कहिलेकाही क्लियर नआएपछि यसको पनि अर्को टेष्ट हुन्छ । कोरोनाको विषयमा पत्ता लगाउन आरडिटीको सहयोग लिईन्छ । यो किटबाट घरमै पनि जाँच गर्न सकिन्छ तर रगत निकाल्नुपर्ने भएकोले स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । त्यसैले कमेन्ट गर्ने कुनै ठूलो विषय नै होइन । ‘आरडिटी खराब छ, पिसिआर खराब छ’ भनेर यसलाई बन्द गरियो भने डाइग्नोसिस कसरी गर्ने ? आरडिटी र पिसिआर ६०–७० प्रतिशत परिणाम मात्र सही हुन्छ भनी अनावश्यक कमेन्ट नगरौं । विपदको बेलामा जे श्रोत साधन उपलब्ध त्यसलाई प्रयोग गर्दै अगाडि बढ्नुपर्छ । एकअर्कालाई प्रोत्साहन गर्दै हामी सबै सकारात्मक सोचका साथ अगाडि बढ्नु आवश्यक छ ।
पिसिआर अर्थात पोलीमरीज चेन रियाक्सन । यो प्रविधीमा भाइरसको जिनको परीक्षण हुन्छ । स्वाबको नमूना निकालेर गरिने परीक्षणलाई पिसिआर टेष्ट भनिन्छ । यो नाक र घाँटीको भित्री भागबाट लिईन्छ । प्रयोगशालामा स्वाब परीक्षण गरेर कोरोना भाइरस भए नभएको परीक्षण गरिन्छ ।
१२. अन्त्यमा, ‘न्यूज टुडे’ मार्फत के भन्न चाहनु हुन्छ ?
कोरोना विरुद्धको लडाई हामी सबै मिलेर लड्नुपर्छ । नेगेटिभ कमेन्ट गरिरह्यो भने काम गर्ने व्यक्तिहरुको मनोबल घट्छ । त्यसैले हामी जो जहाँ छौं, त्यहीबाट स्वास्थ्यर्मीहरुको मनोबल बढाऔं । मिडियाहरुले समेत नकारात्मक विषय मात्र नभई सकारात्मक विषयहरुलाई उठाउन आग्रह गर्न चाहन्छु ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer