• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा मन्त्रालयको टोलीद्वारा थ्रोट स्वाब संकलन गरिएका सवैको रिपोर्ट नेगेटिभ

सप्तरीमा मन्त्रालयको टोलीद्वारा थ्रोट स्वाब संकलन गरिएका सवैको रिपोर्ट नेगेटिभ

राजविराज, २२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएका विज्ञसहितको प्राविधिक स्वास्थ्यकर्मीहरुको टोलीले सप्तरीमा थ्रोट स्वाब संकलन गरेका सवै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
टोलीले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा कोरोना संक्रमित भेटिएका जमातीहरुको ‘ट्राभल हिस्ट्री’जोडिएका सप्तरीको विभिन्न स्थानमा बसोवास गर्ने व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणकोलागि पठाएको थियो । सोमवारसम्म ३ सय १८ जनाकै पिसिआर रिपोर्ट आइसकेको छ भने सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जमातीहरुको ‘ट्राभल हिस्ट्री’अनुसार गत फागुन ३, ४ र ५ गते वोदेबर्साइन नगरपालिका–५ जाँजरमा आयोजित इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा) मा सहभागी हुन आएका उनीहरु फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाई मस्जिद पुगेका थिए । त्यहाँ ५ दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेका थिए ।
त्यसअघि भने फागुन २२, २३ र २४ गते सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुर, वडा नम्बर ४ वलार्दह र वडा नम्बर २ सिद्धिपुर तथा कञ्चनरुप नगरपालिकास्थित बरमझिया मस्जिदमा करिब एक साता वसेर उदयपुरतर्फ लागेको जमातीहरुको ‘ट्राभल हिस्ट्री’रहेको छ । ती स्थानमा बसोवास गर्ने तथा जमातीहरुसँग जोडिएका व्यक्तिहरुमाथि आशंका गरी कोरोना परीक्षणकोलागि थ्रोट स्वाब संकलन गरिएको थियो ।
यता, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले पनि कोरोनाको आशंका गरी ५३ जनाको थ्रोट स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षणकोलागि पठाएको छ । जसमा सोमवारसम्म ५० जनाको रिपोर्ट पनि आइसकेको छ । ५० जनाकै पिसीआर रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ ।