• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

विश्व रेकर्ड कायम गर्न सफल उही पुरानो सिरियल रामायण

विश्व रेकर्ड कायम गर्न सफल उही पुरानो सिरियल रामायण

श्यामसुन्दर यादव ‘पथिक’
सन्दर्भ उही तीन दशक अघि निर्माण भएको रामानन्द सागरको । करिब दुई दशक अघि नेपाल टेलिभिजनबाट रामायण, महाभारत, कृष्णा, विष्णुपुराण चन्द्रकान्ता लगायतका हिन्दी धारावाहिक टेलिश्रृङ्खला प्रशारण हुने गर्दथ्यो । गाउँमा एक–आध सम्पन्न व्यक्तिकहाँ मात्र सादा टिभी हुने गर्दथ्यो । ती टेलिश्रृङ्खला हेर्नकालागि टोलभरिका व्यक्तिहरु एकै ठाउँमा आधा–एक घण्टा अगाडि नै भेला भएर प्रतिरक्षारत हुने गर्दथे । धारावाहिक श्रृङ्खला चलिरहँदा कोही पनि चुइँसम्म बोल्दैनथे ।
गाउँमा त्यतिबेला लाइन हुदैनथ्यो । राजविराज लगायत स्थानीय बजारहरुबाट चार्ज गरेर ल्याईन्थ्यो । ब्याट्री जोगाउने उद्देश्यले सिरियल शुरु हुन केही समय अगाडि मात्र टिभी अन गरिन्थ्यो । डिस वा केबल तारहरु पनि विस्तार भईसकेको थिएन । क्लियर तस्विर देखियोस् भन्ने उद्देश्यले ठूलो बाँसमा एन्टेना झुण्ड्याईएको हुन्थ्यो । बाँसलाई घुमाई–घुमाई नेपाल टेलिभिजन लगाईन्थ्यो । त्यतिबेला अलि–अलि झिरझिरे जस्तो देखिने गरी भारतको राष्ट्रिय च्यानल दुरदर्शन हाम्रोतिर आउँथ्यो ।
हाम्रोतिर नेपाल टेलिभिजन अत्यन्तै लोकप्रिय थियो । मनोरञ्जन मात्र नभई सामाजिक चेतना, नैतिकता, कर्तव्यपरायणता, आदर्श एवम् इतिहासको दस्तावेजको विषयमा ती सिरियलहरुबाटै जानकारी हुन्थ्यो । झन् शनिवारको दिन मनोरञ्जनकालागि हिन्दी फिल्म देखाईन्थ्यो । कोठामा रहेको टिभी बाहिर निकालेर दलान, गुहाली वा अलि अध्यारो हुने स्थानमा राखिन्थ्यो । समय परिवर्तन भएसँगै नेपाल टेलिभिजन समेत फड्को मार्दै गयो । हुँदाहुँदै अहिले हरेक दृष्टिकोणले एनटिभी आफुलाई अग्रपंक्तिमा उभ्याउन सफल भएको छ । यद्यपी तराई–मधेश–मिथिला क्षेत्रका मात्र नभई देशैभरिका नेपाली जनतामाझ लोकप्रिय रहेका हिन्दी धारावाहिक सिरियल हराउँदै गयो ।
देशमा अन्य टेलिभिजनहरु समेत बग्रेल्ती खुल्दै गयो । त्यससँगै घरघरमै केबल नेटवर्क, सेटअप बक्स ईत्यादीको विस्तारसँगै हिन्दी च्यानलतर्फ दर्शकहरु समेत तानिदै गयो । नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको तितो सत्य, मेरी बास्सै, हिजोआजका कुरा, अबिरल बग्दछ ईन्द्रावती लगायतका सिरियलहरु केही हदसम्म दर्शकहरुलाई लामो समयसम्म आकर्षित गरिरह्यो । वर्तमान अवस्थामा आम नेपाली दर्शकहरु समेत भारतीय च्यानलहरुबाट प्रशारण भईरहेको हिन्दी सिरियलतर्फ झुकाव बढ्दैगएको छ ।
वर्तमान लकडाउनको हामी सबै घरमा थुनिनुपरेको अवस्था छ । समय विताउन कठिन भएको छ यतिबेला । यद्यपी दर्शकहरु ईच्छा अनुसार छानीछानी कार्यक्रम हेर्न गरेका छन् । लकडाउनको अवस्थामा भारतको राष्ट्रिय टेलिभिजन दूरदर्शनबाट रामानन्द सागरको रामायण हेर्दाखेरी त्यतिबेलाको नेपाल टेलिभिजनको झल्को दिएको छ । दोस्रो पटक प्रशारण भईरहेको रामायणले संसारभरमा हालसम्मकै दर्शकको रेकर्ड तोड्न सफल भएको छ । सन् असी–नब्बको दशकमा रामानन्द सागरको ’रामायण’ नेपाल र भारतमा अत्यधिक लोकप्रिय भएको थियो ।
रामायण १६ अप्रिलमा ७ करोड ७० लाख दर्शक संख्याका साथ संसारमै सबैभन्दा बढी हेरिएको जनाईएको छ । रामायणको पहिलो एपिसोडमा नै १ करोड ७० लाख मानिसले हेरेका थिए । करिब तीन दशक अघि निर्माण भएको रामायण आज पनि उत्तिक्कै लोकप्रिय भएका छन् ।
रामायण यति लोकप्रिय भयो कि रामको अभिनय गरेका अरुण गोविल र दिपिका चिखलिया अर्थात सीता पात्रलाई दर्शकहरुले भगवानको हेर्न थालेका थिए । उक्त सिरियलमा राम, सीता र लक्ष्मणको भूमिका निभाएका पात्रहरुको तस्विर समेत घर तथा पूजाकोठामा झुण्ड्याउन थालिएको थियो । अहिले पनि त्यही तस्विरलाई कतिपयले पूजा गर्ने गरेका छन् । रावणको भूमिकामा रहेका अरविन्द त्रिवेदी समेत उत्कृष्ट भूमिका कारण चर्चित मानिन्छन् ।
सिरियलका कतिपय कलाकारहरुको मत्यु समेत भईसकेको छ । हनुमानको भूमिकामा रहेका दारा सिंह, विभिषण पात्रका मुकेश रावल, मन्थरा पात्र ललिता पवार, इन्द्रजित पात्र विजय अरोडा, कौशल्या पात्र जयश्री गड़कर, कुम्भकर्ण पात्र नलिन दुवे, रानी सुनयना पात्र उर्मिला भट्ट, राजा जनक पात्र मूलराज राजदा लगायतका पात्रहरुको निधन भईसकेको छ । उक्त सिरियल दूरदर्शनबाट पुनः प्रशारण हुन थालेपछि पछिल्लो समय अरुण गोविल र सीताको भूमिका निभाएकी दिपिका चिखलिया अत्यधिक चर्चामा आएका छन् । रामानन्द सागरको रामायणले एकपटक फेरी पुरानो याद ताजा बनाउन सफल भएको छ ।